Subscribe Us

इन्टरनेटबाटै गाँजा र चरेस व्यापार

काठमाडौं । प्रहरीले ठमेल क्षेत्रलगायत देशभर लागुऔषध गाँजा, चरेसका कारोबारी र सेवन कर्ताविरुद्ध अप्रेसन गरिरहेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी सोमेन्द्र सिंह राठौर त ठमेलका होटल, लज र रेस्टुरेन्टका गमलामा रोपेका गाँजाका बोटसमेत उखेलिरहेका छन् ।

तर, एकजना युवा भने इन्टरनेटको भिडियो सर्भर युट्युबमा नेपाली गाँजा र चरेसको प्रचारमात्र होइन, सञ्जालमार्फत नै लागुऔषधको बेचबिखनमा समेत जुटेको जनप्रहारले फेला पारेको छ । यसरी गाँजा र चरेसको प्रचारप्रसार र ग्राहक बनाउँदै फिरन्ते जिन्दगी बाँचिरहेका व्यक्ति नेपाली कांग्रेसका प्रभावशाली नेताका सन्तान हुन् । 

युट्युबमा भेटेका ती युवा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीका भतिजा हुन् । केसीका माइला भाइ नारायण नरसिंह खत्रीका छोरा निराकार नरसिंह खत्रीले इन्टरनेट सञ्जालमार्फत गाँजा र चरेसको कारोबार गरिरहेका छन् । युट्युबमा निराकार मार्ले ह्यान्डल बनाएर उनले तीन दर्जन बढी भिडियो अपलोड गरेका छन् । निराकार आफै नेपालका गाँजा र चरेस उत्पादन हुने विभिन्न स्थानमा पुगेर गाँजा र चरेसको विशेषता बताउँदै चरेस, भाङ र धतुरोका विभिन्न परिकार र सेवनको तरिकासमेत राखेका छन् । 

देशका विभिन्न स्थानमा पुगेर गाँजा र चरेसका उत्पादन सेवन विधि र फाइदाका बिषयमा खुलेआम प्रचार गरिरहेका निराकारले पारखी विदेशी पर्यटकलाई सञ्जालकै सम्पर्कमार्फत उच्चकोटिको लागुऔषध गाँजा, चरेस र त्यसका विभिन्न परिकार बेचबिखन गरिरहेका छन् । अमेरिकामा अध्ययन गरेर फर्केका निराकारले सन् २००८ को अप्रिल १७ देखि युट्युबमा निराकार मार्ले ह्यान्डलमार्फत कारोबार जारी राखेका छन् । युट्युबमा करिब पाँचलाखले निराकारको भिडियो हेरिसकेका छन् भने एकहजारको हाराहारीमा स्वदेशी तथा विदेशी युवाले उनलाई पछ्याइरहेका छन् । 

बुबा नारायणले ललितपुरमा कलेज सञ्चालन गर्ने तर छोरा भने लागुऔषधको कारोबारमा जुटने गरेको स्रोतले बतायो । स्रोतका अनुसार निराकारले ठमेलको ओएमजी, म्युजिक हाउस, ब्याम्बो, जुजुबा र लैनचौरको आईरिस पब जस्ता महँगा बार र कल्वमा आउने युवालाई लागुऔषध गाँजा र चरेस उपलब्ध गराउदै आएका छन् । यस्तै नेपाल घुम्न आउने चरेसका पारखी विदेशी पर्यटकलाई निराकारले नेपाली गाँजा र चरेसको स्वाद चखाएका छन् ।

 “प्रहरीले साना भरिया र खुद्रा ब्यापारीलाई मात्र कारबाही गर्ने हो, उनका बिषयमा लगभग सबै प्रहरी युनिटमा जानकारी भए पनि कुनै कारबाही त के प्रहरी चेकजाँच गर्नसमेत तर्सन्छ,” स्रोतले भन्यो । निराकारले युट्युबमा अपलोड गरेका भिडियोमा उनले गाँजा र चरेसका लागि सम्पर्क गर्न र प्रयोग गर्न उक्साई रहेको प्रस्ट देख्न सकिन्छ । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments