Subscribe Us

अन्ततः प्रहरी हिरासतमा पुगे ल्हारक्याल,
नागरिकता किर्ते, ठगी, अवैध यार्सागुम्बादेखि हातहतियार कारोबारमा ल्हारक्यालको संलग्नता

मदन भण्डारी , काठमाडौं । विभिन्न अभियोग लागेका विवादास्पद छविका एमाओवादी नेता तथा व्यवस्थापिका संसद्सदस्य ल्हारक्याल लामा अन्ततः प्रहरी हिरासतमा पुगेका छन् । 

केही वर्षअगाडि झलनाथ खनालको मन्त्रीमण्डलमा अर्थ राज्यमन्त्री भएका ल्हारक्याल नागरिकता किर्ते, ठगी, अवैध यार्सागुम्बादेखि हातहतियारको कारोबारमा समेत संलग्न रहेको पछिल्लो समय विकसित घटनाक्रमले पुष्टि गरेको छ । आपराधिक कार्यमा संलग्न हुँदाहुँदै पनि विभिन्न शक्तिकेन्द्रको आडमा कारबाहीबाट जोगिँदै आएका उनीमाथि पछिल्लो केही महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो । 

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगको अनुसन्धानको दायरामा तानिएका उनको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरबारमार्गमा रहेको १÷सी ४११ नम्बरको लकर खानतलासी गर्ने क्रममा लकरभित्र १४ थान गोली भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन् । अनुसन्धानको लागि केही महिनादेखि आयोगको निर्देशनबमोजिम रोक्का गरिएको उक्त लकरमा रहेको सुनचाँदी तथा अन्य बहुमूल्य सम्पत्तिको छानबिनको लागि आइतबार अपराह्न बैंक पुगेको आयोगको टोलीले ल्हारक्यालको रोहबरमा लकर खोलेर चेकजाँच गर्दा १४ थान अवैध गोली भेटिएको थियो । 

  लकरमा गोली भेटिएपछि अख्तियारबाट खटिएको प्रहरी टोलीले ल्हारक्याललाई नियन्त्रणमा लिएर बैंक नजिकै रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई खबर ग¥यो । अख्तियारको टोलीमार्फत खबर पाएलगत्तै दरबारमार्ग प्रहरी वृत्तका डीएसपी कृष्णबहादुर पल्ली मगर नेतृत्वको प्रहरी टोली बैंकमा पुगेर बरामदी मुचुल्का तयार गरी १४ राउण्ड गोलीसहित सांसद् ल्हारक्याललाई जिम्मा लिएर आवश्यक कारबाहीको लागि तत्काल महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो । 

दरबारमार्ग प्रहरीले टेकु पु¥याएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा शाखा प्रमुख डीएसपी दिनेश आचार्य नेतृत्वमा ल्हारक्याललाई हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धानको लागि म्याद थप गर्न आइतबारै बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस ग¥यो । म्याद थपको लागि पेस गरिएका सांसद् ल्हारक्याललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले प्रहरीलाइ पाँच दिनको म्याद दिएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा लकरबाट बरामद भएको गोली चाइनिज पेस्तोलमा लाग्ने गोली भएको अनुमान प्रहरीले गरेको छ । १४ राउण्ड गोली भेटिएपछि ल्हारक्यालसँग पेस्तोल समेत हुनसक्ने आशंकामा काठमाडौं प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।  

सांसद् ल्हारक्यालको पक्राउ सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिँदै काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘लकरबाट बरामद भएको गोली र उक्त परिमाणको गोलीसँग सम्बन्धित पेस्तोल पनि हुनसक्ने आशंकामा हामीले अनुसन्धानलाई तीव्रता दिएका छौँ, विस्तृत जानकारी अनुसन्धानपछि थाहा हुनेछ ।’ एसएसपी थापाका अनुसार काठमाडौं प्रहरीले सांसद् ल्हारक्यालको पक्राउ सम्बन्धमा सभामुख ओनसरी घर्तीमगरलाई आइतबार लिखित जानकारी गराइसकेको छ । पक्राउ परेसँगै उनी सांसद् पदबाट समेत निलम्बित भइसकेका छन् ।   ‘हामीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर न्यायिक निकायको आदेशबमोजिम हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ’, एसएसपी थापाले भने ।  

उसो त पटक–पटक विवादमा आइरहने विवादास्पद छविका ल्हारक्याल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अवैध यार्सागुम्बा कारोबार सम्बन्धमा समेत केही महिनाअगाडि समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा ल्हारक्याल र पूर्व–अर्थमन्त्री पाण्डेले यार्सागुम्बाको कारोबार गर्ने भन्दै एकीकृत माओवादीका केही कार्यकर्तासँग २० करोडको सम्झौता गरेर १५ लाख रुपैयाँको ‘बाउन्स’ चेक दिलाएको घटना सार्वजनिक गरिएको थियो । करिब तीन वर्षअगाडि पूर्व–अर्थमन्त्री पाण्डेले आफ्ना व्यावसायिक साझेदार पूर्व–अर्थराज्यमन्त्री एवं सभासद् ल्हारक्याल लामालाई साक्षी राखेर एमाओवादीको भ्रातृ संगठन वाईसीएलको मगरात राज्य समिति इञ्चार्ज समेत रहेका ‘मार्सल’ उपनामले चिनिने रुकुमका जितमान पुनको समूहसँग यार्सागुम्बा कारोबारको लागि २० करोडको सम्झौता गरेका थिए । 


उक्त सम्झौतामा पुनको समूहले रुकुमको माथिल्लो भेग, जुम्ला, डोल्पा, हुम्ला, मुगु, बझाङ र दार्चुलाबाट करिब एक क्विन्टल यार्सागुम्बा संकलन गरेर पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उपलब्ध गराउने र उक्त यार्सागुम्बा चीनतर्फ पठाउने जिम्मा पूर्व–अर्थराज्यमन्त्री ल्हारक्याल लामाले गर्ने उल्लेख गर्दै पाण्डे र लामाको संयुक्त लगानीमा गर्ने र सुरुमा एक किलो नमूनाका रुपमा उपलब्ध गराउने तथा सम्पूर्ण सम्झौताको २० करोड रुपैयाँमध्ये पेस्कीस्वरुप दिनुपर्ने १५ लाख रुपैयाँ भुक्तानीको लागि सभासद् लामा अध्यक्ष रहेको सिद्धार्थ फाउन्डेसनको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक प्रधान कार्यालयमा रहेको खाता नम्बर ००१०५०१०१५८५५८को बाउन्स चेक थमाइदिएका थिए । 

त्यसो त झलनाथ खनालको मन्त्रीमण्डलमा एमालेको तर्फबाट अर्थराज्यमन्त्री भएका ल्हारक्याल दोहोरो नागरिकता र राहदानी विवादमा तानिएपछि राजीनामा दिन बाध्य भएका थिए । नेपालको मन्त्री भए पनि भारतको नागरिक भनी भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएको फेला परेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

 अर्थराज्यमन्त्रीबाट निकालिएपछि केही वर्ष तटस्थ बसेका उनी दोस्रो संविधानसभा निर्वाचनको केही दिनअघि मात्र एमाओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका हुन् । त्यसबेला उनलाई एमाओवादीले समानुपातिक सूचीमा समेत राखेको थियो । करिब डेढ वर्षअगाडि एमाओवादीले विवादास्पद छविका उनलाई ‘सभासद्’ नियुक्ति गरेको थियो । सर्वोच्च अदालतले शम्भु पासवान हजारीको संविधानसभा सदस्य खारेज गरेपछि बनेको रिक्त स्थानमा एमाओवादीले ल्हारक्याललाई नियुक्त गरेको थियो । 

यसरी विवादास्पद पात्रलाई एमाओवादीले सभासद् बनाएको भन्दै त्यतिबेला एमाओवादीकै नेता कार्यकर्ताबाट नेतृत्वको कडा आलोचना भएको थियो । एमाओवादीमा प्रवेश गर्नुअघि एमालेका नेता रहेका उनी सिन्धुपाल्चोकबाट एमालेका तर्फबाट ०६४ सालमा समानुपातिक सभासद् बनेका थिए । उनको असली नाम डा. खेन्पो छिमे छिरिङ भए पनि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट डा. ल्हारक्याल लामाको नामबाट नागरिकता लिएका थिए ।   

                        करोडौँ ठगीको पक्राउ पुर्जी काठमाडौं प्रहरीमा अलपत्र
 
 काठमाडौं बूढानीलकण्ठका वैदेशिक रोजगार व्यवसायी केशबहादुर गुरुङको जाहेरीमा वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई डाक्टर ल्हारक्याल लामा, छिरिंग डोल्मा लामा र फुर्पा लामालाई पक्राउ गरेर बुझाइदिन अनुरोध गर्दै लेखेको पक्राउ पुर्जीसहितको पत्र वर्षौंदेखि महानगरीय प्रहरी परिसरमा अलपत्र रहेको पाइएको छ । 


वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर सञ्चालक गुरुङ र सयौं सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा विभागले २०७० साल भदौ १० गते गरेको अनुरोधलाई काठमाडौं प्रहरीका तत्कालीन प्रमुख एसएसपी सुबोध घिमिरेले नजरअन्दाज गरेका कारण कार्यान्वयन हुन नसकेको वैदेशिक रोजगार विभाग स्रोतको दाबी छ ।

 गुरुङको जाहेरी सम्बन्धमा वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले ल्हारक्याल (डा. लार्केल) लामासहित उनका आफन्तहरु खिना लामा, फुर्पा लामा र छिरिङ डोल्मा लामालाई वैदेशिक रोजगार कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी प्रहरी सुरक्षाका साथ विभागमा उपस्थित गराइदिन आग्रह गरेकोमा तत्कालीन एसएसपी घिमिरेले तीनपुस्ते नखुलेको हास्यास्पद कारण देखाउँदै ल्हारक्याललाई नै संरक्षण गरेको आरोप जाहेरीकर्ताको छ । घिमिरेको सरुवापछि काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएका एसएसपीद्वय रमेशप्रसाद खरेल र उत्तमकुमार कार्कीले पनि ल्हारक्यालविरुद्धको उक्त पक्राउ पुर्जी सम्बन्धमा ध्यान दिएनन् । 

आइतबार ल्हारक्यालको पक्राउपछि हाल काठमाडौं प्रहरीको कमाण्ड सम्हालिरहेका एसएसपी विक्रम सिंह थापालाई सोबारे जिज्ञासा गर्दा सो विषयमा आफूलाई जानकारी नरहेको बताउँदै वैदेशिक रोजगार विभागबाट सो किसिमको पत्र प्राप्त भएको भएमा हाल जारी रहेको अनुसन्धान सम्पन्न गरेपछि उक्त विषयलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । अपच्र्युनिटी म्यानपावरका सञ्चालक गुरुङले वैदेशिक रोजगार विभागमा दर्ता गरेको जाहेरीमा ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसनबापत आफूसँग पटक–पटक गरी करिब सवा २ करोड रुपैयाँ लिएर ठगी गरेको उल्लेख छ । 

ल्हारक्यालले वैदेशिक रोजगारीमा मकाउका लागि हाउस किपिङ, क्लिनर, वेटर र सुुरक्षा गार्डमा ५ सय १० युवाका लागि भिसा प्रक्रिया र कमिसनबापत आफूसँग पैसा बुझेर ठगी गरेको दाबी गर्दै प्रमाणको रुपमा डोल्मा लामालाई दिएको ३३ लाख ५४ हजार रुपैयाँ, हङकङबाट पठाएको १ करोड ५४ लाख रुपैयाँ र ग्लोबल बैंक, ज्ञानेश्वर शाखाबाट डोल्माले उनको खाताबाट निकालेको १३ लाखको चेकको प्रतिलिपि पेस गरेका छन् । 

ल्हारक्यालको समूहले भिसा प्रक्रियाबापत २०६८ कात्तिक १५ मा ११ लाख ९८ हजार हङकङ डलर (१ करोड ५४ लाख रुपैयाँ) वेस्टर्न युनियनमार्फत पठाइदिएको रसिदसमेत जाहेरीसँगै पेस गरेका छन् । मकाउ र चीनका सरकारी अधिकारीसँग ल्हारक्यालको राम्रो सम्बन्ध रहेको र कामदारको डिमान्ड ल्याउन सजिलो हुने भन्दै गुरुङका नाममा रहेको अपच्र्युनिटी म्यानपावरका नाममा कोटा मगाउने भन्दै ल्हारक्याल समूहले सोही म्यानपावर प्रयोग गरेर ठगी गरेको आरोप गुरुङको छ ।

Post a Comment

0 Comments