Subscribe Us

देशभरका ठेकदार चितवनमा

चितवन । भूकम्प र नाकाबन्दीपछि निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु चितवनमा भेला भएका हुन् । 
 
बुधवार देखि चितवनको रत्ननगरमा दुईदिने केन्द्रीय साधारणसभा हुन लागेकाले व्यवसायीहरु मङ्गलबार नै आइपुगेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए ।

सोमबार आएको हावाहुरीले टेन्ट पूरै उडाएको भएपनि पुनर्निर्माण गरिएको उनले बताए । बिहीवार देखी दुई दिन चल्ने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।

महासङ्घको १८औँ साधारणसभासँगै सोही अवसरमा रजत जयन्ती शुभारम्भसहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले बताए । अहिले रत्ननगरका विभिन्न क्षेत्र व्यवसायीले सिङ्गारेका छन् । साधारणसभा चितवन घोषणापत्र जारी गर्दै १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी सङ्घ चितवनका द्वितीय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए ।

गत वैशाख १२ र २९ गते गएको भूकम्पबाट परेको असर, नाकाबन्दीले पारेको प्रभाव तथा पुनर्निर्माण कार्यमा निर्माण व्यवसायीको भूमिकाका विषयमा साधारणसभा केन्द्रित हुने कँडेलले जानकारी दिनुभयो । महासङ्घ स्थापना भएको २५औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा वर्षभरि गरिने कार्यक्रमको समेत शुभारम्भ गरिने जनाइएको छ । कार्यक्रममा मुलुकको निर्माण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न २७ विधामा सम्मान तथा एकजनालाई महासङ्घ गौरव सम्मान पुरस्कार प्रदान गरिनेछ ।

साधारणसभामा देशभरिबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार २०० भन्दा बढी सहभागी हुने जनाइएको छ । देशभरि १२ हजार ५०० भन्दा बढी निर्माण व्यवसायी महासङ्घमा आबद्ध रहेका छन् । साधारणसभा सफल पार्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Post a Comment

0 Comments