Subscribe Us

एकाध वर्षभित्र मुलुकमा ठूलो परिवर्तन सम्भव छ– प्रधानमन्त्री

काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख महिनालाई विद्युत् चुहावट नियन्त्रण महिनाको रुपमा मनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको संयन्त्रमा मुलुकभर चुहावट २५ प्रतिशतको हाराहारीमा रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न विशेष कदम चाल्न अत्यावश्यक रहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले वैशाख महिनालाई चुहावट नियन्त्रण महिनाको रुपमा मनाउन निर्देश गरेका हुन्।
kp oli

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको १०औँ महाधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी एक वर्षभित्र आधारभूत रुपमा विद्युत् भार कटौती मुक्त गरिने र दुई वर्षभित्र जलविद्युत्बाटै पूर्णरुपमा विद्युत् उपलब्ध गराइने उल्लेख गरे ।

निर्माणाधीन जलविद्युत् परियोजनालाई तत्काल सम्पन्न गर्नुपर्ने, सञ्चालनमा रहेका आयोजना पूर्ण क्षमतामा चलाउनुपर्ने, सौर्य तथा अन्य वैकल्पिक ऊर्जाको स्रोत परिचालन गरी मुलुकलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउने योजनामा सरकार रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने ‘‘मुलुक र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गरौ, एकाध वर्षभित्र मुलुकमा ठूलो परिवर्तन सम्भव छ । त्यसमा प्राधिकरणका कर्मचारीको ठूलो हात रहन्छ ।’

मुलुकमा विद्युत् उत्पादनको एक शताब्दी पूरा भए पनि सीमित मात्रामा विद्युत् उत्पादन हुनु र नेपाली जनताले दुःख पाउनुको पछाडि विगतको कमी कमजोरी तथा राजनीतिक अस्थिरता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुकभित्रै विद्युत् उत्पादन नहुँदासम्म छिमेकी मुलुकबाट आयात गरेरै भए पनि सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

भारत र चीन दुवैतिर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रियालाई गति दिन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले भारतबाट थप ६०० मेगावाट विद्युत् आयात गरिने जानकारी दिए ।

हालै आफूले सम्पन्न गरेको भारत र चीनको भ्रमणबाट मुलुकभित्र विकास निर्माणमा नयाँ तरिकाले जाने आत्मविश्वास पैदा भएको भन्दै प्रधानमन्त्री ओलीले सामान्य र खुद्रा कुरा गरेर बस्ने समय नभएको उल्लेख गरे ।

संविधानसभाबाट जारी भएको संविधानले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाएको भन्दै उनले अनावश्यक तर्क गरेर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम कोही कसैले गर्न नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने ‘संविधानको विषयमा नेपाली जनताको गुनासो छैन । बिहे गरेर आउने बित्तिकै विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् ।

 सो प्रक्रियाबाट नागरिकता पाएका सांसद र मन्त्रीसमेत बनेका छन् । सबै वर्ग, क्षेत्र र लिङ्ग अधिकार सम्पन्न भएका छन् । तर विदेशतिर बसेर केही मान्छे नेपालको संविधानमा यो छैन र ऊ छैन भन्दै अर्ति उपदेश दिइरहेका छन् । यो हामीलाई सह्य छैन ।’

प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको र एकाध वर्षमा कपडामा समेत आत्मनिर्भर बनाइने छ भने ।

यस्तै आगामी एक वर्षभित्र मुलुकभित्रका सबै तुइन विस्थापन गरिने जानकारी दिदै प्रधानमन्त्री ओलीले आगामी वैशाख १ गते पोखरा क्षेत्रीय विमानस्थलको शिलान्यास गरिने र दुई वर्षभित्र केरुङ–त्रिशुली सडक दुई लेनको बन्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले का नेता गोकर्ण विष्टले मुलुकको ऊर्जा क्षेत्रको विकासमा प्रष्ट नीति र लगानीमैत्री वातावरणको जरुरी रहेको बताए । उनले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न सबैको सार्थक प्रयत्न आवश्यक रहेकोमा जोड दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सरकारले अगाडि सारेका आयोजना एवम् कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताए ।

उद्घाटन सत्रमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले प्राधिकरणभित्रको अराजकता,अस्थितरता र काम चोर प्रवृत्तिको अन्त्य गर्न माग गरेका थिए ।

Post a Comment

0 Comments