Subscribe Us

‘बन्दुक’ देखाए विप्लवले मच्चाए बबन्डर

काठमाडौं । बन्दुकबाट मात्रै क्रान्ति सम्भव भएको भन्दै मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट बन्दुक उठाउने ध्वास दिएर नयाँ पार्टी खोलेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीभित्र बबन्डर मच्चिएको छ । 

दुई वर्षदेखि ‘बन्दुक’ कै विषयमा चर्चा भइरहेको विप्लव माओवादीका शीर्ष तहमा भएको छलफलमा बबन्डर मच्चिएको हो । पटक–पटक बन्दुक उठाउने चेतावनी दिएका विप्लव माओवादीले बन्दुक उठाउने त के बन्दुकको समेत व्यवस्थापन गर्न नसकेपछि विवाद उत्कर्षमा पुगेको हो । स्रोतका अनुसार विप्लव माओवादी चीनबाट दुई–दुई पटकसम्म रचेको बन्दुक ल्याउने योजना विफल भएपछि कार्यकर्तामा निराशा छाएको छ । 

१ फागुन ०७२ मा  जनयुद्ध दिवस पारी सुदुरपश्चिमका एक क्षेत्रलाई लक्ष्य गरी बन्दुक पड्काउने आन्तरिक तयारीमा जुटेका विप्लवले २०७२ पुस महिनादेखि बन्दुक ल्याउने तयारी थालेका थिए  । एक चिनियाँ व्यापारीसँगको समन्वयमा कम्तिमा १० हजार नयाँ बन्दुक ल्याउने उनको पहिलो योजना विफल बनेपछि १ फागुनमा बन्दुक ल्याउने योजना विफल बनेको स्रोतको दावी छ । चिनियाँ व्यापारीसँगको सहकार्यमा बन्दुक ल्याउन लागेको कुरा चिनियाँ सुरक्षाकर्मीलाई थाहा पाएपछि विप्लवको योजना असफल भयो । 

त्यसपछि दोस्रो पटक चिनियाँ सरकारी निकायसँग नै समन्वय गरी बन्दुक ल्याउने योजना पनि विफल भएको छ । विप्लव हेडक्वार्टरका सुदिप मल्ललाई दिइएको जिम्मेवारीले पनि काम नगरेपछि पार्टीभित्र निरास र विवाद सुरु भएको हो । ‘विप्लव हेडक्वार्टरमै भएको सुदिप मल्लले त बन्दुक ल्याउन सकिएन, अरु कसले सक्ला र ?’ विप्लव निकट एक नेताले भने, ‘पटक–पटकको योजना विफल भएपछि पार्टीभित्र ठूलो तहल्का नै मच्चिएको छ ।’बन्दुककै विषयलाई लिएर कतिपयले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् । केही महिनादेखि अर्धभुमिगत शैलीका जीवन बिताएका विप्लवलाई भेटेरै पार्टीका केन्द्रीय नेताहरुले बोलेको कुरा पूरा नगरे पार्टी छाड्नेसम्मका चेतावनी दिएका हुन् । 

विप्लवले नयाँ र पुराना गरी झण्डै १० हजार बन्दुक तयार पारेको बताइन्छ । त्यसमध्ये केही बन्दुक प्रयोग गर्न नमिल्ने खालका छन् । नयाँ बन्दुक ल्याई युद्ध थाल्ने आश्वसन दिएका विप्लवले अहिलेसम्म आश्वसन पूरा नगरेपछि उनले तालिम दिएर ठिक्क पारेका सैनिकहरु समेत पार्टी छाडेर हिड्न थालेका छन् । 

विप्लवले कम्तिमा १३ हजार सैनिक तयार पारेका छन् । हतियारको व्यवस्थापन नगरेपछि उनीहरु रुष्ट छन् । विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्कर्मा (प्रकाण्ड) ले भने आफूहरु बन्दुक ल्याउने कार्यमा नलागेको बताउँदै पार्टीभित्र विवाद नरहेको बताए । विप्लवे चाँडै हतियारको व्यवस्थापन हुने र त्यसपछि पहिले गरेको प्रतिबद्धता अनुसार अघि बढ्ने भन्दै कार्यकर्तालाई थुम्थुम्याइरहेका छन् । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments