Subscribe Us

ल्हारक्याल छुटाउन को–को लामबद्ध ?

काठमाडौं ।
अकूत सम्पत्ति आर्जन गरेको, अवैध हतियार राखेको, वैदेशिक रोजगारीका नाममा ठगी गरेकोलगायतका आधा दर्जन अभियोग लागेका आफ्ना सांसद खेम्पो छिमेछिरिङ ल्हारक्याल लामालाई उन्मुक्ति दिन एमाओवादी अध्यक्ष प्रचण्ड भएभरको ताकत लगाएर भिडेका छन् ।

अवैध धन्दामा लागेकै कारण आफूमाथि कुनै पनि बेला संकट आउन सक्छ भन्ने बुझेरै ल्हारक्याल पैसा खर्च गरेर विभिन्न पद लिँदै आएका व्यक्ति हुन् । पदमा पुगेपछि सुरक्षित साथ धन्दा गर्नसकिने भएका कारण उनी एमालेमार्फत राज्यमन्त्री र पछिल्लो समयमा एमाओवादीमार्फत सांसद बनेका थिए ।
गृह मन्त्रालयसमेत सम्हालेको सत्तारुढ पार्टीको सांसद भएका कारण यतिबेला पक्राउ पर्छु भन्ने उनले सोचका थिएनन् ।
समाचार स्रोतका अनुसार आफू पक्राउ पर्दैछु भन्ने आभास उनलाई केही साताअघि भएको हो । पक्राउ पर्ने दिन उनी सिन्धुपाल्चोकबाट काठमाडौं फर्कंदै थिए, बाटैमा आफ्नो स्रोतबाट उनले यो सूचना पाए ।
सूचना पाउनासाथ उनले सुरुमै प्रचण्डलाई फोन गरे । सिरहाको एउटा कार्यक्रममा रहेका प्रचण्डले फोन त उठाए, तर दोहोरो कुरा हुन पाएन ।
प्रचण्डले जवाफ दिए, ‘तपाईंले भनेको मैले केही पनि बुझेको छैन, म अहिले कार्यक्रममा छु, बाहिर नारा जुलुस भएकाले हल्ला भएको छ, मैले केही पनि सुनेको छैन, एक घन्टापछि म आफैं फोन गर्छु ।’
यसो भनेर प्रचण्डले फोन राखिदिएपछि लामाले तत्काल गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरे । संयोगवश त्यसदिन गृहमन्त्री बस्नेत पनि आफ्नो जिल्ला जाजरकोट पुगेका थिए ।
बस्नेतसँग ल्हारक्यालले राम्ररी कुराकानी गर्न पाएनन् । तर एक दुई घन्टापछि भने प्रहरलिे नै लामा पक्राउ परेको सूचना गृहमन्त्री बस्नेतलाई दियो ।
उनले तत्काल प्रचण्डलाई फोन गरेर यसको जानकारी दिए । प्रचण्डले छिटो छुट्ने मेसो मिलाउन निर्देशन दिए । उनको निर्देशनपछि गृहमन्त्री बस्नेतले आईजीपीलाई टेलिफोन गर्दै लामालाई अदालतमा नभएर सिडिओकहाँ बुझाउन निर्देशन दिए ।
अदालतको तुलनामा आफ्नै मातहतको सिडिओकहाँ मुद्दा पुग्दा उन्मुक्ति सजिलो हुने भएका कारण गृहमन्त्री बस्नेतले त्यो निर्देशन दिएका थिए । तरुण साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments