Subscribe Us

यौनधन्दाका लागि भारत पुर्याइ्एकी युवती भागेर फर्किन

कञ्चनपुर, २६ चैत । जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् । दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङलोर, अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् । 

दोधाराका शङ्कर धामीले विसं २०६६ मा राम्रो जागिर दिने आश्वासन दिएर बैङलोर लगेका थिए । घरको कमजोर आर्थिक अवस्था भएकाले छिमेकी धामीको प्रलोभनमा परी उनी कक्षा ८ को पढाइ छाडेर १२ वर्षको उमेरमा भारत गएकी हुन् । 

बैङलोर पुगेर एक सातापछि घरमा भाँडाकुँडा सफा गर्ने काममा लगाएको एक महिनापछि यौनधन्दाका लागि बाध्य पारिएको थियो । १४ घरमा भाँडाकुँडा सफा गरी मासिक २३ हजारसम्म कमाई हुने गरेको उनले बताइन् । ‘उनी आफैँले मेरो पैसा बुझेर लग्थे, दिनरात मालिकको ओछ्यानमा लगेर शङ्करले छाडेर आउने र बिहानपख लिन आउने गर्थे’, पीडित युवतीले भनिन् । 

ट्रक चलाउने शङ्करले नै सो धन्दा बापतको १० हजार रुपैयाँ रकम लिने गरेको उनले बताइन् । मालिकको घरमा लैजाँदै गर्दा शौचालय जाने बहाना बनाएर भागेर आएको उनले बताइन् । कैलालीको धनगढीका युवाको सहयोगमा वनबासासम्म आइपुगेको उनको भनाइ छ । 

यसैबीच, माइती नेपाल कञ्चनपुरले झोलुङ्गेपुल नदीको दुवै छेउका बस्तीमा घरदैलो अभियान सञ्चालन गरेको छ । मानव तस्करले झोलुङ्गेपुलबाट मानव ओसारपसार गर्न थालेपछि स्थानीयवासीलाई सचेत बनाउन घरदैलो गरिएको हो । 

माइती नेपालको २३औँ वार्षिकोत्सवमा विहिबार घरदैलोसँगै बस्तीमा पर्चा वितरण गरिएको छ । दलालले यो नाका प्रयोग गर्ने भएकाले स्थानीयवासीलाई सचेत गराउन घरदैलो गरिएको हो, माइती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्टले भने । 

Post a Comment

0 Comments