Subscribe Us

“तोकिएकै समयमा अधिवेशन हुन्छ”,
सांसद एवं तरुण दलका अध्यक्ष उदय शमशेर राणा

नेपाली कांग्रेसका नेता उदयशंमशेर राणा तरुण दलका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । पछिल्लो समय तरुण दलको अधिवेशन हुन सकिरहेको छैन । पार्टीको १३ औं महाधिवेशनले शेरबहादुर देउवाको नयाँ नेतृत्व पाएसँगै भ्रातृ संस्थाको अधिवेशनका लागि निर्देशन दिइसकेका छन् । 

आगामी तरुण दलको अधिवेशन र वर्तमान नेपाली कांग्रेसको राजनीतिबारे सांसद  तथा तरुण दल अध्यक्ष राणासँग जनप्रहारले गरेको कुराकानीको सम्पादित अंश ।

तरुण दलको महाधिवेशनको तयारी कस्तो हुँदै छ ?
 
हामीले भदौ अन्तिम साता महाधिवेशन गर्ने गरी मिति तय गरिसकेका छौं । अहिले देशभर स्थानीय अधिवेशनहरू भइरहेका छन् । आजका दिनसम्म करिब ३० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको अधिवेशन सम्पन्न गर्न हामीले जेठ १५ गतेको समय निर्धारण गरेका छौं ।
 
तोकिएकै समयमा महाधिवेशन हुन्छ त ?
 
महाधिवेशन गर्न कुनै समस्या छैन, हामीलाई  । हामी तोकिएको समयमा नै महाधिवेशन गर्छाै । अहिले स्थानीय अधिवेशनहरू भइरहेका छन् भने केन्द्रमा हामी महाधिवशेनको तयारीमा जुटिसकेका छौं । तरुण दलभित्र महाधिवेशन गराउन कुनै समस्या छैन ।
 
तरुण दलको महाधिवेशन नभएको पनि लामो समय भइसकेको छ । अब पनि महाधिवेशन हुन्छ भनेर कसरी विश्वास गर्ने ?
 
तरुण दल विगतमा पनि महाधिवेशन गराउन सक्षम थियो र आज पनि सक्षम छ तर महाधिवेशन हामीले मात्र चाहेर हुँदैन । यसका लागि पार्टीको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विगतमा पार्टीबाट हामीले सहयोग पाएनाँै । पार्टी नेतृत्वले नै महाधिवेशन गराउनेतर्फ कुनै चासो दिएको हामीले पाएनौँ र हामीलाई पनि महाधिवेशन गराउन पार्टीले खेल्नुपर्ने सहयोगी भूमिका खेलिएन । त्यसकारण हामीले चाहेर पनि महाधिवेशन गराउन सकेनौँ । तर, अहिले हामीलाई कुनै समस्या छैन । पार्टी नेतृत्वले सहयोग गरेको छ । पार्टी नेतृत्व महाधिवेशन जतिसक्दो चाँडो हुनुपर्छ भन्ने ध्याउन्नमा रहेकाले तरुण दलले तोकिएको समयमा नै महाधिवेशन सम्पन्न गर्छ ।
 
लामो समयपछि महाधिवेशन हुँदै छ, सहज त छैन होला नि ?
 
स्वाभाविक रूपमा नेतृत्वका लागि आकांक्षीहरू धेरै छन् । विधानअनुसार समयमै महाधिवेशन भएको भए नेतृत्वमा धेरै आकांक्षी हुँदैन थिए । तर, लोकतान्त्रिक अभ्यास हो महाधिवेशन । हामी सकेसम्म त केन्द्रीय नेतृत्व सहमतिमै आओस् भन्ने चाहन्छौँ तर त्यो कति सम्भव होला । तर, त्यस्तो हुन सकेन भने पनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व
छनोट हुन्छ ।
 
प्रमुख भातृ संस्थाहरूको महाधिवेशन नहुनुको खास कारण के हो ?
 
नेपाल तरुण दल, नेविसंघ, महिला संघलगायत आधा दर्जन बढी कांग्रेसको भातृसंस्थाहरूको अधिवेशन नभएको आठ वर्षभन्दा बढी भइसकेको छ । विगतको पार्टी नेतृत्वले भातृसंस्थाहरूको भूमिका सडकमा आन्दोलन गर्न र भिड जम्मा गर्न मात्र प्रयोग गरे जस्तो देखियो । जसले गर्दा भातृ संस्थाहरूको अधिवेशन गराउनेतर्फ कुनै चासो नै देखाएन । यो विडम्बनाको कुरा हो । समयमा नै अधिवेशन नहुँदा यसले संगठनमा मात्र नभएर सिंगो पार्टीमा नै ठूलो असर पु¥याएको छ । एकातिर नेतृत्व हस्तान्तरणमा समस्या देखियो भने नियमित अधिवेशन नहुँदा संगठन जाम भएको अवस्था छ । यस्तै आन्तरिक लोकतन्त्र कमजोर बन्ने चिन्तासमेत उत्पन्न गराएको छ । जबसम्म हामी आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सक्दैनौँ तबससम्म समग्र लोकतन्त्र बलियो हुन सक्दैन ।
 
नेतृत्वले यो कुरा नबुझेको होला र ?
 
नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएर पनि हाम्रा भातृ संस्थाहरू अधिवेशन हुन नसकेको अवस्था छ । पार्टीभित्रै लोकतन्त्र बत्ती बालेर खोज्नुपर्ने स्थिति थियो तर अब यो स्थिति अन्त हुने विश्वास हामीले लिएका छौँ । हामीले लोकतन्त्र सिकाएको र लोकतान्त्रिक बनाएका कम्युनिस्टलगायत दलहरूका भातृ संस्थाहरूको अधिवेशन समयमै हुँदा हामी आफू लज्जित हुनुपर्ने स्थिति थियो तर अब यस्तो हुँदैन भन्नेमा म विश्वस्त छु । 

सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ कार्यसमितिको पहिलो बैठकले नै ६ महिनाभित्र भातृ संस्थाहरूको अधिवेशन गराउने निर्णय गरेको छ । यसले पनि हामीलाई निकै उत्साहित बनाएको छ । जुन प्राथमिकता अहिलेको नेतृत्वले दिएको छ, यस्तो खालको सहयोग हामीले विगतमा नपाएकै कारण तरुण दल जस्तै अन्य भातृ संस्थाहरू अधिवेशनको पर्खाइमा लामो समय बस्नुप¥यो ।  सभापति देउवाले महाधिवेशन समयमा गर्न हामीलाई निरन्तर दवाबसमेत दिइरहनुभएको छ ।
 
पार्टीभित्रको गुट उपगुटको प्रभावले गर्दा पनि भातृ संस्थाहरूको अधिवेशन हुन नसकेको भनिन्छ नि ?
 
तपाईंले संकेत गरेको कुरा पनि आंशिक सत्य हो तर यो नै अधिवेशन हुन नसक्नुको सबै कारण होइन । यसले बीस प्रतिशत प्रभाव पार्ला तर महाधिवेशन नै हुन नसक्नुमा संगठन भित्रको गुटउपगुटको असर होइन । मैले अघि पनि भने कि पार्टीले जब सम्म सहयोगी भूमिका खेल्दैन, अधिवेशन गर्न सहज हुँदैन । विगतमा नेतृत्वले अधिवेशन गराउनै चाहेन । अधिवेशनबाट आफूले भनेको व्यक्ति आउँछ कि आउँदैन भन्ने जोडघटाउले गर्दा सिंगो संगठन कमजोर बनाउने खेल भयो । 

यो उचित होइन । नेतृत्वले यो मेरो मान्छे त्यो उसको मान्छे भनेर विभेद गर्नु नै गलत हो । नेतृत्वले जो आए पनि सबै मेरै मान्छे हुन् भन्नुप¥यो । काम गर्दा कोही कसैसँग नजिक त कोही कसैसँग टाढा हुन सक्छ तर नेतृत्वको नजरमा त सबै समान हुन । यो कुरा नेतृत्वले कहिल्यै बुझेन । जसले गर्दा राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेको खोजी संगठनमा बढी भयो । तर, अहिले त्यो  अवस्था छैन । जो आए पनि केही मतलब छैन । तर, महाधिवेशन भने समयमै हुनुपर्छ भन्ने अहिलेको नेतृत्वको एक मात्र चाहना हो ।
 
तपाईं अहिलेको नेतृत्वसँग निकै नै आशावादी हुनुहुन्छ किन ?
 
तरुण दल जस्तै पार्टीका प्रमुख भातृ संस्थाहरूको अधिवेशन नभएको लामो समय भइसकेको छ । यो कुरा भनिरहनुपर्दैन । म आफै पनि जति सक्यो चाँडो अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न चाहन्छु । मलाई कार्यकाल लम्ब्याएर पदमा बसिरहन मन छैन । मैले अधिवेशनका लागि निरन्तर पहल गर्दा पनि अधिवेशन गराउन सकेन । यसको कारणहरू मैले अघि भनिसकेको छु । तर, अहिलेको नेतृत्व आएसँगै उहाँले (शेबहादुर देउवा) पहिलो बैठकमै भातृ संस्थाहरूको अधिवेशन गराउने प्रस्ताव लैजानुभयो तर ६ महिनाको समय पनि तोकिसक्नुभएको छ । उहाँ भातृसंस्थाहरूलाई समयमै महाधिवेशन गराएर सशक्त, पभावशाली र बलियो पार्टी निर्माणको पक्षमा हुनुहुन्छ भन्ने संकेत हो । त्यसपछि पनि उहाँले म लगायत विभिन्न भातृ संस्थाहरूका प्रमुखलाई बोलाएर महाधिवशेन जसरी पनि गर्न बारम्बार निर्देशन दिँदै आउनुभएको छ । यसकारण म निकै आशावादी छु कि नेतृत्वले हामीलाई महाधिवेशनका लागि पूरा सहयोग गर्नुहुन्छ । यति मात्र होइन कि उहाँ आफै पनि विद्यार्थी राजनीतिबाट आएको नेता हो । नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेको व्यक्ति भएकाले पनि उहाँलाई भातृ संस्थाहरूको महत्व बढी थाहा छ ।
 
दुई महिनाभित्र पार्टी केन्द्रीय कार्यसमिति र विभागहरूको गठन गरिसक्नुपर्ने पार्टी विधानको व्यवस्था कार्यान्वयन होला ?
 
हामी लोकतन्त्रवादीहरू विधानमा विश्वास गर्छाै । व्यक्ति अनुसार संगठन होइन कि विधानअनुसार संगठन चल्नुपर्छ भन्ने मान्यताका हिमायतिहरू हौँ । त्यसकारण विधानको अक्षरस पालना हुनुपर्छ भनेर हामी विगतमा पनि भन्दै आएका थियौँ । तर विडम्बना भन्नुपर्छ पार्टी पछिल्लो एक दशक यता विधानभन्दा व्यक्ति प्रधान भएर सञ्चालित हुँदै आयो । विधानलाई नेतृत्वले आफूअनुकूल ब्याख्या गर्ने प्रवृत्ति व्यापक भयो जसले गर्दा विधान गौण व्यक्ति प्रधान बन्यो कांग्रेसमा । यो नितान्त गलत प्रवृत्ति थियो । 

तर, विगतमा विधानको कार्यान्वयन नहुँदा पनि चुप लागेर बस्नेहरू अहिले विधान कार्यान्वयन भएन भनेर चर्काे स्वरमा चिच्याउनुको पनि औचित्य म देख्दिन । विगतमा उनीहरूलाई विधान नचाहिने अनि अहिले आएर एकाएक विधान सर्वाेपरि हुने कुरा तर्कसंगत छैन । यसो भन्दै गर्दा विगतमा जे भयो त्यही अब पनि हुनुपर्छ भन्ने होइन । पार्टीमा सबैभन्दा बढी विधानको कुरा गर्ने त हामीहरू नै हो । तर, दश बर्ष देखि पार्टीमा जुन खालको भद्रगोलको स्थिति छ, त्यो अन्त्य गर्दै विधानअनुसार पार्टीलाई सञ्चालन गर्न केही समय लाग्छ । यो कुरालाई हामीले नजरअन्दाज गर्नुहुँदैन । त्यसकारण विधान पालना गर्नुपर्छ तर एकाध महिना ढिलो हँुदैमा सबै कुरा सकिन्छ भन्ने कुरा छैन । अहिले केन्द्रीय कार्यसमिति र विभागहरू गठन गर्न केही समय लाग्न सक्छ तर लामो समय हामीले यसमा बिताउनुहुँदैन ।
 
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा तपार्इंको पनि चर्चा छ नि ?
 
मैले महाधिवेशनमा पाएको मत सबैलाई थाहा छ । खुला २५ मा म २७ मा परे । चुनाव प्राविधिक विषय हो । म २५ भित्र अटाउन सकिन । पार्टीले मनोनित गर्ने बारे एउटा क्राइटेरिया बनाओस् र त्यहीअनुसार मनोनीत गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।  म जसरी पनि मनोनीत हुनै पर्छ भनेर मैले कसैलाई दबाब दिएको छैन । पार्टीमा मेरो सक्रियता र भूमिका सबैलाई थाहा नै छ । तपाईंहरू जस्तै साथीहरू, शुभेच्छुकहरूबाट यो चर्चा मैले पनि सुनेको छु ।

Post a Comment

0 Comments