Subscribe Us

बार अध्यक्षमा केसीको अग्रता

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसी अग्र स्थानमा छन् ।

 निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गरी अग्रता कायम गरेका हुन ।  केसीका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।

अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गरेका छन् । बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको छ । महोत्तरी, सुर्खेत, दाङ (घोराही)  दाङ, तुल्सीपुर, बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो । त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो ।

आज बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो । निर्वाचनको मतपेटिका काठमाडौंसम्म ल्याई पु¥याउन केही समय लागेकाले मतगणना कार्यमा ढिलाइ भएको हो ।

सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार÷पाँच दिन लाग्ने अनुमान गरिएको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।

काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । रासस

Post a Comment

0 Comments