Subscribe Us

प्रहरीबिरुद्द आन्दोलन गर्न अमेरिकाबाट मानव तस्कर पूरीको निर्देशन

काठमाडौं, ११ चैत । गैर कानुनी रुपमा बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएका द रिभर ओभरसिजका सञ्चालक रघु पुरी र शिखर इन्टरनेशनलका अनुराज प्रधानले मेनपावर व्यवसायीलाई उचालेर प्रहरीविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल समेत पुरी र प्रधानको निर्देशनमा काम गर्न थालेपछि राम्रो काम गर्ने मेनपावर व्यवसायीहरु आक्रोशित बनेका छन् । 

ढकालकै कारण संघमा विवाद बढेको र अधिकांश पदाधिकारी ढकालविरुद्ध लागेका छन् । मानव तस्करी र ठगीको उजुरी आएका मेनपावरहरुमा मात्र महानगरिय अपराध महाशाखाले छापा हानेको थियो । पुरीको गिरोहले समग्र मेनपावर व्यवसायीलाई नै उचालरे प्रहरीले मेनपावरमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न उक्साइरहेका छन् । ठगी मुद्दामा सेटिङ मिलाएर छुटेलगत्तै पुरीले प्रहरीविरुद्ध आन्दोलन गरे करोडौं खर्च गर्न तयार रहेको स्रोत बताउँछ ।

पुरी यतिबेला भने अमेरिका बसेर ठग, तस्कर र अवैध कारोबारीमार्फत आन्दोलनलाई मलजल पु¥याइरहेका छन् । विदेश पुगेका नेपाली कामदारहरुले बिरामी भएर आफुहरु मर्न लागेको तर कम्पनीले वास्ता नगरेको जस्ता उजुरी परेपछि प्रहरीले मानवीय हिसाबले पनि ठगहरुमाथि अनुसन्धान अघि बढाएको थियो । अर्कोतिर मेनपावरको आवरणमा ठगी गर्दै आएको गिरोहले अर्कै माग राखी आन्दोलन गर्न लागेको बेला अपराध महाशाखाले छापा हानेपछि एकाएक मेनपावर कम्पनीहरु बन्द हुनुलाई रहस्यमय मानिएको छ । कामदार विदेश पठाएबापत प्रवद्र्धन खर्चबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने गरी सरकारले गत असार २१ देखि नयाँ नियम लागू गरेको थियो । 

उक्त निर्णयले मेनपावर कम्पनी मर्कामा परेको तर्कसहित आन्दोलन शुरु भएको थियो । संघका अध्यक्ष विमल ढकालले गिरोहलाई नै मलजल पुर्याउने गरी प्रवद्र्धन खर्चबापत कामदारबाट कम्तीमा २० हजार रुपैयाँ वा पहिलो एक महिनाको तलब बराबरको रकम पाउनुपर्ने माग राखेर अगाडि बढिरहेका छन् । नेपालमा मजदुरले पाउने न्यूनतम तलब नौ हजार सात सय तोक्ने सरकारले कामदार पठाएबापत मेनपावरलाई प्रतिकामदार १० हजार रुपैयाँ लिन पाउने भनेर तोक्नु एकातिर जायज नै छैन भने अर्कोतिर २० हजारको माग उठाउनु कति न्यायसंगत होला ? महिनामा सयौँ कामदारबाट १० हजारका दरले रकम उठाउँदा एउटा मेनपावरले कति कमाउला ?

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को अभिसन्धिअनुसार कामदारलाई विदेश पठाएबापत उनीहरुसँग कुनै रकम लिन पाईंदैन । तर, नेपालमा भने गिरोहले आइएलओको अभिसन्धि विपरित रकम उठाउन खोज्दा समेत सरकारी निकायले यिनै ठगहरुलाई प्रश्रय दिंदै आएका छन् । महाशाखाले मेनपावर व्यवसायी र सरकारबीच द्वन्द्व बढेको यो विषयमा प्रवेश नै गरेको छैन । मानव वेचविखन र ठगी धन्दामा संलग्नहरुमाथि मात्र कारबाही थालेको हो । तर, यहि बेला मेनपावरको आवरणमा ठगी धन्दा गर्दै आएको गिरोहले प्रहरीलाई दोष देखाउँदै आन्दोलनको नाममा नाजायज माग अगाडि सारेको हो । 

को हुन् पुरी 

रिभर ओभरसिजका सञ्चालक रघु पुरी विवादास्पद र बद्नाम मेनपावर व्यवसायी हुन् । उनको कम्पनीले कतारमा एक दर्जन युवालाई बिचल्ली बनाएको छ । बैदेशिक रोजगारको लागि द रिभरबाट कतार पुगेका युवाका आफ्न्तले महानगरिय अपराध महाशाखा टेकुमा उद्दार गरी पाँउ भन्दै निबेदन दिएपछि यो कुरा बाहिर आएको हो । महाशाखाले द रिभरका सञ्चालक रघु पुरीसहित १७ मेनपावर व्यवसायीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, पुरी भने सरकारी वकिल कार्यालयमा सेटिङ मिलाई छुटिसकेका छन् ।

बिभिन्न जिल्लामा अनुमति बिना नै शाखा कार्यालय बिस्तार गरेर पुरीले मेनपावरको आडमा मानब तस्करी गर्दै आएका छन् । मुख्य कार्यालय राजधानीको बत्तिसपुतलीमा रहेपनि ओभरसिजका सञ्चालक पुरीले आफ्नो शक्तिको आँडमा अबैध शाखा बिस्तार गरेका हुन । पोखरा, भैरहवा, बुटवल, बिराटनगर, महेन्द्रनगर, चितवनलगायतका ठूला व्यापारिक शहरमा पुरीले दर्ता नै नगरी मेनपावरको काम सञ्चालन गरिरहेका छन् । केही महिनाअघि गैरकानुनी रुपमा मेनपावर चलाएको गोप्य सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोलीले बुटवलका आधा दर्जन मेनपावरमाथि छापा मारेको थियो । त्यसबेला पुरीको अबैध मेनपावरमा पनि छापा मारिएको थियो । टोलीले ६ वटा मेनपावरमा छापा मार्दा पुरीको द रिभर ओभरसिज सहित तीन वटा गैरकानुनी रुपमा सञ्चालन भएको पत्ता लगाएको थियो । 

राजधानीबाट गएको विभागको टोलीसँगै ईलाका प्रहरी कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि पनि थिए । यूनाइटेड पोस्टमा खबर छ । सयुक्त टोलीले बुटवलमा सञ्चालित आधा दर्जन मेनपावरमाथि छापा मार्दा अवैध मेनपावरका धन्दा बाहिर आएको हो । पुरीसँग करोडौं अवैध सम्पत्ति रहेको र महाशाखाले सम्पत्ति सुद्दिकरण विभागलाई मुद्दा चलाउन फाइल पठाउन लागेको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतको सोर्स फोर्स लगाई पुरीले प्रहरीलाई पछाडि हटाएको स्रोतको भनाई छ ।

Post a Comment

0 Comments