Subscribe Us

इन्धन : चाहिएजति आउँछ तर किन सहजै पाइँदैन ?

काठमाडौं। भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ । अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात पनि भएको छ । तर, बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको सहज आपूर्ति छैन ।

तुलनात्मक रूपमा पेट्रोल र मट्टीतेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मागअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए । ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर, डिजेल अभाव छ । पेट्रोल र हवाई इन्धनमा समस्या छैन ।’

petrol

इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटेल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ । 

‘व्यावसायिक उपभोक्ताले फेरि पनि अभाव हुने आशंकामा चाहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने । उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ । तर, अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ ।

आपूर्ति व्यवस्थापनमा कमजोरी : पूर्वसचिव
नाकाबन्दी खुलेपछि पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा मन्त्रालयको कमजोरी भएको पूर्ववाणिज्य तथा आपूर्तिसचिव पुरुषोत्तम सुवेदी बताउँछन् । 

नाकाबन्दी खुलेपछि इन्धन लोडिङ बढाउन आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय समकक्षीसँग संवाद गरेर पहल गर्न नसकेको उनको भनाइ छ ।

‘नाका खुलेपछि इन्धन लोडिङ बढाउन आपूर्तिमन्त्रीले भारतीय समकक्षीसँग संवादका माध्यमबाट पहल गरेको देखिनुपर्ने हो,’ उनले भने, ‘तर, त्यसो हुन सकेन । आपूर्ति व्यवस्थापन गर्ने सवालमा मन्त्रालयको कमजोरी देखिन्छ ।’

Post a Comment

0 Comments