Subscribe Us

प्रहरीद्वारा ज्यान मुद्दाको अनुसन्धानमा प्राथमिकता

अच्युत रेग्मी,काठमाडौँ, ४ चैत । आजभन्दा १२ वर्ष पहिले ललितपुरको बडिखेलमा एकै परिवारका पाँच जनाको हत्या भएको थियो । हत्या हुनेमा ३६ वर्षीय भानु नगरकोटी, ३० वर्षीय श्रीमती धनकुमारी नगरकोटी, १३ वर्षीय छोरा रवीन्द्र नगरकोटी, १० वर्षीय छोरी लुरी नगरकोटी र अर्की ८ वर्षीय छोरी टुकुली नगरकोटी थिए ।

    रातको १२ बजे हत्या कसले र किन ग¥यो कसैलाई थाहा थिएन । तर प्रहरीको सफल अनुसन्धानपछि गत भदौ ३ गते अपराधी पत्ता लाग्यो । अपराधी थिए – मृतक भानु नगरकोटीका जेठान चन्द्रबहादुर पहरी । पहरीकी श्रीमती सूर्यकुमारी पहरी र नगरकोटीकी श्रीमती धनकुमारी नगरकोटीबीच झगडा भएका कारण उनीसहित उनका परिवारलाई मारेको अभियुक्त पहरीले प्रहरीसमक्ष बयान दिएका छन् ।


 यस्तै, गत साउन १ गते म्हैपीमा धारिलो हतियार प्रयोग गरी मारेको घटना पनि उत्तिकै कहालीलाग्दो छ । दोलखा घर भई म्हैपीमा सागर अटो मोबाइल वर्कसपमा काम गर्ने २१ वर्षीय अशोक खड्काको धारिलो हतियारले घाँटीमा प्रहार गरी अण्डकोषसमेत चिरी हत्या गरिएको थियो । प्रहरीको अनुसन्धानपछि दोषी फेला प¥यो । दोषी थिए – उमेशविक्रम श्रेष्ठ र हत्याका मुख्य कारण थिए – एउटै वर्कसपमा काम गर्नु, सँगै बसेर रक्सी खानु र झगडामा उत्रिनु ।
   
  यस्तै, गत भदौ २० गते १० वर्षीय नाबालकको हत्या भएको थियो । प्रहरीको अनुसन्धानपछि नाबालकका २२ वर्षीय काका शिवहरि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लियो । अनुसन्धानमा जग्गाको अंशमा विवाद भएपछि आफ्नो भतिजको हत्या गरिएको पत्ता लाग्यो । नाबालक मन्दिप घिमिरेलाई हातखुट्टा डोराले बाँधी घाँटी कसेर मारिएको थियो ।

    माथिका घटना केही उदाहरणमात्र हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय कर्तव्य गरी ज्यान लिनेलाई अनुसन्धान गरी कानुनी कारबाहीमा ल्याउने क्रम बढाएको छ । महाशाखाले आव २०७१÷७२ मा कर्तव्य ज्यानसम्बन्धी उपत्यकामा १३ घटनाको सफल अनुसन्धान गरेको छ । कुल १६ अपराध रहेकामा तीन घटनाको अनुसन्धान जारी रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 

    ती अपराधमा प्रहरीले एक महिलासहित २१ जनालाई पक्राउसमेत गरिसकेको छ । आव २०७१÷७२ मा पुराना १२ घटनाको पनि अनुसन्धान थालिएको थियो । पुराना घटनाबाट एक महिलासहित १५ जनालाई पक्राउ गरिएको छ । उपरीक्षक रेग्मीले भने, “बाँकी घटनामा हामीले सक्रियताका साथ अनुसन्धान गरिरहेका छौँ  चाँडै यसको परिणाम आउँछ ।”

 यस्तै, आव २०७२÷७३ महाशाखाले १६ घटनाको अनुसन्धान गरेको छ जसमा एक महिलासहित १६ जनालाई पक्राउ गरिएको छ ।    यस्तै सोही आवमा पुराना दुईवटा घटनाको अनुसन्धान गरी तीन जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

 मुलुकी ऐनमा व्यवस्था भएको सजाय बमोजिम हातहतियार प्रयोग गरी कसैको ज्यान मारेमा सर्वस्वसहित जन्मकैद हुने प्रावधान रहेको छ । महाशाखाका प्रहरी उपरीक्षक सहकुल थापाले कर्तव्य ज्यानको सम्बन्धमा महाशाखाले गहिरो अध्ययन गरिरहेको बताए । उनले भने, “हाम्रो सक्रियताले बडिखेलको १२ वर्ष पुरानो घटनाको सफल अनुसन्धान भएको छ ।”

Post a Comment

0 Comments