Subscribe Us

सशस्त्रका कामु आईजीपी नेपाली सेनाका भगौडा,
आईजीपी नियुक्ति गर्न सरकार हच्कियो

मदन भण्डारी ,काठमाडौं, वैशाख ११
नागरिकता र मानवअधिकार उल्लङ्घन लगायतका विषयमा विवादमा तानिँदै आएका सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक दुर्ज कुमार राई पुनः अर्को  विवादमा तानिएका छन् ।

प्राप्त तथ्य एवं लिखित प्रमाणअनुसार सशस्त्र प्रहरी बलमा कामु आईजीपी पदमा कार्यरत राई नेपाली सेनाको भगौडा रहेको खुल्न आएको हो । 

नेपाली सेनाको रेकर्डअनुसार कामु आईजीपी राई सेनाको भगौडा रहेको खुलेपछि पछिल्लो समय उनलार्ई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गर्न सरकार समेत हच्किएको स्रोतको दाबी छ ।   

दुर्जधन वान्तवा राईको नाममा जन्ममिति २०१८ साल मंसिर १ गते दाबी गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०३९ साल चैत १५ मा १९३२÷५९९९ नम्बरको नागरिकता लिएको र २०५५ साल माघ ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा नाम परिवर्तन गरेर दुर्जकुमार राई कायम गरी १९३२÷५९९९÷४६७४ नम्बरको नागरिकता लिएको विवादमा समेत उनी मुछिएका थिए । 


नेपाली सेनाको भगौडा रेकर्डमा राईको नाम रहे पनि अनेक जालझेल गरेर नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा २०४३ साल फागुन ३ गतेदेखि सेवा प्रवेश गरेका थिए । नेपाल प्रहरीमा कार्यरत रहँदा कहिले विमानस्थलको सुन तस्करीकाण्ड त कहिले आफ्नो पदीय दायित्व बिर्सेर आफूलार्ई प्रदत्त अख्तियारीको दुरुपयोग गर्दै मिटरब्याजका नाइकेको रुपमा परिचित महेश बहादुर सिंहलाई हत्कडी बेचेको विवादमा समेत परेका उनी २०६२÷०६३ को जनआन्दोलनका दोषी समेत हुन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गर्न गत पुस २ गते  सरकारलाई सिफारिस गरेपश्चात् मन्त्रिपरिषद्को बैठकले गत पुस ३ गतेदेखि एआईजीको वरीयतामा दोस्रो नम्बरमा रहेका राईलाई सशस्त्र प्रहरी बलको कायममुकायम आईजीपीमा नियुक्त गरेको थियो । उनलार्ई कायममुकायम आईजीपीको जिम्मेवारी दिने विषयमा त्यसबेला गृहमन्त्री शक्ति बहादुर बस्नेत र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मतभिन्नता देखिएको थियो । 

त्यसबेला गृहमन्त्री बस्नेतले तत्कालीन एआईजी राई २०६२÷०६३ को जनआन्दोलनका दोषी रहेको तथा विभिन्न विवादमा परेको कारण देखाउँदै वरीयतामा एक नम्बरमा रहेका एआईजी जीवन कुमार थापा वा तेस्रो नम्बरमा रहेका एआईजी डाक्टर कृष्ण कुमार तामाङलाई कामु आईजीपीको जिम्मेवारी दिन उपयुक्त हुने प्रस्ताव गरेको भए पनि गत पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको विशेष चाहनामा राईलार्ई कामु आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 सरकारले राईलाई कामु आईजीपीको जिम्मेवारी दिएको चार महिना पुग्दा समेत उनलाई आईजीपी नियुक्ति गर्ने विषयमा पछिल्लो समय सरकार नै दोधारमा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार राईलार्ई कामु आईजीपीको जिम्मेवारी दिलाउने प्रधानमन्त्री ओलीले राईको विगत थाहा पाएपछि उनलाई आईजीपी नियुक्त गर्न केही हच्किएका छन् । 

नेपाली सेनाको मुख्यालय सूत्रबाट प्राप्त कागजातअनुसार सशस्त्र प्रहरी बलका कामु आईजीपी दुर्ज कुमार राई २०३७ साल चैत १ गते तत्कालीन शाही नेपाली सेनाको श्रीनाथ गणमा ‘दुर्जधन वान्तवा राई’को नामले सैनिक जवान पदमा भर्ना भएका थिए । भर्ना हुँदा राईले अन्नपूर्ण गाविस ८ भोजपुर स्थायी ठेगानासहितको १९३२÷५९९९ नम्बरको जन्ममिति २०१८ मंसिर १ उल्लेख गरिएको नागरिकताको प्रतिलिपि पेस गरेको देखिन्छ । प्राप्त विवरणअनुसार उनी १९ वर्षको उमेरमा तत्कालीन शाही नेपाली सेनाको जवान पदमा सेवा प्रवेश गरेको र २०३७ साल चैत १ देखि २०४० साल असोज महिनाको १५ गतेसम्म करिब अढाई वर्ष काम गरेको स्पष्ट हुन्छ ।   

नेपाली सेनाको रेकर्डअनुसार सेनामा कार्यरत रहँदा कामु आईजीपी राईको व्यक्तिगत नम्बर २१८१६ र सैन्य नम्बर २१८८५५, बाजेको नाम जयबहादुर राई र बाबुको नाम रणबहादुर राई उल्लेख छ । २०४० साल असोज १५ देखि सेनाको जवानबाट गैरहाजिर रहेका राईलाई तत्कालीन शाही नेपाली सेनाको श्रीनाथ गणले सैनिक मुख्यालय जंगीअड्डालाई  मिति २०४० कात्तिक १५ गते ७०९१÷ए÷१००४०÷४१÷७ नम्बरको पत्रसहित उनलार्ई भगौडाको सूचीमा दर्ज गरेर दरबन्दी खाली गर्न सिफारिस गरेको थियो । अर्कोतर्फ कामु आईजीपी राईको जन्ममितिको विषयमा विवाद उत्पन्न भएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मिति २०६० मंसिर २३ र पुस ९ मा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरलाई जन्ममिति खुलार्ई पठाइदिन गरेको अनुरोधमा परीक्षा नियन्त्रण कार्यालयले २०६० पुस ९ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई जवाफ दिँदै कार्यालयको रेकर्डमा राईको जन्ममिति केरमेट गरिएको उल्लेख गरेको छ ।  

उता २०४३ फागुन ३ गते नेपाल प्रहरीका हालका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ब्याचसँगै नेपाल प्रहरीको इन्स्पेक्टर पदमा सेवा प्रवेश गरेका राईको नागरिकताको जन्ममिति हेर्दा इन्स्पेक्टरमा सेवा प्रवेश गर्दा उनको उमेर २५ वर्ष नाघिसकेको थियो । नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गर्दा २५ वर्ष तीन महिना उमेर भइसकेका राईलाई नेपाल प्रहरीको तत्कालीन नेतृत्वले केही महिनाअगाडि भलिबल खेलाडीको रुपमा प्रहरी जवान पदमा गोप्य नियुक्ति दिएको थियो । 

भलिबल खेलाडीको रुपमा विभागीय कर्मचारी भई नागरिकतामा किर्ते तथा जालसाजी गरेर उनी नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको जानकारहरु बताउँछन् । नेपाली सेनाको जवानमा अढाइ वर्ष काम गरेर भागेको भनी नेपाली सेनाको भगौडामा नाम दर्ज भएका राई, २०४० सालदेखि २०४३ सालसम्म करिब तीन वर्ष भूमिगत भएर नेपाल प्रहरीको भलिबल खेलाडी (प्रहरी जवान)बाट इन्स्पेक्टर हुँदै सशस्त्र प्रहरी बलको कामु आईजीपी हुँदा समेत उनको भगौडा रेकर्ड सम्बन्धमा नेपाली सेना बेखबरजस्तै देखिएको छ ।            

Post a Comment

0 Comments