Subscribe Us

लाजिम्पाटमा खुसियाली, वैद्य आवासमा रुवाबासी

काठमाडौं । सिङ्गो एमाओवादी चोइटिँदा त्यसका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको मन पनि चोइटिएको थियो । विभिन्न नेताले पार्टी विभाजन गरेपछि उनी मानसिक तनावमा पनि थिए । 

शान्ति प्रक्रियामा आएपछि मातृका यादवदेखि चोइटिन थालेको एमाओवादी मोहन वैद्य किरण हुँदै डा. बाबुराम भट्टराईसम्म आइपुग्यो । त्यतिबेला लाजिम्पाट दरबारमा प्रचण्डको मन भक्कानिएको थियो ।

 तर, अहिले पालोको पंैचो भनेजस्तो लाजिम्पाटमा खुसियाली छाएको छ । रुवाबासी भने अन्यत्र नै भएको समाचार जनप्रहार साप्ताहिकले लेखेको छ ।  माओवादीभित्र एकताको हल्ला चलेको वर्षौ बितिसक्यो । ०६९ साउनमा एमाओवादी अध्यक्ष प्रचण्डलाई सत्तोसराप गरी पार्टी फुटाएका मोहन वैद्य किरण अहिले निक्कै संकटमा छन् । 

मौका पाए बन्दुकसमेत उठाउने ध्वामास दिँदै नेत्रविक्रम चन्द विप्लवलाई समेत लिएर पार्टी फुटाएका वैद्यसँग अहिले विप्लव पनि  छैनन् । ०७१ मंसिरमा वैद्यले बोलेको कुरा पूरा नगरेको भन्दै विप्लवले अर्को पार्टी खोलेपछि वैद्यलाई पहिलो धक्का लाग्यो । माओवादीभित्र जनयुद्धकालदेखि नै सांगठनिक र वैचारिक कार्यदिशामा अग्रसर नेता रामबहादुर थापा बादललाई समेत आफ्नो पार्टीमा ल्याएर एमाओवादीलाई ठूलै क्षति पु¥याउने योजना बुनेका वैद्यसँग अन्तत ः बादल पनि सँगै नहुने भएपछि अहिले वैद्य आवासमा रुवाबासी भएको छ, कामरेडहरूको ।

 बादलसँग घनीभूत छलफल गरी पार्टी फुटाएका वैद्यसँग अन्तत ः न विप्लव नै भए न बादल नै हुने भए । वैशाख १६ र १७ गते सम्पन्न एमाओवादी स्थायी समिति बैठकले नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापालगायतका टोलीसँग एकता गर्ने निर्णय गरेपछि एकताको विपक्षमा रहेका वैद्य माओवादीभित्र हल्लीखल्ली भयो । वैशाख १५ गते झन्डै आधा घण्टा टेलिफोन गरी वैद्यलाई एकताका लागि प्रचण्डले बारम्बार फकाए पनि नमानेपछि बैठकपछि सो निर्णय लिएको प्रचण्ड निकट स्रोतको दावी छ ।

बैठकको निर्णय मिडियामा आएलगत्तै वैद्य निवासमा उपाध्यक्ष सिपी गजुरेल, स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल, पोलिटब्युरो सदस्य दिनेश शर्मा, नेता हरिभक्त कँडेल र परी थापाबाट आएका नेता कार्यकर्ताहरू वैद्यकहाँ पुगे । वैद्य निवासमा पुगी छलफलमा जुटेका ती नेतामध्ये कतिपय बादलहरूलाई खुला छाड्ने भन्दै थिए त कतिपय हामीसँग जाने भन्दै थिए । छलफलमा वैद्यले एकतामा जानुपर्ने विषयमा लचकता देखाए पनि सिपी गजुरेलले त्यसलाई अस्वीकार गर्दै ११ जनाको टिमले भए पनि पार्टी चलाउनुपर्छ भन्दै बम्किएपछि बैठकको माहोल नै बदलिएको थियो । 

हरिभक्त कँडेल र इन्द्रमणि भने जनयुद्धमा गरेको सबै मिहिनेत एकैछाकमा सिद्धिन सक्ने भन्दै गहभरि आँसु पार्दै जसोतसो एकतामा जानुपर्नेसम्मका कुरा गर्दै थिए । उनीहरूले आँसु खसालेपछि वैद्य निकै निरास मुद्रामा देखिएका थिए । ‘पार्टी एकताको विषयमा वैद्य कामरेड निकै गम्भीर हुनुहुन्छ, सबै साथीहरूले आँसु खसाल्न थालेपछि वैद्य कामरेड बाथरुमतिर जानुभयो, खै उहाँ पनि रुनु भयो कि ? त्योचाहिँ थाहा भएन’ छलफलमा सहभागी एक जनाले जनप्रहारलाई बताए ।

छलफलपछि वैद्यले प्रचण्डसँग फोन संवादसमेत गरेका थिए । आफू एकता विरोधी नभएको भन्दै उनले जनवादी क्रान्तिको कार्यदिशा पूरा गर्न जुट्ने गरी एकता गरौँ भन्दै प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले जनवादी क्रान्तिको कार्यदिशाबाट पछि हट्न नसक्ने बताएपछि वैद्य फेरि निराश भएको स्रोतको भनाइ छ । 

परी र गजुरेलको छायामा वैद्यको माया माओवादीको सिद्धान्त एउटै भए पनि कार्यदिशामा केही मतभिन्नतालाई नै प्रमुख कारण बनाएर वैद्य पार्टी एकताबाट ब्याक छन् । वैद्यलाई व्याक हटाउन बाँध्य पर्ने उपाध्यक्ष सिपी गजुरेले, परी थापा, हरिभक्त कँडेल, इन्मद्रणि सिग्देल, दिनेश शर्मा हुन् । उनीहरूको घेराबन्दीबाट बाहिर आएर वैद्यले निर्णय गर्न सकेका छैनन् । वैद्यले समयमा निर्णय लिन नसक्दा पार्टीभित्रको विवाद थप चुलिदै मात्र गएको छैन रडाको पनि सुरु भएको छ । बादलले वैद्यलाई कारवाही गरेर पार्टी एकता गर्नेसम्मको गतिविधि अगाडि बढिसकेका छन् । वैद्यले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेपनि सचिव नेत्र विक्रम चन्दलाई पनि पार्टीमा राख्न सकेनन् । 

पार्टी विभाजन भएको दुई बर्ष नवित्दै चन्दले पार्टी विभाजन गरेर बाटो लागे । अहिले वादलले एकता प्रक्रियामा अगाडि बढ्दा हिम्मत गरेर वैद्य अगाडि बढ्न सकेका छैनन् । ‘सबै पार्टी मिल्दा नै राजनीतिक कार्यदिशाको कुरा आउने हो, पार्टी छिन्नभिन्न भइसक्यो, अब पनि कार्यदिशाको फेरो समातेर बस्ने हो भने सबै माओवादीका नेता एकपछि अर्को गर्दै जेल जान्छन्’, एक नेताले भने । अहिले वैद्यले जनयुद्धमा सँगसगै लडेका थापालाई छोडेर पछि एकता प्रक्रियाबाट आएका परी थापाको फेरो समातेका छन् । सिपी गजुरेलेको अर्ति उपदेश मान्ने गरेका छन् भने हरिभक्त कडेलेको कुरा सुनेका छन् । जसको कारण उनीहरूप्रति नै वैद्यले माया देखाएका छन् ।

Post a Comment

0 Comments