Subscribe Us

सर्वेन्द्र समय

रोशन पाण्डे . 
कुनै पनि संगठनको समय त्यतिबेला बलियो हुन्छ जतिबेला नामले होइन, कामले महव्य पाउँछ । यतिबेला नेपाल प्रहरीभित्र एउटा समय उदय भएको छ । त्यो हो, सर्वेन्द्र समय । 

प्रहरी संगठनभित्र रोलमोडलका रूपमा चिनिन थालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आमजनमासमा चासो र चर्चामा छन् । सर्वेन्द्र नामले होइन, कामले चर्चाको थुप्रोमा उभिएका हुन् । 

प्रहरीकोे शुद्धीकरण पनि आफैंबाट सुरु गर्न उद्यत खनाल पछिल्लोे समय आमजनता र प्रहरीभित्रै आशाका किरण बन्न पुगेका छन् । गलत धन्दामा लागेका एक डिएसपीलाई नै एसएसपी खनालले फुुली थुतेर ‘डिमोसन’ गरी इन्स्पेक्टर बनाएका थिए । ती डिमोसनमा परेका अधिकारीले राजीनामा गरे ।



प्रहरीभित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रूपमा परिचित खनाल कुशल नेतृत्व लिन सक्ने व्यक्ति हुन् । अपराध महाशाखामा होस् वा तराईका विभिन्न जिल्ला तथा अञ्चलमा प्रमुखको जिम्मेवारी सम्हाल्दा खनालले संगठित रूपमा हुने अपराध रोक्न चालेको कदम अहिले पनि चर्चाको शिखरमा छ । भारतीय प्रहरीका लागि समेत टाउको दुखाइको विषय बनेका सीमा क्षेत्रका मोस्ट वान्टेड अपराधीलार्ई एसएसपी खनालले सातो लिएका थिए ।

तराईका जिल्लामा जालोका रूपमा फैलिएका बालविवाह र दाइजोप्रथा रोक्न पनि खनालले महत्वपूर्ण भूूमिका खेलेका थिए । पहिलो संविधान सभाको चुनाव ०६४, तथा गत वर्ष काठमाडौंमा भएको सार्क सम्मेलन सफल पार्न सुरक्षाको जिम्मेवारी पाएका खनालले आफ्नो भूमिका कुुशलतासाथ निभाए । 

विदेशमा भएका तालिममा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन, देशकै शिर उच्च राखेका थिए । पछिल्लो पटक इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृत सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित भएका थिए । हाल महानगरीय अपराध महाशाखामा कार्यरत एसएसपी खनाल दृढ र बहादुर प्रहरी अधिकारीका रूपमा परिचित छन् । 

महाशाखामा सरुवा भएलगत्तै राजनीतिक आडमा हुने संगठित गुन्डागर्दीको जालो च्यात्न सुरु गरेका खनालले मधेसमा हुँदा सशस्त्र समूहलाई निशस्त्र पार्ने काम गरे । खनालको सरुवासँगै उपत्यकामा गुन्डागर्दी, कालोधन्दा संगठित रूपमा हुने ठगी, मानव तस्करी, ब्ल्याकमेलिङ गरी रातारात करोडपति हुनेको अहिले सातो उडेको छ । केही मानव तस्करी उनको सरुवा गर्ने शक्ति केन्द्रमा लबिङ गर्न थालेका छन् । 


अधिकांश गुन्डानाइके तथा तिनका सदस्य गुमनाम त कोही देशबाटै पलायन हुन थालेका छन् । राजधानीका कुख्यात गुन्डा नाइके कुमार श्रेष्ठ उर्पm घैंटेको इन्काउन्टरदेखि फुटबलको म्याच फिक्सिङमा राष्ट्रिय खेलाडी पक्राउ, इन्धन ठगी प्रकरणमा सहसचिव पक्राउ गर्न हिम्मत राख्ने खनाल अन्य प्रहरीको प्रेरणाका स्रोतसमेत बनेका छन् । उनको काम देखेर भ्रष्टको होस छैन भने समकालीन भने जिब्रो टोक्छन् । 
 
जनताले तिरेकोे राजस्वबाट तलब खाएर देशमाथि गद्दारी गर्नेलाई पूूजा गर्न नसकिने भनाइ एसएसपी खनालको छ । प्रमाण पाएसम्म कसैलाई नछाड्ने दाबी उनको छ । पेट्रोल पम्पमा रिमोट जडान गरी सिन्डिकेट तवरबाटै कम तेल दिएर उपभोक्ता ठगी गर्ने संगठित जालो पनि एसएसपी खनालले तोडे । ललितपुर बडिखेलको हत्याकाण्ड, बैंकको नक्कली एटिएम काण्ड, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दा, युनिटीका सञ्चालक पक्राउजस्ता आमजनमानसमा चासोको विषय बनेका अपराधको सफल अनुसन्धान पनि खनालले गरे । केही बद्नाम प्रहरीका कारण कहिलेकाहीँ विवादमा आउने नेपाल प्रहरी खनाल, एसएसपी रमेश खरेल, विक्रमसिंह थापाजस्ता प्रहरीले संगठनको इज्जत धानेका छन् । खनाल भन्छन्,‘गद्दार, भ्रष्ट र जनतालाई दुःख दिनेको गुलामी गर्न सकिँदैन, पूूजा गर्न सकिँदैन ।’


भारतको विहारस्थित पूर्वी र पश्चिम चम्पारणमा ३६ जनाको हत्या अभियोग लागेका फरार अपराधी बब्लु दुबेलाई नेपालमा पक्राउ गरेर एसएसपी खनालले अन्तर्राष्टिय अपराधीको सुरक्षित स्थल नेपाल नभएको सूूचना विश्वबजारमा प्रवाह गरे । तत्कालीन समयमा नारायणी अञ्चलमा कार्यरत खनालले काठमाडौंको सीतापाइलाबाट दुबेलाई नियन्त्रणमा लिएका थिए । कर्तव्य ज्यान, लुटपाट र बैंक डकैतीमा संलग्न बिहारका मोस्ट वान्टेड अपराधी दुबे भारतीय प्रहरीको लागि टाउको दुखाएको विषय बनेका थिए । दुबेलाई सीतापाइलाको होम हाउजिङमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । दुबेको सुराकी दिनेलाई बिहार प्रहरीले २ लाख भारु पुरस्कारसमेत तोकेको थियो । 

बिहारका मुख्यमन्त्री नितिशकुमारले देख्नासाथ गोली हान्ने आदेशसमेत दिएका दुबेलाई एसएसपी खनालले पक्राउ गरेपछि मोतीहारीका एसपी विनयकुमारसहित भारतीय प्रहरीको टोलीले अञ्चल प्रहरी कार्यालय नारायणीमै आएर एसएसपी खनाललाई बधाई दिएका थिए । हत्या, अपहरण, लागुऔषध कारोबार, फिरौती, तस्करी र कुख्यात अपराधीको चलखेलको अखडा बनेको वीरगन्जलगायत जिल्ला एसएसपी खनालको कार्यकालमा शान्त रहे । उनी अपराधका र अपराधीका ‘काल’का रूपमा स्थापित थिए । 

तत्कालीन समयमा एसएसपी खनालले आपराधिक गतिविधिविरुद्ध विशेष अभियान थालेपछि भारतीय सीमासँग जोडिएका मध्यतराईका बारा, पर्सा र रौतहटका उद्योगी, व्यवसायी, राजनीतिकर्मी, तथा सरकारी जागिरेलाई निशाना बनाउँदै गतिविधि बढाएका आपराधिक गिरोहमाथि प्रहरीले निगरानी बढाएपछि अपराध घटेको व्यापारी बताउँछन् । आपराधिक क्रियाकलापमा लागेका र फरार भएकालाई पक्राउ गर्न खनालले वीरगन्ज अञ्चल कार्यालयमा ‘क्राइम कन्ट्रोल स्पेसल फोर्स’ नै बनाएका थिए । जसकारण आपराधिक गिरोहका नाइके र तिनका सदस्य धमाधम पक्राउ परेका थिए ।

 बाराको गञ्जभवानीपुरमा–४ जना माओवादीको हत्या गरी भारत अदापुरमा बस्दै आएका भूमिगत संगठनका सैन्य कमान्डर अग्नि भनिने सुनील जैसवाल, भारतको पटनामा बस्दै आएका १३ हत्याका आरोपी धनुषा लक्ष्मीपुरका बगेवा–७ का राजन मुक्ती भनिने रञ्जितकुमार झा, पर्साको लिपनीविर्ता गाविस–८ का चौहान सिंह र पर्साका सहायक प्रजिअमाथि गोली हान्ने भूमिगत संगठनका नाइके बारा सुखीपथरा गाविस–८ का भुलावनकुमार पासवान पनि पक्राउ परिसकेका छन् । जसको जस सर्वेन्द्रलाई नै जान्छ ।

६ असोज ०७० मा लामो समयदेखि आपराधिक कृयाकलापमा लागेका सशस्त्र भूमिगत समूहका जिल्ला सैन्य कमान्डर चौहान सिंह भनिने रवीन्द्र पटेल पक्राउ परेका थिए । जनतान्त्रिक मुक्ति मोर्चा गोइत र ज्वाला समूहका लागि काम गरेका चौहानले ७ भदौ, ०६४ मा कांग्रेस कार्यकर्ता फुलचन्द शाह र ३ असोज ०६५ मा जिप्रका पर्साका अधिकृत मोहन मैनालीको हत्या गरेका थिए । यसैगरी, खनालको कार्यकालमा जाली नोटका कारोबारीको पनि निद्रा हरायो । बिहार किशनगन्ज जिल्लाको मोहमरी निवासी असराफुल सेख र मोहम्द जहरूद्दीन एक लाख ७४ हजार भारतीय जाली नोटसहित पक्राउ परे । 

०७० को सुरुमै इनर्वाका वहिद अन्सारी पनि नक्कली नेपाली र भारु नोटसहित पक्राउ परे । त्यसैगरी, अपहरणमा परेका वीरगन्ज–१३ का ८ वर्षीय श्लोक अग्रवाल र कलैया–५ का गोपाल अग्रवालका नाबालक छोरा विनोद अधिकारीलाई विशेष अप्रेसन चलाएर अपहरणमुक्त गराई विश्वास कमाएका थिए, खनालले । एसएसपी खनाल नेतृत्वकै टोलीले बाराको निजगढबाट ३ जनाको अपहरणमा संलग्न रामबहादुर माझीसहित ६ जना अपहरणकारीलाई पक्राउ ग¥यो । खनालले सीमामा मादक पदार्थ तस्करविरुद्ध अभियान चलाएका थिए । 

वीरगन्जमा कैयौं अप्रेसन सफल गरेका खनालले अपराध महाशाखाको जिम्मेवारी सम्हालेसँगै राजधानीमा संगठित रूपमा हुने अपराधमा न्यून हँुुदै आएको छ । एसएसपी खनालको जहाँ पोस्टिङ हुन्छ, त्यहाँ आपराधिक क्रियाकलापको नियन्त्रणमा उनको प्रशंसा सुनेको र देखेको भन्दै अभिनेता राजेश हमाललेसमेत एसएसपी खनाललाई सम्मान गरेका छन् । 


राजधानीमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कपुरधारा टोल सुधार समितिले एसएसपी खनाललाई गत महिना सम्मान कार्यक्रम आयोजना गरेको थियो । ८ महिनाअगाडि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख रहेका खनालले गुन्डागर्दी नियन्त्रण,पेट्रोल पम्पमा हुँदै आएको संथागत ठगी, म्याच फिक्सिङको जरो उखेल्नेदेखि एजुकेसन कन्सलटेन्सीमा हुँदै आइरहेको विकृतिविरुद्ध अपरेसन चलाएर पछिल्लो समय चर्चा कमाएका छन् । उनको अठोट नै अपराध नियन्त्रण हो । भन्छन्,‘संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यका रूपमा पूरा गर्न लागिपरेको हुँ । राज्यले दिएको अधिकार नै मेरो शक्ति हो ।’

उनको काम हेर्दा फिल्मको कथाजस्तो लाग्छ । तर, एसएसपी खनालको उदयले राष्ट्रको गौरव मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि बढेको छ । खासगरी प्रहरी संगठनलाई राजनीतिक आवरणमा हुने अपराधले थिचोमिचो गरेको ओपन सेक्रेट विषयबीच त्यसलाई चिर्दै अघि बढेका छन्, एसएसपी खनाल । उनी संगठनमा आबद्ध हुन चाहने युवाका लागि ‘आइकन’ बनेका छन् । भर्सटाइल मासिकबाट

Post a Comment

0 Comments