Subscribe Us

सत्तारुढ दलबाटै ओलीलाई चेतावनी

१९ वैशाख, काठमाडौं ।
सत्तारुढ दलहरूभित्रैबाट सरकारको कार्यशैलीको आलोचना हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेपाल, राप्रपा, नेकपा माले, समाजवादी जनता दललगायतले सरकारको आलोचना गरेका हुन् ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चाको माग सम्बोधन गर्न दुई महिनाअघि गठन भएको राजनीतिक समितिले पूर्णता नपाएको बताए । कांग्रेस र मोर्चाको सहभागिताविना समितिको औचित्य नरहने भन्दै छिटै पूर्णता दिएर काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
20150203baidya-proposes-peoples-action-campaign-600x0
राप्रपा, नेकपा माले, समाजवादी जनता दललगायतका प्रतिनिधिले संसदीय सुनुवाइ समिति १५ सदस्यीय बनाउनुपर्ने एमाले र एमाओवादीको अडान बेठीक भएको बताए ।
जुद्धशमशेरको जति काम पनि भएन : पशुपतिशमशेर
राप्रपाका नेता पशुपतिशमशेर राणाले १९९० सालको महाभूकम्पमा तत्कालीन श्री ३ जुद्धशमशेरले जति पनि उद्धार, राहत र पुनर्निर्माणमा अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाए ।
जवाफमा प्रधानमन्त्री ओलीले अहिले यातायात, सञ्चार, जनताको चेतना र स्रोत–साधनका हिसाबले समाज धेरै समुन्नत स्थितिमा रहेकाले त्यतिवेलाको जति पनि काम नहुनु स्वाभाविक भन्दै व्यंग्य गरे ।
सरकारकै कारण मोर्चासँग संवाद टुट्यो : आचार्य
कांग्रेस नेता महेश आचार्यले मधेसी मोर्चासँगको वार्ता अन्तिम चरणमा पुगेका वेला सरकारले एकतर्फी रूपमा राजनीतिक समिति बनाएका कारण संवाद टुटेको बताए । सहमतिविनाको समितिमा कांग्रेस पनि सहभागी नहुने उनको भनाइ थियो ।
तर, प्रधानमन्त्रीले मोर्चाका माग वार्ताकै माध्यमबाट समाधान गरिने जानकारी गराउँदै मधेसको समस्या राष्ट्रको हितलाई सर्वोपरी राखेर समाधान हुने बताए ।
सुनुवाइ समिति गठनमा सत्तारुढ लचिलो
प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइ समितिको गठन र संसद्को नियमावलीमा भइरहेको ढिलाइले धेरैतिर असर परिरहेको भन्दै यसमा लचिलो बन्न सकिने संकेत गरेका छन् ।
‘संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार जे गर्नुपर्ने हो, त्यसरी नै गरौँ, जहाँ संविधानले जस्तो व्यवस्था गरेको छ, त्यहाँ त्यसअनुरूप गरौँ । तर, ममा कुनै हार्ड एन्ड फास्ट छैन, जे भए पनि सहमतिमा चाँडै गरौँ ।’ कांग्रेस, राप्रपासहितका साना दल ७५ सदस्यीयको पक्षमा छन् भने एमाले र एमाओवादी सुनुवाइ समिति १५ सदस्यीय बनाउनुपर्ने अडानमा रहेकाले सहमति हुन सकेको छैन ।
सर्वदलीय बैठकमा किन गएन मोर्चा ?
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी भएन ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘सर्वदलीय बैठकमा जानुपर्ने कारण नै थिएन त्यसकारण यो सरकारलाई समर्थन हुने गरी हामी किन सर्वदलीय बैठकमा जाने रु’ संविधान कार्यान्वयनका सन्दर्भमा भएको छलफलमा सहभागी हुनु उपयुक्त नभएको तमलोपाका उपाध्यक्ष वृजेशलाल गुप्ताले बताए ।
मोर्चाका नेता काठमाडौंबाहिर
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक नवलपरासीमा बसिरहेको छ । केन्द्रीय समिति बैठकमा असार ६ देखि ८ सम्म नवलपरासीमा महाधिवेशन गर्ने प्रस्तावबारे छलफल चलिरहेको छ ।
‘हामीलाई सर्वदलीय बैठकबारे जानकारी पनि छैन र हामी पार्टी बैठकमा व्यस्त पनि छौँ,’ तमलोपाका उपाध्यक्ष गुप्ताले बताए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता अशोक राईलगायतका नेता आन्दोलनबारे जागरण अभियान चलाउने भन्दै संखुवासभा पुगेका छन् ।
‘हामीलाई सर्वदलीय बैठकबारे केही जानकारी छैन, मलाई जानकारी नभएपछि मैले अध्यक्ष उपेन्द्रजीलाई पनि सोधेको थिए, उहाँले पनि थाहा छैन भन्नुभयो,’ फोरमको संसदीय दलका नेता अशोक राईले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments