Subscribe Us

जमिन हल्लिरहन्छ, सिंहदरबार कहिले हल्लिने ?,
सिउँदो पुछिएको वर्ष नाघ्यो, घर कहिले बन्ने

काठमाडौं । महाभूकम्पको त्रास वर्ष दिन वित्दापनि हराउन सकेको छैन । राहत र पुननिर्माणका लागि सरकारले रकम खर्च गरेको घोषणा गरिसकेको छ तर त्राससँगै पीडितले न्याय पाउन सकेका छैनन् । 

भूकम्पको वर्ष दिनमा धेरै कार्यक्रमहरु राजधानी र आसपासका ठाउँमा गरिए तर जहाँ काम गर्नुपर्ने हो त्यहाँको पीडामा मल्हम लाग्न सकेको छैन । 

भूकम्प र पराकम्पनहरुले थिलथिलो भएको सिन्धुपाल्चोकको भूगोल त पीडामा छ नै त्यो भन्दा महापीडामा छन् त्यस भूगोलको खुल्ला आकाशमा बस्ने पीडितहरु । अझै सिन्धुपाल्चोकमा पृथ्वी हल्लिन्छ तर सिंहदरबारको मन अहिलेसम्म हल्लिन नसक्दा उनीहरु आक्रान्त छन् ।  

‘भूकम्पले जीवनको सारा खुसी लुट्यो, श्रीमान्, छोरालाई खोसेर लग्यो, म त्यो पापी दिनलाई सम्झन चाहन्नँ’ गहभरि आँसु पार्दै सिन्धुपाल्चोक भोटसिपाकी चण्डिका नेपाल प्रश्न गर्छिन्, ‘घरमा पुरुष मान्छे नै छैन, हातमुख जोड्नै समस्या छ, घर कसरी बनाउने ? सरकारले घर बनाइदिए टहरामा कष्टपूर्ण रात बिताउनु पर्दैनथ्यो कि ?’

सिन्धुपाल्चोकका भूकम्पीडितले राज्यसँग ३ सय ६५ दिन नै गरिरहेको साधारण प्रश्नमात्र बनेको छ, उनीहरुको पीडा । सिंहदरबारले कहिले सुन्ने ? सरकार फेरियो तर पीडामा दिनरात कटाइरहेकाहरुको जीवन फेरिने कहिले ? मेलम्चीकी काली दनुवारलाई १२ वैशाख सम्झियो कि भयको ताण्डवको सम्झना एकातिर हुन्छ, अर्कातिर आँखाबाट बरर आँसु खस्छन् । भूकम्पमा परिवारका तीन सदस्य गुमाएपछि उनलाई १२ वैशाखको सम्झनाले पीडा खोपिदिन्छ । भूकम्प आउँदा उनको परिवार खाना खाएर पारिवारिक सल्लाहमा व्यस्त थियो । एक्कासि घर हल्लिएपछि भागाभाग भयो । तर, भाग्दाभाग्दै ढोकाले थिचिएर उनकी सासूआमा, ससुरा र देवरको मृत्यु भयो । घटना भएको करिब ६ घन्टापछि उद्धार गर्दा उनीहरू जीवित थिएनन् । श्रीमान् र छोराछोरी पनि घाइते भएका थिए ।

गोठ भत्किँदा चौपाया सबै मरे । लाखौँ क्षति भयो । आर्थिक स्रोत गुमाएसँगै घरबारविहीन भएको ठ्याक्कै एक वर्ष बित्यो । एक वर्षको बीचमा राहत वितरणका लागि विभिन्न संघसंस्था त आए नै तर उनीहरूले केही महिना पुग्ने खाद्यान्न र लत्ताकपडा मात्रै दिए । भूकम्प गएको केही समयसम्म त विभिन्न संघसंस्थाको राहत वितरणमा ओइरो नै लागेको थियो ।

तर, गाउँका टाठाबाठाले मात्रै राहत लिएको उनले गुनासो गरिन् । सरकारले पछिल्लो पटक जाडो याममा न्यानो राहतस्वरूप वितरण गरेको १५ हजार रूपैयाँ मात्र पाइन् उनले । सरकारले घर बनाइदिने समाचार सुनेको महिनौँ बितेको सुनाएकी उनले सरकारले भूकम्पपीडितमाथि खेलबाड गरेको आरोप लगाइन् । ‘आफैँ घर बनाऊँ भन्दा पनि हातमुख जोड््न निकै गाह्रो छ, सरकारले घर बनाइदिन्छ भन्ने सुनेको पनि महिनौँ बितिसक्यो, खै अहिलेसम्म हाम्रोतिर घर बनाउन कुनै पहल भएको छैन ।’ जनप्रहारकर्मीसँग उनले सोधिन्, ‘साँच्चै सरकारले घर कहिले बनाइदिन्छ ?’

भूकम्पले घरबार र आर्थिक स्रोत ध्वस्त बनाएपछि उनका श्रीमान् राम दनुवार राजधानीमा मजदुरी गर्दै छन् । भूकम्पपछि छोराछोरीलाई विद्यालय पठाउनसमेत कठिन भएको सुनाएकी उनले श्रीमान्ले कमाएको पैसाले हातमुख जोडिरहेको बताइन् ।

हाल, उनको परिवार अस्थायी टहरामा बस्दै आएको छ । सिन्धुपाल्चोक जिल्लाकै भोटसिपा गाविसकी चण्डिका नेपालको पीडा पनि काली दनुवारकी भन्दा कम छैन । भूकम्पले सिउँदोको सिन्दूर खोसिएको दिनको सम्झनाले उनलाई भावुक मात्रै बनाउने होइन, श्रीमान् र ५ वर्षीय छोराको सम्झनाले आँखा रसाउँछन् ।

भूकम्पले सिउँदो खाली बनाएको दिनलाई सम्झनै मन नलाग्ने बताएकी उनले घरबार चलाउन हम्मे–हम्मे परेको बताउँछिन् । अहिले घरमा सासू र उनी मात्रै छिन् । सरकारको सहयोगविना घर बनाउन नसकिने बताएकी उनले सरकारलाई चाँडोभन्दा चाँडो घर बनाइदिन आग्रहसमेत गरिन् । चण्डिका र काली त प्रतिनिधि पात्र मात्रै हुन् । १२ वैशाखको आमविनाशकारी महाभूकम्पले सिन्धुपाल्चोकवासीको जस्तै भूकम्प अति प्रभावित १४ जिल्लाका बासिन्दालाई घरबारविहीन बनायो भने कतिको सिन्दूर पुछियो ।

गोरखाको बारपारकलाई केन्द्रबिन्दु बनाई दिउँसो ११ बजेर ५६ मिनेटमा भूकम्प गएपछि कुरूप बनेको जिल्लाको मुहार अहिलेसम्म फेरिएको छैन । केही सीमित क्षेत्रमा गैरसरकारी संस्थाले सामूहिक बस्ती बसालेका छन् । तर, भूकम्पपीडितको मुहार अहिलेसम्म फेरिएको छैन । 

भूकम्पले गाउँ–गाउँ नै ध्वस्त बनाएपछि खण्डहरमा परिणत भएको सिन्धुपाल्चोकस्थित दनुवारबस्ती, भोटसिपा, बाडेगाउँ, मेलम्चीलगायत क्षेत्रको मुहार अहिलेसम्म फेरिएको छैन । एक वर्षको बीचमा सरकारले पटक–पटक क्षतिग्रस्त संरचना पुनर्निर्माणको आश्वसन त दिइयो तर एउटै घर सरकारले बनाइदिएको छैन । भूकम्पपछि खानेपानीको हाहाकार मच्चिएको दनुवारबस्तीको अवस्था अहिले पनि उस्तै छ । भत्किएका विद्यालयको अवस्था पनि उस्तै छ । भूकम्पपछि यहाँका विद्यार्थी टहरामै अध्ययन गर्न बाध्य छन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार सिन्धुपाल्चोकका झन्डै ९५ प्रतिशत घर पूर्णरूपमा क्षति भएको छ भने बाँकी ५ प्रतिशत आंशिक रूपमा क्षति भएको छ । भूकम्प गएको एक वर्षसम्म पनि सिन्धुपाल्चोकवासीको मुहारमा उज्यालो छाउन सकेको छैन । स्थानीय राजनीतिक दल, बुद्धिजीवीको सक्रियतामा राहत वितरणमा केही प्रभावकारी भूमिका निभाए पनि पुनर्निर्माणको काम भने अघि बढ्न सकेको छैन । सिन्धुपाल्चोकका हजारौँ भूकम्पपीडित उज्यालो दिनको प्रतीक्षामा छन् ।

सरकारले पुनर्निर्माण कार्यमा ढिलाइ गर्दा हजारौँ भूकम्पपीडित टहरामा कष्टपूर्ण रात बिताउन बाध्य छन् । पुनर्निर्माणका लागि सरकारले ढिलाइ गरेपछि यहाँस्थित माझीगाउँका भूकम्पपीडितले भने ज्याला मजदुरी गरेर घर ठड्याइएका छन् ।

Post a Comment

0 Comments