Subscribe Us

२७ लाख अमेरिकी डलर बराबरको लागूऔषध मेथाफेटामाईन अष्ट्रेलिया पठाउने गिरोह पक्राउ

काठमाडौं, १५ चैत । चीनको गोन्जाउबाट समुद्री मार्ग हुँदै अष्ट्रेलियाको ब्रिसवेनमा घर सजावटका सामान भनी पठाएको सामान लिन पुगेका अष्ट्रेलियन नागरिक रेमोण्ड जोहन मार्सडेन र नेपाली नागरिक भुपेन्द्र तामाङ ५४ के.जी. मेथाफेटामाईनसहित अष्ट्रेलियामा पक्राउ परेका थिए । 

उनीहरुलाई पक्राउगरि  अनुसन्धानको क्रममा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले चैत ७ गते थप ३ जनालाई पक्राउ गरेको थियो ।  पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ निलोपुलस्थित श्रेष्ठ फेन्सी स्टोरका संचालक  सिन्धुपाल्चोक वतासे गाविस–४ का मनिष श्रेष्ठ, ठमेलस्थित हिमालयन ट्रेकका संचालक धादिङ त्रिपुरेश्वर गाविस–३ खहरेका बिक्रम लामिछाने र नुवाकोट दाङसिङ गाविस–५ घर हुने होमबहादुर तामाङ रहेका छन् । श्रेष्ठ र लामिछानेले चीनबाट हामीलाई सामान पठाई सामान बुझ्न भनेको भनी मार्सडेन र भूपेन्द्रले खुलाएको भन्दै अष्टे«लियन फेडरल पुलिसले व्यूरोमा पत्राचार गरेपछि श्रेष्ठ र लामिछानेलाई ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुलाई सोधपुछ गर्दा श्रेष्ठसँग लामिछानेले अष्ट्रेलियाको सामान रिसिभ गर्नेको ठेगाना उपलव्ध गराउन भनेपछि मार्सडेनको ठेगाना उपलव्ध गराएपश्चात लामिछानेले सोधपुछका क्रममा खुलाएका होमबहादुरलाई समेत पक्राउ गरेको थियो । सोधपुछको क्रममा होमबहादुरले मार्सडेनको ठेगाना बैंककमा बस्ने धर्म पाख्रीनलाई उपलव्ध गराएपछि पाख्रीनले चिनीयाँ नागरिक फ्राङकको इमेल ठेगाना उपलव्ध गराएको र लामिछानेले उक्त ईमेल मार्फत सम्पूर्ण विवरण मार्डेन र फ्राङकसँग आदान प्रदान गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

होमबहादुरले श्रेष्ठ, लामिछाने र मार्सडेनलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ दिने कुरा अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका ३ जनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । सो लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य २७ लाख अमेरिकी डलर रहेको प्रहरीले बताएको छ । 

Post a Comment

0 Comments