Subscribe Us

डरलाग्दो घेरामा ओली ,
बाहिर आलोचित, भित्र असुरक्षित

काठमाडौं । निकट छिमेकी भारतसँग चिसो सम्बन्ध बनाएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार र सिंहदरबारभित्रै डरलाग्दो घेरामा परेका छन् । चीनसँग बलियो सम्बन्ध बनाएका कारणमात्र होइन, देशकै गोप्य सूचना प्रधानमन्त्री कार्यालयबाट चुहावट हुँदा ओली संकटको मझेरीमा उभिएका हुन् । 

 अहिलेसम्मका प्रधानमन्त्रीहरुभन्दा ज्यादा सल्लाहकार सचिवालय सदस्य राखेर धेरैलाई सुविधा दिन खोज्दा ओली सोही घेराबाट असुरक्षित भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीका राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि सचिवालयका सदस्य सल्लाहकारहरु विभिन्न विदेशी जासुस संगठनहरुसँग नजिक भएका कारणले ओली असुरक्षित छन् । 

 प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारलाई सुरक्षाको चिन्ता छैन, राष्ट्रिय अनुसन्धानका अधिकारी सूचना विक्रि गर्ने र प्रधानमन्त्रीको सचिवालयका सदस्य सूचना चुहावटमा सक्रिय भएपछि ओली सरकार भित्रै असुरक्षित छ

कटु आलोचना गर्ने, व्यंग्यात्मक अभिव्यक्ति दिएको अभियोग लागिरहने ओली राजनीतिक रुपमा बाहिर जति आलोचित छन्, उनको ‘किचेन क्याविनेट’ भित्रै उनी त्यति नै असुरक्षित छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका अनेरास्ववियुका नेता रमेश भट्टराइदेखि लिएर उनका सुरक्षा सल्लाहकार पूर्व जर्नेल प्रकाशबहादुर बस्नेतलगायतको व्यवाहारका कारण उनी असुरक्षित भएका हुन् । बस्नेत शाही सरकारको पालादेखिका विवादीत जर्नेल हुन् । स्रोतहरुका अनुसार प्रधानमन्त्री अ‍ोलीको सुरक्षा सल्लाहकारमा सुटुक्क नियुक्ति लिएका उनी सरकारका बारेमा भन्दापनि व्यक्तिगत स्वार्थका लागि बढि लालयित छन् । 

उनले सरकारी सेवाको दुरुपयोग गर्ने गरेको स्रोतहरुको दाबी छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षा मामिलामा उनले अहिलेसम्म कुनै खास काम गर्न सकेका छैनन् भने विदेशी शक्तिहरुसँग बढि झुकाव राखेका कारण प्रधानमन्त्री कमजोर बनाउने खेलमा उनको सक्रियता बलियो छ । उनलाई सचिवालयका भट्टराई तथा राष्ट्रिय अनुसन्धान आयोगका एक अधिकारीले साथ दिने गरेका छन् । ‘प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारलाई सुरक्षाको चिन्ता छैन, राष्ट्रिय अनुसन्धानका अधिकारी सूचना विक्रि गर्ने र प्रधानमन्त्रीको सचिवालयका सदस्य सूचना चुहावटमा सक्रिय भएपछि ओली सरकार भित्रै असुरक्षित छ’, स्रोतले भन्यो । 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि नेपाल–भारत सम्बन्धमा नयाँ प्रकारको सांकेतिक विरोधाभाष सुरु भएको थियो । ओलीको आन्तरिक योजनाहरु बन्न नपाउँदै भत्कनुमा पनि उनको संयन्त्र कमजोर भएको बुझिएको छ । चीनले नेपालको सहयोगका लागि हात बढाएको अवस्थाबारेमा पनि प्रधानमन्त्री सचिवालयबाट सूचना भारतीय निकायमा चाँडो पुग्ने गरेको थियो । जसमा पेट्रोलियमको सम्झौता नहुनुको मुख्य कारण पनि भारतले प्रधानमन्त्री निवासमा दिएको चेतावनीयुक्त गोप्य सन्देशलाई मानिएको छ । 

एकातिर प्रधानमन्त्रीका सचिवालयमा रहेका सदस्यहरुले काम गर्ने मौका नपाउँदा रोष छ भने त्यहि सचिवालयमा बसेर यीनै मान्छेहरुले मोज गरिरहेको खुलेको छ । विद्यार्थी राजनीतिमा हुँदा केही पनि गर्न नसकेका भट्टराई प्रधानमन्त्रीको सचिवालयमा पुग्नासाथ सरकारी गाडीको दुरुपयोग गरी विभिन्न तारे होटलसम्म भ्याउन थालेका छन् । ‘चरम दुरुपयोग भएको छ, प्रधानमन्त्रीलाई एउटा घेरामा राख्ने कोशिश गरिएको छ;’ स्रोतले भन्यो । 

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि ओली सरकारविरुद्ध बलियो बन्नुको कारण पनि उनको सचिवालय कमजोर रहेको बताउँछन्, ओलीका शुभचिन्तकहरु । ‘प्रधानमन्त्री कार्यालयमा को आउँछन्, कसरी भेट्छन् के सम्झौताको खाका तयार हुन्छ भन्ने सूचनासम्म तुरुन्त बाहिर जान्छ, खासगरी भारतीय अधिकारीहरुले तुरुन्तै यसबारेमा सोध्छन् ? के छ संयन्त्र ?’, उच्च स्रोतले भन्यो,‘यहि कारणले अहिले सरकारले भनेजस्तो काम गर्न सकेको छैन ।’

भारतमा एउटा संयन्त्र छ, प्रधानमन्त्रीको वरीपरि । त्यहाँका विदेश सचिव र विदेश मन्त्रालय बलियो हुन्छ, राष्ट्रिय सुरक्षा सल्लाहकार बलिया हुन्छन्, मुलुकको हितपरक कार्यका लागि । तर, नेपालमा न विदेश नीति छ, न विदेश मन्त्रालय बलियो छ । राज्यको गोप्य सूचनाको जानकारी राखी राष्ट्र चनाखो बनाउने राष्ट्रिय अनुसन्धानका अधिकारीहरु विदेशी भरियाको जागिर खाने, प्रधानमन्त्रीको सल्लाहकार सचिवालयको व्यक्ति सूचना चुहावट गर्ने प्रवित्तिमा लागेका कारण ओली कमजोर बन्दै गएको समाचार आज प्रकाशित जनप्रहार साप्ताहिकले छापेको छ । 

Post a Comment

0 Comments