Subscribe Us

वैद्य माओवादी फेरि फुटको संघारमा

काठमाडौं । ०६९ असारमा विभिन्न बुँदामा असहमति जनाउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग भएका मोहन वैद्य किरण नेतृत्वको माओवादी फेरि फुटको संघारमा पुगेको छ ।
पार्टी स्थापनाको केही वर्ष नबित्दै ८ मंसिर ०७१ मा नेत्रविक्रम चन्द विप्लवले पार्टी फुटाई नेकपा माओवादी स्थापना गरेका थिए ।  विप्लवले पार्टी फुटाएसँगै एमाओवादी र माओवादी घटकसँगको एकताको विषयलाई उठान गर्दै आएका वैद्य माओवादी एकताकै विषयलाई लिएर फुटेको संघारमा पुगेको हो । 

एकताको विषयमा निर्णय गर्न भन्दै शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय बैठकमा एकताको विषयमा दुई धार देखिएको छ । पार्टी अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा बादल निकटका केन्द्रीय सदस्यबीच बैठकमा चर्काचर्कीसमेत भएको छ । 

वैद्य निकट केन्द्रीय सदस्य एकताको विपक्षमा छन् भने बादल निकटका बहुमत केन्द्रीय सदस्य एकताको पक्षमा छन् । बैठकमा अध्यक्ष वैद्यले एकताविरोधी प्रस्ताव पेस गरेको भन्दै महासचिव रामबहादुर थापा बादलले पूरक प्रस्तावका रूपमा एकताको पक्षमा अर्को प्रस्ताव पेस गरेका छन् । वैद्यनिकट र बादल निकटका केन्द्रीय सदस्यबीच एकताको विषयलाई लिएर चर्काचर्कीसमेत भएको बताइएको छ ।

एकताको विषयमा अन्तिम निर्णय लिन भन्दै आकस्मिक रूपमा बोलाइएको बैठकले एकताको पक्षमा निर्णय नगरेको खण्डमा बादल सहितका बहुमत केन्द्रीय सदस्यले पार्टी फुटाएर एकता गर्ने निश्चित भएको स्रोतको दाबी छ । अध्यक्ष वैद्य, उपाध्यक्ष गजुरेल र परी थापा सहितका केही केन्द्रीय नेता एकताको विपक्षमा छन् ।
एमाओवादीले वैद्य नेतृत्वको पार्टी नै एकता गरी एकताको सन्देश दिने तयारी थाले पनि वैद्यको प्रस्ताव र उनीनिकट केन्द्रीय नेताले भने त्यसलाई अस्वीकार गरेका छन् ।
वैद्यले पुरानै अडान दोहो¥याउँदै एकताको सम्भावनालाई टाढा राखिएको छ भने बादलले नयाँ ढंगबाट एकता गरी भावी कार्यनीति र बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् । एमाओवादीले जनवादी क्रान्तिको कार्यदिशा त्याग्दै संसद्वादी नीतिलाई अवलम्बन गर्नुका साथै संविधानलाई ऐतिहासिक उपलब्धि मान्न नसकिने कुरालाई दोहो¥याएका छन् ।

नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य रामदीप आचार्यले एकता पहिलो सर्त भएको भन्दै बैठकपछि एकता हुने दाबी गरे । ‘एकता हुन्छ, हाम्रो बैठक पनि एकताकै पक्षमा केन्द्रित छ,’ उनले भने, ‘माओवादी आन्दोलन रक्षाका लागि एकताको विकल्प छैन, त्यसैले एउटा कुनै समूह भए पनि एकता हुन्छ ।’ अर्का केन्द्रीय सदस्य कान्छाराम तामाङले भने सैद्धान्तिक सहमतिविना एकता हुन नसक्ने स्पष्ट पारे । ‘एकता हुन्छ या हुँदैन भन्ने विषयमा केही भन्न सक्ने अवस्था छैन, माओवादी पार्टीमा अहिले पनि तरलता छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा सहमति नभई एकता हुने सम्भावना छैन ।’

यता, एमाओवादी केन्द्रीय सदस्य सूर्यमान दोङ लालध्वजले बादलले केन्द्रीय समितिमा पेस गरेको प्रस्ताव परिवर्तनको पक्षमा भएको भन्दै एकता हुने सम्भावना प्रवल रहेको दाबी गरे । ‘पुरानै डम्फु बजाएरै बस्नुहुन्छ भने मेरो भन्नु केही छैन,’ उनले भने, ‘नेपाली जनता माओवादी एक भएको सुन्न र देख्न आतुर छन्, त्यसैले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत गर्न माओवादी एकता आजको पहिलो आवश्यकता हो ।’

एमाओवादीले वैद्यसहित पार्टी नै एकता गर्ने भन्दै बादललाई मिलाउन जिम्मेवारी दिए पनि वैद्य एकताको विपक्षमै उभिएपछि प्रचण्डले वैद्यलाई भेटवार्ताका साथै टेलिफोनसमेत गरेका थिए । सार्वजनिक कार्यक्रममा समेत आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका प्रचण्डले वैद्यलाई पार्टी एकताको पक्षमा निर्णय गर्न सुझाउँदै आफू नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार वैद्यलाई समेत एमाओवादीमा ल्याउन प्रचण्डले हर प्रयास गरिरहेका छन् ।

Post a Comment

0 Comments