Subscribe Us

हतियार ल्याउन चिनियाँसँगको व्यापक छलफलमा विप्लव माओवादी

काठमाडौं । १ फागुनमा सुदूरपश्चिमबाट सशस्त्र युद्धको तयारी थालेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले पर्याप्त हतियारको जोहो नहुँदा बन्दुक नउठाएको खुलेको छ ।

विप्लव माओवादीनिकट उच्च स्रोतका अनुसार हतियारको आवश्यक व्यवस्थापन नहुँदा १ फागुनमै बन्दुक उठाउने तयारी थालेका विप्लवको योजना असफल भएको हो ।


‘बुढापाकाले क्रान्ति गर्न सक्दैनन्’ भन्दै मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट ०७१ मंसिरमा अलग्गिएका विप्लवले १० वर्षे जनयुद्धभन्दा फरक ढंगबाट क्रान्ति गर्ने बताउँदै आएका छन् ।

एकीकृत जनक्रान्तिलाई कार्यदिशा बनाएका विप्लव झन्डै एक वर्षदेखि सशस्त्र युद्धको तयारीमा छन् । यसअघि अर्धभूमिगत शैलीमा छापामार शैलीमा जनकारबाही थाली चर्चासमेत बटुलेका विप्लव माओवादीका अधिकांश केन्द्रीय नेता सम्पर्कबाहिर छन् । सुदूरपश्चिमका जिल्लामा सेना तयार पार्न व्यस्त विप्लवले १ फागुनअघि नै १० हजार सेना तयार पारे पनि आवश्यक हतियार नपुग्दा बन्दुक उठाउन असफल भएको स्रोतले बतायो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न अझै सशस्त्र संघर्षको आवश्यकता रहेको निष्कर्ष निकाल्दै युद्धको तयारीमा जुटेका विप्लवले हतियारको आवश्यक प्रबन्ध गरी छिट्टै सशस्त्र संघर्ष थाल्ने योजना बनाइरहेको छ ।
१० वर्षे सशस्त्र हिंसात्मक युद्धकै स्वरूपमा विप्लवले हाल सुदूरपश्चिम र पश्चिम नेपालका साथै देशका अधिकांश जिल्लामा संरचनालाई ब्युँताउँदै आएको छ ।

‘युद्धको सुरुआत सुदूरपश्चिम र पश्चिम नेपालका जिल्लाबाटै गर्ने भएकाले उक्त क्षेत्रका पूर्णकालीन कार्यकर्ताको भूगोल परिवर्तन गराइसकेको अवस्था छ,’ स्रोतले भन्यो ।

पार्टीलाई भूमिगत शैलीमा रूपान्तरणका लागि अर्धभूमिगत रूपमा जनकारबाहीका लागि केही महिनाअघि राजधानी छाडेका केन्द्रीय नेतासमेत प्रशिक्षण, संगठन निर्माण र युद्ध तयारीमा व्यस्त छन् । विप्लव आफैँ पनि कार्यकर्तामाझ युद्धको तयारी र भावी योजनाबारे छलफलमा व्यस्त रहेको बुझिएको छ ।

१ फागुन (जनयुद्ध दिवस) को अवसर पारी बन्दुक उठाउने तयारीमा लागेका विप्लव माओवादीको हतियार व्यवस्थापनसम्बन्धी योजना असफल भएपछि उसले आन्तरिक तयारी थालेको मितिमा हतियार उठाउन सकेन । सशस्त्र युद्धका लागि एक चिनियाँ व्यापारीसँग सम्झौतासमेत गरिसकेका विप्लवका योजना चिनियाँ कम्युुनिस्ट पार्टीसम्म पुगेपछि योजना सार्वजनिक भएको थियो ।

विप्लवले तोकिएकै मितिमा हतियार उठाउन नसकेपछि व्यापक आलोचना बढेसँगै उसले सुरक्षा समितिलाई समेत चाँडै हतियार उठाउनेबारे जानकारी दिइएको खबर प्राप्त भएको छ । हतियार खरिद प्रक्रिया असफल भएसँगै विप्लवले हतियार व्यवस्थापनका लागि नयाँ योजना बनाएको छ ।

स्रोतका अनुसार चीनबाट हतियार ल्याउने उसको पहिलो प्रयास असफल भएपछि विप्लवले आफ्नै हेडक्वार्टरमा रहेको एक पिएलएलाई यसको जिम्मा दिएका छन् ।

विप्लवको हेडक्वार्टरमा रहेका सुदीप मल्ललाई हतियार खरिदका लागि जिम्मा दिइएको र उनी त्यसकै लागि फेरि सक्रिय भएको स्रोतको दाबी छ ।

उदय चलाउने हतियार खरिदमा असफल भएपछि विप्लवले मल्ललाई जिम्मा दिएर पठाएको जनाएको छ । विप्लवको हेडक्वार्टरको जिम्मा लिएका उनले अहिले चीनका सञ्जालसँग कुरा गरिरहेका छन् । हतियारकै अभावमा विप्लवको सशस्त्र संघर्ष गर्ने तालिका नै सरेको छ ।

कार्यकर्ताले समेत विप्लवसँग किन कारबाही गर्न ढिला गरेको भन्दै प्रश्न गर्न थालेका छन् । विप्लवले भने हतियारले गर्दा कारबाही ढिला भएको र छिट्टै आक्रमण थालिने भन्दै उनले तालिम लिएकालाई थामथुम पार्ने गरेका छन् ।

विप्लव माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सशस्त्र युद्ध थाल्ने आफ्नो पार्टीको घोषित कार्यक्रम भएको बताउँदै सोहीअनुसार तयारी हुनु स्वाभाविक रहेको बताए ।

हतियार व्यवस्थापन र युद्ध कहिले हुन्छ भन्ने विषयमा भने उनले केही बोल्नै चाहेनन् ।

Post a Comment

0 Comments