Subscribe Us

काँग्रेसको अग्रसरतामा मधेसको मुद्धा समाधान हुन्छ,
कौसर शाह (व्यवस्थापिका संसद सदस्य नेपाली काँग्रेस


नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसबाट नेविसङ्घको सहयोगीको रुपमा काम गर्नुभएकी कौसर शाह, २०५८ सालमा नेपाली काँग्रेसमा क्रियाशिल रुपमा लाग्नुभएको थियो । 

काठमाडौँ महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य, काठमाडौँ क्षेत्र नं ६ को कोषाध्यक्ष, मुस्लिम सङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै २०६२÷०६३ मा नेपाली काँग्रेसबाट सक्रिय भएर चारपटक हिरासद,  २०६२÷०६३ को  आन्दोलनमा रिले अनसन, २०६३ को समानुपातिक उम्मेदवार बन्नुभएको थियो । 

दोस्रो संविधानसभाको निर्वाचन २०७० को निर्वाचनबाट नेपाली काँग्रेसको मुस्लिम कोटाबाट संविधान सभा सदस्य तथा व्यवस्थापिका संसद सदस्य हुनुभएको थियो । वर्तमान नेपालको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा शाहसँग जनप्रहारले गरेको कुराकानीको सम्पादित अशं ।
   अहिले के मा व्यस्त हुनुुहुन्छ ?
 
अहिले म संसदमा व्यस्त छु । सरकारले ल्याएको नीति कार्यक्रममाथि छलफल चलिरहेको छ । यो पुरा भएर बजेट आउने क्रममा छ त्यसैले फुर्सद कम छ ।
   
 सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो छ ?
 
अहिले आएको नीति तथा कार्यक्रम जनताको इच्छा आकांक्षाभन्दा धेरै माथिको आएको छ । जुन हिसाबको बजेट ल्याउने यो नीति कार्यक्रममा छ यो देश डुबाउने खालको छ यो व्यवहारमा आउलाजस्तो मलाई लाग्दैन । जनताले पनि यो कार्यक्रममाथि विश्वास गरेको देखिँदैन । यो नीति कार्यक्रमले सडक बालबालिकाको बारेमा समेटेको छैन । सडक बालबालिका पनि यो देशका भोलीका कर्णदार हुन् । एचआइभी एड्स, ड्रक्स न्यूनिकरणका लागि कुनै नीति बनेको छैन । एक घर एक रोजगार भनेका छन् तर कति उद्योग सञ्चालन गर्ने कुन कुन गर्ने स्पष्ट आएको छैन । देशमा थुप्रै उद्योगहरु अझैपनि बन्द छन् त्यस विषयमा पनि केही राखिएको छैन । शिखल सेमिनेरो थारुहरुलाई लाग्ने रोग यसको बारेमा पनि बोलेको छैन ।
 
 तपाई नेपाली काँग्रेसको सांसद भएकाले यो नीति कार्यक्रमको विरोध गर्नुभएको त होइन ?
म नेपाली काँग्रेसको तर्फबाट सांसद बनेको हो तर नेपाली जनताको प्रतिनिधित्व गर्दे छु त्यसकारण जनताको हितलाई ध्यानमा राखेर मुलुकको विकास निर्माणलाई ध्यानमा राखेर बोलेको हुँ । नीति कार्यक्रम बनाउनु ठूलो कुरा होइन त्यसलाई कार्यान्वयन गर्नु ठूलो कुरा हो ।
 
नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ कस्तो अनुभव गर्नुभएको छ ?
 
सरकारमा बस्नु नै ठूलो कुरा होइन । सरकार बाहिर नै बसेर जनताको लागि हामी काम गर्दे आएका थियौँ पहिलेपनि र अहिलेपनि गर्दै छौँ । कुनैपनि दल सरकारमा मात्र बसिरहने भन्ने हुँदैन । सरकारमा बसेर राम्रो काम गरेमात्र सरकारमा बसेको औचित्य हुन्छ तर यो सरकारले जनतालाई कुनै राहत दिन सकेको देखिँदैन । एउटा सानो कुरा कालोबजारी र भ्रष्टचार समेत रोक्न सकेको छैन । ग्याँसको अभाव अझैपनि जनतालाई छ । बाहिरबाट प्रशस्त आएपनि यहाँ कालाबजारीले पाइएको छैन ।
 
नेपाली काँग्रेस महाधिवेशनको दुई महिना वितिसक्दा पनि पदाधिकारी चयन भएको छैन त ?
तत्कालिन सभापति सुशील कोइरालाको निधनपनि नेपाली काँग्रेस शोकमा डुब्यो । शोककै घडिमा महाधिवेशन सम्पन्न भयो । महाधिवेशन सम्पन्न भएलगत्तै केन्द्रीय सदस्य थप्ने काम भयो । त्यसको लगत्तै संसदीय दलको निर्वाचन सम्पन्न भयो । सभापतिको विभिन्न कामले गर्दा केही दिन ढिला हुनु स्वभाविक हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइराला केही समय बाहिर हुनुभयो । वरिष्ठ नेता आएपछि छलफल विस्तारै शुरु गरी चयन होला ।
   
नेपाली काँग्रेस गुठउपगुठले आक्रान्त  छ नी ?
 
पार्टीको १३ औँ महाधिवेशनले गुठ र उपगुठको अन्त्य भएको छ । नेपाली काँग्रेभित्र कुनै पनि गुठ उपगुठ हुँदैन । ४०÷६० को भागवण्डापनि हुँदैन । नेपाली काँग्रेस पुरानो राजनीतिक पार्टी र हरेक आन्दोलनमा नेतृत्व लिएको पार्टी भएका नाताले पनि हामी एकजुट भएर अगाडि बढ्नुपर्छ र मुलुकलाई निकास दिनुपर्छ ।
   
 सरकार फेर्न गृहकार्यमा काँग्रेस लागेको थियो असफल भयो त ?
 
सरकार फेर्ने काममा काँग्रेस लागेको होइन । सरकारलाई सचेत मात्र गराएको हो । सरकारभित्रकै केही राजनीतिक दलले सरकारलाई असफल बनाउने खेलमा लागेका छन् । नेपाली काँग्रेसलाई सरकार भित्रभन्दा बाहिरै बसेरपनि काम गर्न सक्छ । यो सरकारले अहिलेसम्म आठ महिना वित्दापनि मधेसका मुद्धाहरु सम्बोधन गर्न सकेको छैन । मधेसी राजनीतिक दलका नेताले भन्छन्, हामीलाई बोलाउँछ चिया खुवाएर पठाउँछ यसरी राजनीतिक चल्दैन । संविधान आउनुभन्दा पहिल्लै मधेसीहरु आफ्नो मुद्धा लिएर आन्दोलनमा गएका थिए । त्यतिखेरै काँग्रेसले मधेस मुद्धालाई काँग्रेसले संविधानमा समेट्न खोजेको थियो तर एमालेले मानेन त्यसकारण संविधान जारीभएलगत्तै संशोधन विद्येयक काँग्रेसले हाल्यो । नागरिकता र जनङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तोक्ने जुन संसदबाट काँग्रेसले पारित गरायो ।
   
 तपाईले मधेस आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
 
मधेसी आन्दोलन भनेर जुन मधेसी राजनीतिक दलले उठाएका छन् त्यीमध्ये केही मुद्धाहरु राम्रा छन् । पहिचान र अधिकार संविधानमै तोकिएको कारणले अधिकार र पहिचान सबैको सुनिश्चित हुनुपर्छ । उहाँहरुको जायज मागहरु सम्बोधन हुनुपर्छ । मधेसी पनि नेपाली जनता हुन् भन्ने भावनाका साथ वर्तमान सरकार अगाडि बढ्नुपर्छ ।
    मधेस आन्दोलन सफल होला त ?
 
मधेस आन्दोलन निश्चय नै सफल हुन्छ । यस अर्थमा की मधेस आन्दोलनमा बारेमा नेपाली काँग्रेसले अग्रसरता लिनुपर्छ । नेपाली काँग्रेसको मुख्य आधारभूमि भनेको मधेस हो । व्यवस्थापिका संसदमा होस् वा उच्चस्तररिय राजनीतिक बैठकमा होस् नेपाली काँग्रेसले मधेसका मुद्धाहरुलाई उठाउँदै आएको छ ।
  
  संविधानमा मुस्लिम अधिकारको बारेमा सन्तुष्टि हुुनुुहुन्छ ?
 
मुस्लिम अधिकारको बारेमा भन्नुपर्दा मुस्लिम मुलुकमा ४.२० प्रतिशत छन् । पहिचान संविधानमै उल्लेख छ तर अधिकारका लागि पछाडि छन् । मुस्लिम हरेक क्षेत्रमा पछाडि छन् । जस्तै राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिकलगायत । मुलुकमा पछाडि परेका जातीलाई समान स्तरमा ल्याउनका लागि उनीहरुको सम्पूर्ण अधिकार सुनिश्चित हुनुपर्छ । मुस्लिमको स्वायत्त क्षेत्र र निर्वाचन क्षेत्र आरक्षण हुनुपर्छ । स्थानीय निकायदेखि केन्द्रसम्म आरक्षण कोटा छुट्याउनुपर्दछ । जुन क्षेत्रमा मुस्लिमको बाहुल्यता कम छ त्यस क्षेत्रमा विशेषाधिकार दिनुपर्छ ।
  
सरकारले मनोमानी ढङ्गले राजदूत सिफारिस गरेको छ नी ?
 
अहिले जतिपनि देशमा सरकारले एकलौटी रुपमा राजदूत सिफारिस र व्यक्तिगत स्वार्थका लागि गरेका छन् यो निश्चय पनि गलत कुरा हो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले एकजनामात्र भारतमा सिफारिस गरेको थियो यो नेकपा (एमाले)को पार्टीको व्याक्तिगत कारणले फिर्ता बोलाइयो यो गलत कुरा हो । राजदूत भनेको कुनै एक पार्टीको हुँदैन उ पुरै देशको जिम्मा लिएर गएको हुन्छ र दुई देशको कुटनैतिक सम्बन्धलाई सुमधुर र सुढृढ बनाउनका लागि पहल गरिरहेको हुन्छ । तर यो सरकारले भारतसँग मजबुद सम्बन्ध बनाउन नखोजेको देखिन्छ । जबकी एकातिर चीन छ भने अर्कोतिर भारत छ । भारतसँग हाम्रो राजनीतिक, सामाजिक पुरानो सम्बन्ध छ । हाम्रो भाषा, धर्म, संस्कृति चेलिबेटीको सम्बन्ध छ । भारतसँग हामी टाढा रहन सक्दैनौ ।
    
अन्त्यमा के भन्नुहुन्छ ?
 
मुलुकमा ६५ वर्ष पुरानो नेपाली जनताको चाहना संघीय लोकतान्त्रिक संविधान निर्माण भएको छ । यो नेपाली काँग्र्रेसको नेतृत्वमा भएको हो । अब यसलाई चाँडै कार्यान्वयन हुनुपर्छ र मधेसको समस्याको समाधान पनि हुनुपर्छ । त्यसपछि मात्र नेपाली जनतालाई शान्तिको अनुभूत हुन्छ र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्छ । धन्यवाद

Post a Comment

0 Comments