Subscribe Us

रोकिएन ठगी, अफ्रिका पठाउने भन्दै दर्जनौंको विचल्ली

काठमाडौं । मानवतस्करी र संगठित रुपमा ठगी गरेको आरोपमा महानगरिय अपराध महाशाखाले मेनपावर कम्पनीहरुविरुद्ध कारबाही थालेपनि अधिकांश कम्पनीहरुको ठगी धन्दा रोकिएको छैन । अझ ठग्न पाउनु पर्ने माग राख्दै मेनपावर नै ठप्प पारेर बसेका छन् उनीहरु । अपराध महाशाखामा दिनहुँजसो विदेश जाने नाममा ठगिएको उजुरी गर्नेको संख्या बढ्दो छ । 

साउथ अफ्रिका पठाउने भन्दै धापासीमा रहेको इनोभेटिभ सर्भिस प्रालिले दर्जनौ युवा युवतीबाट लाखौं असुली अफ्रिकामा पु-याएर अलपत्र बनाएको विषयमा महाशाखाले छानविन थालेको छ । इनोभेटिभका मार्केटिङ मेनेजर खुमबहादुर केसीले विकास थापा, प्रतिक्षा गुरुङ, अमर थकाली र पार्वती थकालीलाई ‘वर्क परमिट’ मिलाइदिने भन्दै १२ लाखका दरले रकम असुलेर भिजिट भिसामा अफ्रिका पु-याई अलपत्र पारेका थिए । यि मध्ये दुई जनाले नेपालमा आएर ठगिएको भन्दै महाशाखामा उजुरी हालेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

 
   पार्वती र अमर अफ्रिकामा रहेपनि उनीहरुसँग भिसा नहुँदा समस्यामा परेका छन् । त्यस्तै प्रतिक्षा पनि भिसा विनाको पासपोर्टका कारण समस्यामा छिन् । तर, महाशाखाले ठग्ने मेनपावरहरुविरुद्ध कारबाही शुरु गर्दा इनोभेटिभका खुमबहादुरको ठगी धन्दा भने रोकिएको छैन । उनी अझै पनि अफ्रिका पठाइदिन्छु भन्दै नक्कली कागजात देखाएर दर्जनौ व्यक्तिबाट लाखौ उठाइरहेका छन् । तर, महाशाखाको ध्यान त्यता नपुग्दा यस्ता ठगहरुको धन्दा भने मौलाइरहेको छ । यसअघि महाशाखाले उपत्यकाका १७ ठूला मेनपावरहरुमा छापा हानी १२ सञ्चालकहरुलाई पक्राउ गरि कारबाही गरेको थियो ।

  कल्पना राउतको भेरी कर्णाली इन्टरनेशन, अनुराज प्रधानको शिखर इन्टरनेशनल, युवराज राईको इनोभेटिभ ह्युमन रिसोर्स, रघुनाथ पुरीको रिभर ओभरसिज, नवराज चौलागाईको काबेली हयुमन रिर्सार्स, अनिल राईको मोभिरा इन्टरनेशनल, बिनोद श्रेष्ठको गोर्खा नेपाल प्रालि लगायतका मेनपावरमा प्रहरीले छापा हानेको थियो । त्यस्तै लाइफ लाइएन ओभरसिज प्रालि, नेपाल रिक्युटिङ प्रालि, सान्ना इन्टरनेशनल, अल सेक्युअर ओभरसिज, एबी इम्प्लयोमेन्ट सर्भि, सान इन्टरनेशनल, एसआरएस, आभेरि ओभरसिज, डीबी ओभरसिज, क्यापिटल ओभरसिज र नेल्को इन्टरनेशनलमा छापा हानेको थियो ।

  ती मेनपावरका संचालकहरुलाई समेत पक्राउ गरी बैदेशिक रोजगार विभागसँग समन्वय गरी कारबाही गरेको थियो । ठगी धन्दाका मास्टर माइन्ड रिभर ओभरसिजका पुरी भने सरकारी वकील कार्यालयमा सेटिङ मिलाएर छुटिसकेका छन् । मानवतस्करी र ठगीको उजुरी आएका मेनपावरहरुमा मात्र प्रहरीले छापा हानेको थियो ।

  तर, मेनपावर व्यवसायीहरुले भने प्रहरीले मेनपावरमाथि अनाबश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलन गरिरहेका छन् । बिरामी भएर आफुहरु मर्न लागेको तर कम्पनीले वास्ता नगरेको जस्ता उजुरी परेपछि प्रहरीले मानवीय हिसाबले पनि ठगहरुमाथि अनुसन्धान अघि बढाएको थियो । मेनपावर कम्पनीहरुमाथि छानबिन र कारबाही गर्ने निकाय बैदेशिक रोजगार विभाग भएपनि विभागको कारबाही प्रभावकारी नभएको र प्रहरीमा ठगीका उजुरी बढेपछि प्रहरी सक्रिय भएको हो ।

Post a Comment

0 Comments