Subscribe Us

एसएसपीको नजरमा एउटा गोली ठूलो कि चुरोटको खिल्ली ?
धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन दुव्र्यसनीमा फस्ने पहिलो कारण होः एसएसपी थापा

काठमाडौं । संगठित कालोबजारी विरुद्ध कारबाही गरी चर्चा कमाएका महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले शान्ति सुरक्षा मात्र नभई जनहितको पक्षमा काम गर्ने अभियान थालेका छन् । 
एसएसपी थापाले सूर्य नेपाल प्रालिद्धारा उत्पादित सुर्य तथा शिखर चुरोटको खोल कानुन भन्दा बाहिर गएर नाइएको र चेतनामुलक स्टिकर नटासेको भन्दै मुख्य डिलरमा छापा मारेर सिलबन्दी गरेपछि हंगामा मच्चिएको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन दुव्र्यसनीमा फस्ने पहिलो कारण हो ।
 
  एसएसपी थापा भन्छन्–‘चुरोट खाने केहीले गाँजा तथा भाङ खान थालेको र गाँजा र भाङ खानेले विस्तारै ब्राउन सुगर जस्ता लागु औषध प्रयोग गर्दै आएको पनि देखियो, एकातिर सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य बस्तु सेवन गर्न पाईंदैन भने अर्कोतिर कानुन बाहिर गएर चुरोटका खोल बजारमा भित्रदा क्यान्सरका विरामी बढ्न थालेका छन् ।’यसरी सार्वजनिक स्थलमा गाँजा तथा लागु औषध सेवन गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ । प्रहरीले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गरेको भेटिएमा जरिवानाको रसिद पनि काट्न थालेको छ । एसएसपी थापा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अच्युत लामिछाने सहितको टोलीले चुरोट तथा सुर्तीजन्य पादार्थको बट्टा तथा प्याकेटमा तोकिए बमोजिम चित्र सहितका सन्देश नछापेका ५० लाख बराबरको सुर्तीजन्य पदार्थलाई सिल गरिसकेको छ ।

 त्यस क्रममा हनुमानथानस्थित सुर्य नेपालको आधिकारीक सप्लायर्स एबीसी मार्केटिङमा छापा मारी नियम विपरित उत्पादित चुरोट बरामद गरिएको छ । ‘कानुन उल्लंघन गर्ने जो कोही कारबाहीको दायरामा पर्छन् र अब अनुगमनलाई पनि प्रहरीले तिब्रता दिइसकेको छ ।’– एसएसपी थापाले थप बताए । ‘एउटा गोली लागेर एउटा अपराधीको मृत्यु अथवा घाइते हुँदा हंगामा मच्चिन्छ, तर एउटा चुरोटको खिल्लीले वर्षमा तीस हजार मानिसलाई क्यान्सर रोगतर्फ धकेल्दा यहाँ कोही बोल्दैनन्, त्यसकारण यो अभियानलाई प्रहरीले निकै महत्वका साथ अगाडि बढाउन लागेको हो ।’ थापा थप उल्लेख गर्छन् । त्यसो त विक्रमसिंह थापा जहाँ पुग्थे, त्यहाँ गुण्डा र पेशेवर अपराधीको भागाभाग हुन्थ्यो । नेपालगञ्जमा घर भत्काएर ६ लेनको बाटो बनाउने देखि रुपन्देहीमा पेट्रोलमा मिसावट गर्ने, कालोबजारी गर्ने, गिट्टी र बालुवाको तस्करी रोकेर राज्यलाई तीन अर्व फाइदा दिलाउने अब्बल प्रहरी अधिकृत हुन थापा ।

  राजधानीमा शान्ति सुरक्षाको जिम्मेवारी सँगसँगै उनले खाने तेल उत्पादन गर्ने कम्पनी दुगडको कालोबजारीलाई शक्ति केन्द्रको दबाबका बाबजुद पनि तहस नहस बनाए । सरकारले २०६८ साउन २२ गते सार्वजकि स्थलहरुमा धुम्रपान गर्न नपाईने नियम लागु गरेको थियो । तर, अहिले धुम्रपान गर्ने ८० प्रतिशत मानिसलाइ यस्तो पनि नियम छ भन्ने पत्तो छैन । विदेशीको सिको गर्दै चर्चामा आउनका लागि सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लागु गरेको भएपनि परिणाम शून्य भएको थियो ।

   सरकारले धुम्रपान निषेधित क्षेत्र भनि हाट, बजार, बसपार्क, चौतारा, होटल सिनेमाहल, अस्पताल, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यलय र त्यसको हाता जस्ता मानिसहरुको जमघट धेरै हुने स्थानलाई तोकेको छ । तर, ति स्थानहरुमा खुलेआम रुपमा धुम्रपान गरिरहेको देखिन्थ्यो भने नियमलाई कार्यन्वयन गराउने सरकारी निकायका विशिष्ट ओहदाका व्यक्तिहरुले नै सार्वजनिक स्थलमा धुमपान गर्दै आएका थिए । कतिपय स्थानमा कर्मचारी र प्रहरीहरु नै चुरोट पिइरहेका देखिन्थे । तर, एसएसपी थापाले जनहितमा ‘सार्वजनिक स्थलमा धुम्रपान निषेध’ अभियान चलाएपछि एकातिर क्यान्सरका विरामीहरु घट्ने अवस्था देखिएको छ भने अर्कोतिर धुम्रपान नगर्नेहरु र राज्यलाई पनि फाइदा पुगेको छ । यूनाइटेड पोस्ट साप्ताहिकबाट

Post a Comment

0 Comments