Subscribe Us

आज २१ अर्ब ७२ करोड कर तिर्दै एनसेल

काठमाडौं । एनसेलले सेयर खरिद-बिक्रीपछि तिर्नुपर्ने पुँजीगत लाभकरअन्तर्गत अग्रिम कर आइतबार सरकारी खातामा जम्मा गर्ने भएको छ । एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासोनेरा नेपालबाट बाहिएपछि क्रेताको रूपमा भित्रिएको मलेसियन कम्पनी एक्जियटाले नै सरकारलाई कर तिर्ने भएको हो ।

आइतबार कुल कारोबारको १५ प्रतिशतले हुन आउने करिब २१ अर्ब ७२ करोड रुपैयाँ सरकारको राजस्व खातामा एनसेलले जम्मा गर्नेछ ।
ncell
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले आइतबारसम्ममा एनसेलले कुल बिक्री रकमको १५ प्रतिशत अग्रिम आयकर बुझाउनुपर्ने बताए । ‘एनसेलले कति रकम बुझाउनुपर्छ भनेर रकम आजै तोक्न त सकिन्नँ । तर, नियमअनुसार १५ प्रतिशत बुझाउनुपर्छ,’ शर्माले भने, ‘यो बिक्री गर्ने कम्पनीले प्राप्त लाभबापत तिर्नुपर्ने रकम हो । यसमा खरिद गर्दा लागेको रकम भए घटाउन सकिने प्रावधान पनि छ ।’

शर्माका अनुसार बाँकी १० प्रतिशत कर तिर्न कम्पनीलाई ३ महिनाको समय दिइनेछ । एनसेलले अनुरोध गरे र राजस्व कार्यालयले आवश्यक ठाने अर्को ३ महिना समय थप्न सकिनेछ ।

ठूला करदाता कार्यालयले एनसेलले सेयर खरिदको आयव्यय विवरण र कर दाखिला गर्न दिएको म्याद शनिबार सकिए पनि सार्वजनिक बिदा भएकाले आइतबारसम्ममा कर दाखिला गर्न सक्नेछ । एनसेलले खरिदको आयव्यय तथा १५ प्रतिशत स्रोतमा करकट्टी गरेर कर कार्यालयलाई बुझाउनुपर्छ । ‘जिम्मेवार व्यावसायिक कम्पनीको रूपमा एनसेल पुँजीगत लाभकरका विषयमा ठूला करदाता कार्यालयसँग निरन्तर संवादमा छ । हामी यो विषयलाई छिट्टै समाधान गर्नेछौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पार्किन्सले भने ।

Post a Comment

0 Comments