Subscribe Us

सर्टगनसहित पक्राउ परे डीएसपीलाई फसाउने गुण्डाका नाइके(सिंहबाट बरामद गरिएका सामानसहित)


 काठमाडौं, २४ चैत । गुन्डा नाइके विश्वक्रान्ति सिंहलाई विभिन्न हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका गुण्डा नाइके सिंहलाई ललितपुर प्रहरी परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा ललितपुरका प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंह लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको र कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी गराए ।

हेटौंडा घर भएका सिंह गुण्डागर्दी, फिरौती, हातहतियार तथा खरखजानाका साथै ठेक्कापट्टाहरुबाट असुली गर्ने, ब्यबसायीहरुलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिशन लिने, ग्याङ्ग फाईटमा संलग्न हुने, लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीको भनाई छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका सिंहले ललितपुर प्रहरीका तत्कालिन प्रवक्ता डीएसपी दयानिधी ज्ञवालीसहितका प्रहरीलाई घुस दिएर फसाएका थिए ।

बुधबार पक्राउ परेका सिंहको कोठामा खानतलासी लिँदा १ नाल सर्टगन, २८ राउन्ड गोली, १०६३६ नम्बरको ३७५ बोरको १ नाले राईफल नाल १, १३० राउण्ड गोली, खैरो हिरोइन जस्तो धुलो पदार्थका पाकेटहरु, यूयान लेखिएको १०० दरका २ थान चाईनिज नोट, यूयान लेखिएका ५०, २०, १० र १ दरको १–१ थान चाइनिज नोट, सेतो प्लाष्टिकको बट्टाभित्र राखिएको एक थान सी हर्स, २ थान राहदानी, २ थान तमसुक र एक थान कोर्रा फेला परेको ललितपुर प्रहरी प्रवक्ता किशनसिंह थापाले बताए । 

Post a Comment

0 Comments