Subscribe Us

गाँउमा तीनदिन बत्ती नआए पानीको हाहाकार


अच्युत रेग्मी, डराउनेपोखरी, काभ्रे । काभ्रेपलाञ्चोकको डराउनेपोखरीस्थित पुरानो हटियामा तीनदिनसम्म विजुलीबत्ती नआए खानेपानीको हाहाकार हुने गरेको छ । चार सय घर रहेको पुरानो हटियामा पहिलेपहिले गाँउको वीचमा रहेको तीनधारा र नारायण कुवाको पानी प्रयोग गर्दे आएपनि अहिले कुनै धारामा पानी आउँदैन । डराउनेपोखरीका मानिसहरु पानी नआएपछि अहिले सात किलोमिटर तल रोशी खोलाबाट विजुलीले पानी तानेर पानीको प्रयोग गर्न बाध्य छन् ।

रोशी खोलाबाट एकपटक एकलाख लिटरसम्म पानी तान्ने गरेका डराउनेपोखरी हटियाबासीले पानी प्रयोगका लागि मासिक तीनसय ५० रुपैँया तिर्ने गर्दछन् । तीन दिन बत्ति आएन भने विजुलीबाट खानेपानी तान्न नपाएपछि पानीको हाहाकार हुन्छ ।

    तीन दिनसम्म पनि बत्ती आएन र खानेपानीको हाहाकार भएपछि एकघण्टा हिँडेर ठूलोधारा भन्ने ठाँउमा पानी लिन जानुपर्छ । गाँउभरी नै पानी नआएपछि सबै जाँदा एकगाग्रो पानीका लागि तीन÷चार घण्टा लाईन बस्नुपर्ने बताहुनुहुन्छ स्थानीय पोडेमाया तामाङ । उहाँ भन्नुहुन्छ, “भूकम्पपछि त गाँउका कुवा र धारामा पानी देख्नै पाइएन ।” त्यहाँका कतिपय जनता त पानीको समस्याले गर्दा बसाँईसराईँ गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपरेपछि पानीको हाहाकार भएको हो ।

    पहिलेपहिले प्रशस्त पानी हुने गरेपनि दुई÷तीनवर्ष यतादेखि खानेपानीको समस्या देखा परेको हो । स्थानीय ७० वर्षीय वृद्ध हर्कबहादुर श्रेष्ठले पछिल्लो समय पिउने पानीको समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म ७० वर्ष भयाँ अहिलेसम्म यो गाँउमा पानीको समस्या थिएन विगत दुई÷तीन वर्षदेखि पानीको साह्रै समस्या भएको छ पानी खान नपाएर मरिन्छ की भन्ने चिन्ता लागेको छ ।”
    स्थानीय रामचन्द्र श्रेष्ठले प्रत्येक दिन विहान आधा घण्टा पानी थाप्ने व्यवस्था भएको र २० मीनेट बढी पानी थापेपनि थप ५० रुपैँया लिने गरेको गुनासो गर्नुभयो । पानीको समस्या भएपछि डराउनेपोखरी हटियाका मानिसहरुले गाइवस्तुसमेत कम पाल्न थालेका छन् । 

    माथि उल्लेखित मानिसहरु त केबल त्यस क्षेत्रका प्रतिनिधी पात्रमात्र हुन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रको अधिकाशं स्थानमा पानी सुक्ने समस्या हुने गरेको छ । सो गाँउमा घरदेखि वैठकसम्म पानीको बारेमा छलफल हुने गरेको छ । 

    नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दिपक ज्ञवालीले मध्यपहाडी क्षेत्रको अधिकाशं स्थानमा पानी सुकेको बताउनुभयो । ज्ञवालीले प्रविधिको विकाससङ्गै धेरै क्षेत्रमा मेसिनबाट पानी तान्ने गर्दा पानी सुकेको उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, “स्थानीय सरकार जबसम्म बलियो हुँदैन तबसम्म पानीको समस्या समाधान हुँदैन ।”प्रतिष्ठानले उक्त क्षेत्रमा गत दुई वर्षदेखि खानेपानीको अध्ययन गरिरहेको छ ।  यस्तै प्रतिष्ठानले ग्रामीण भेगमा भएका अलिअलि धारापनि पुरा नसुकोस भन्नका लागि पोखरी संरक्षण अभियानसमेत थालेको छ । सो क्षेत्रमा रहेका २५० पोखरीमध्ये १४ वटा पोखरीलाई लिएर अध्ययन समेत गरेको छ । 

    अन्तराष्ट्रिय एकीकृत पर्वतीय केन्द्र ९इसीमोड०का पानी तथा जलवायुविज्ञ डा सन्तोष नेपाल पानीको धाराहरु सुक्न नदिन र दिगो बनाउन पोखरीको संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । 

    उहाँ भन्नुहुन्छ, “उच्च क्षेत्रमा वोटविरुवा संरक्षण गर्ने पोखरीको संरक्षण गर्ने हो भने तल्लो क्षेत्रका जनतालाई पानीको समस्या पर्देन ।”पानीको समस्या कम गर्नका लागि उच्च क्षेत्र र तल्लो क्षेत्रका जनताबीच एकआपसमा सहयोगको भावना हुनु जरुरी छ । रासस

Post a Comment

0 Comments