Subscribe Us

जसले प्रचण्डको ताज टिकाइराखे

एउटा युग नै परिवर्तन भयो, माओवादी जनयुद्धको नाममा भएको १० वर्षे सशस्त्र संघर्षपछि । राजनीतिक चेतना बढ्यो, संगठनहरू खुल्न थाले । जाति, वर्ग र समुदाय संगठित भएर अधिकार प्राप्तिका चर्का नारा लगाउन थाले । 

एकीकृत नेकपा माओवादीको बलमा परिवर्तन भएको थियो । अहिले एमाओवादी विभिन्न नाममा विभाजित छन् । तर, इतिहास विभाजित छैन । जनयुद्धकालमा पार्टीको अध्यक्ष, सेनाको सुप्रिम कमाण्डर रहेका पुष्कमल दाहाल प्रचण्डको माओवादी स्थापित गर्ने समयका सारथी कस्ता थिए ? अनि अहिले कहाँ छन् ? 

वर्तमान राजनीतिका ‘कि पर्सन’ तथा उच्चस्तरीय राजनैतिक संयन्त्रका संयोजक प्रचण्डका १० वर्षे जनयुद्धताका सारथीहरू को–को होलान् ? अनि कति उनीसँगै छन् ? कति छैन नै ? १० वर्षे सशस्त्र द्वन्द्व चल्दै गर्दा प्रचण्डलाई सहयोग गर्ने केही त्यस्ता नामहरू थिए जसको नाम सुन्दा सबैको एक किसिमको भय हुन्थ्यो । तिमध्ये कतिपय युद्धकालमै मरेर गए भने कतिपय अहिले पनि राजनीतिमै सक्रिय छन् । उनीहरूको भाषण र नामकै आधारमा हजारौं कार्यकर्ता मर्न, मार्न तयार हुन्थे । उनीहरूको अनुहारसमेत नहेरेका सयौं युवाहरूले कासनकै भरमा बलिदानी दिए ।

संविधानसभाको चुनाव अघि नै विभाजित भएर नेकपा–माओवादी गठन गरेका मोहन वैद्यलाई प्रचण्ड राजनीतिक गुरु मान्छन् । दार्शनिक क्षेत्रमा व्याख्या र विश्लेषण गर्न अब्बल मानिने वैद्य  सशस्त्र विद्रोह सुरु गर्दाका प्रचण्डका प्रमुख सहयोगी हुन् । पूर्वी कमाण्डका जिम्मेवारी सम्हालेका उनले धेरै समय प्रचण्डलाई विभिन्न दृष्टिकोणबाट सहयोग गरे । 

प्रचण्डसँग राजनीतिक कार्यदिशा एवं रणनीतिका विषयमा गम्भीर छलफलमा जुटेका नेताका रूपमा चिनिने वैद्य अहिले प्रचण्डसँग छैनन् । ०६९ असारमा प्रचण्डसँग विभिन्न विषयमा असहमति जनाउँदै उनले नेकपा–माओवादीको स्थापना गरेका थिए । अहिले उनी नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष हुन् । प्रचण्डसँगको एकताको विषयमा उनी त्यति सहमत छैनन् । 

संविधान जारी भएपछि एमाओवादी परित्याग गरेर नयाँ शक्ति अभियानमा जुटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रचण्डका सशस्त्र विद्रोहका बलियो सहयोगी थिए । दश वर्षे सशस्त्र विद्रोह सुरुहुनुपूर्वदेखि शान्तिपूर्ण राजनीतिमा आएका एक दशकसम्म उनीहरूले एकसाथ यात्रा गरे । सशस्त्र विद्रोह सुरु हुँदा उनी तत्कालीन जनपरिषद्का अध्यक्ष थिए । मध्यकमाण्डका इन्चार्जको जिम्मेवारी समेत सम्हालेका बाबुराम त्यतिबेला प्राय प्रचण्डसँगै हुन्थे । पार्टीका अनुशासन विपरीत काम गरेको भन्दै पटक–पटक कार्वाही समेत व्यहोरेका बाबुराम दक्षिणपन्थी विचारधारा र जनयुद्ध सम्झौतावादी नेता भएको माओवादी नेता कार्यकर्ताहरूको भनाइ छ । 

संविधानसभाको पहिलो निर्वाचनपछि प्रचण्ड नेतृत्वमा बनेको सरकारमा उनी अर्थमन्त्री बनेका थिए । त्यतिबेला निकै चर्चा बटुलेका बाबुराम प्रधानमन्त्री समेत बने । दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान जारी भएसँगै उनले एमाओवादी परित्याग गरी नयाँ शक्तिमा लागेका छन् । हाल उनी नयाँ शक्ति नेपालका संयोजकको जिम्मेवारीमा छन् ।

नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ अहिले पुन प्रचण्डसँग जोडिने तयारीमा छन् । एमाओवादीसँग एकता गर्न लागेको बादलका लागि बरियताको तेस्रो स्थानको तयारी पनि भइरहेको छ । विद्रोहका बेला ‘बादल’ उपनामले निकै चर्चित बनेका थापा तत्कालीन माओवादीका रहस्यमयी नेता थिए । रुसबाट सैन्य विज्ञान अध्ययन गरेर माओवादी आन्दोलनमा होमिएका उनी त्यतिबेला पूर्वी कमाण्डका इन्चार्ज थिए ।

पार्टीका वैचारिक तथा सांगठनिक जिम्मेवारी पाएका उनी एक कुशल संगठक थिए । प्रचण्डलाई विद्रोहका बेला नजिकबाट सहयोग गर्ने नेतामध्ये उनी पनि एक हुन् । क्रान्तिकारी नेताका रूपमा चिनिएका उनी सशस्त्र द्वन्द्वमा पार्टीको पश्चिम कमाण्ड सम्हालेका थिए । तर विद्रोह सुरु भएको केही समयमा नै उनलाई सांस्कृतिक कारवाही भएको थियो । पार्टीकै अर्की नेतृसँग अनैतिक सम्बन्ध बनाएपछि उनीमाथि कारवाही गरिएको माओवादी स्रोत बताउँछ ।

संविधानसभाको पहिलो निर्वाचनपश्चात् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा रक्षामन्त्री बनेका थिए ‘बादल’ । उनी रक्षामन्त्री हुँदा चर्चित कटुवाल काण्ड मच्चिएको थियो । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल र रक्षामन्त्री बादलबीच अन्तरविरोध नै कटुवाल काण्डको मुख्य कारण थियो । एकीकृत नेकपा माओवादीमा रहँदा पार्टी महासचिव रहेका उनी अहिले बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा छन् । पछिल्लो समय एमाओवादीसँग एकताका लागि उनले हदैसम्मको प्रयास गरेका छन् भने त्यही अनुरूप छलफलमा जुटेका छन् ।

अहिले एमाओवादीका महासचिव कृष्णबहादुर महराले प्रचण्डलाई निरन्तर साथ र सहयोग गरिरहेका छन् । त्यागी, कर्मठ एवम् इमानदार नेताका रूपमा चिनिने महरा सशस्त्र विद्रोहमा प्रचण्डलाई सहयोग गर्नेमध्येका एक पात्र हुन् । पश्चिम कमाण्डका इन्चार्ज समेत भएका उनी माओवादी र तत्कालीन सरकारको वार्ता हुँदा पहिलो पटक संयोजक बनेका थिए । उपप्रधानमन्त्री, गृहमन्त्री र सुचना तथा सञ्चारमन्त्री समेत भएका महरा अहिले एमाओवादी महासचिव हुन् । उनले अहिले पनि प्रचण्डको कार्ययोजनामा सहयोग गर्दै
आएका छन् ।

सिपी गजुरेल सशस्त्र विद्रोहमा प्रचण्डलाई सहयोग गर्ने अर्का नेता हुन् ।  धेरै लामो समय अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका गजुरेलले ०४२÷०४३ सालमा राज्यसँग आत्मसमर्पण समेत गरेका थिए । माओवादीभित्र अंग्रेजी भाषा राम्रोसँग बोल्न जान्ने गजुरेलले जनयुद्धका बेला अन्तर्राष्ट्रिय समुदायसँग राम्रो परिचय बनाएका थिए । पटकपटक जेल जीवन बिताएका उनी पनि अहिले प्रचण्डसँग छैनन् । हाल उनी वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष छन् । एमाओवादीमै रहँदा अध्यक्ष प्रचण्डको तिखो आलोचना गरेर निकै चर्चित बनेका उनी यतिबेला प्रचण्डसँग एकता गर्न नहुने पक्षमा छन् । 

सशस्त्र विद्रोहका बेला पूर्वी कमाण्डका इन्चार्जका जिम्मेवारीमा रहेका हरिबोल गजुरेल प्रचण्डका जनयुद्धका नजिकका सारथी हुन् । २०४६ सालको सेरोफेरोमा बाबुराम भराई, मणि थापा, देवेन्द्र पौडेल, लगायतका जम्बो टोली सहितका टोली लिएर उनी एमाओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी बाबुरामका समेत नेता थिए । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कृषिमन्त्रीको समेत जिम्मेवारीमा रहेका उनले समय क्रमअनुसार बाबुरामलाई नेता मान्न पनि तयार भए । एमाओवादी कोषाध्यक्ष समेत रहेका गजुरेल सशस्त्र विद्रोहका बेला एकपटक विदेश विभाग प्रमुख समेत भएका थिए । सशस्त्र विद्रोहमा ब्युरो इन्चार्जका जिम्मेवारी समेत निभाएका गजुरेललाई उतिबेला प्रचण्डका विश्वासका पात्रका रूपमा  समेत चिनिन्थ्यो ।

सशस्त्र द्वन्द्वमा मध्यकमाण्डको जिम्मेवारी सम्हालेका देव गुरुङ माओवादीभित्रका वैचारिक नेता हुन् । प्रचण्डले सशस्त्र विद्रोह सफल पार्न बुनेका हरेक योजना सफल पार्न महत्वपूर्ण भूमिका निभाएका उनी माओवादी र तत्कालीन सरकारको वार्ता हुँदा पटक–पटकको वार्ता टोलीका सदस्यसमेत भएका थिए ।  उनी स्थानीय विकासमन्त्रीसमेत बने । कानुनका विद्यार्थी गुरुङ, प्रचण्ड नेतृत्वको सरकारमा कानुन तथा न्यायमन्त्रीसमेत बनेका थिए । सोझा र इमान्दार छविका नेता गुरुङ सिद्धान्तमा दृढ नेता हुन् । 

जनयुद्धकालीन समयमै जेलमा रहेका गुरुङलाई तात्कालिन राज्यले माओवादीले चौकी हमला गरेर लगेका डिएसपी ठूले राईसँग साटेको थियो । माओवादीले ठूले राइलाई रिहा गरेको थियो भने राज्यले नेता गुरुङलाई । हाल एमाओवादीबाट विभाजित बनेको नेकपा क्रान्तिकारी माओवादीका सचिव रहेका गुरुङ पछिल्लो समय एकताको पक्षमा छन् । 

खरो र स्पष्ट वक्ताका रूपमा चिनिने माओवादी नेता मातृका यादव कार्यकर्ता माझ निकै लोकप्रिय छन् । मधेसी समुदायबाट माओवादी आन्दोलनमा निकै उलेख्य भूमिक खेलेका उनले एमाओवादी संशोधनवादी भएको आरोप लगाउँदै एक्लै विद्रोह गरेर जनयुद्धकालीन पार्टी नाम नेकपा (माओवादी) को गठन गरे ।

विद्रोही एवम् निकै कडा स्वभावका नेता यादवले बृहत शान्ति प्रक्रियापछि बनेको सरकारको वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारीलाई ट्वाईलेटमै थुनिदिएका थिए । अनियमितता गरेको भन्दै उनले तत्कालीन एलडिओ डण्डुराज घिमिरेलाई शौचालयमा थुनेका थिए । हाल उनी चर्चा भन्दा बाहिर छन् । 

तर सबै माओवादी आन्दोलनबाट आएका कम्युनिष्टहरू एकाठाउँमा हुनुपर्ने अभियानमा लागेका उनी एकताको पक्षमा छन् । नेपालमा अर्को कम्युनिष्ट पार्टी स्थापनार्थ प्रचण्डलाई सहयोग गर्नेहरू कोही उनीसँगै छन् कोही फरकमत बनाएर माओवादीका वैकल्पिक माओवादी पार्टीहरू नै गठन गरेर राजनीतिमा सक्रिय छन् । तर, राज्यसत्तामा प्रचण्ड नेतृत्वको मूल पार्टी एकीकृत नेकपा माओवादीले नै दख्खल राखिरहेको छ ।

Post a Comment

0 Comments