Subscribe Us

बादलको आगमनसँगै पेरिसडाँडामा आधिबेहेरी

काठमाडौं । गत बिहीबार पदीय भागबन्डामा असहमति जनाई पार्टी फुटाएकाहरु एकजुट भए । थोरै संख्यामा भए पनि पार्टी नै स्थापना गरेर बसेका र व्यक्ति मात्रै सिँगै पार्टी छाडेर बसेकाहरु गरी १० माओवादीबीच नेकपा माओवादी केन्द्र नाम राखी पार्टी एकता भयो । 

एकतापछि सबैतिर चर्चा र परिचर्चा मात्रै भएन कार्यकर्ता र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुशीको सीमा नै रहेन । उनले त खुशीकै क्रममा पार्टी एकताको घोषणा गर्दै यति बेले कि के बोलें भन्ने उनमा हेक्का नै रहेन । 

४ वर्षअघि प्रचण्डलाई सत्तोसराप गरी वैद्य नेतृत्वको पार्टीमा गएका रामबहादुर थापा (बादल) एकतामा आएपछि प्रचण्डको भुईमा खुट्टा छैन । वैद्यलाई एक्ल्याउँदै जम्बो टुकडी लिएर पेरिसडाँडा छिरेका बादलसँगै माओवादीभित्र रोइलो भएको छ । वैद्यलाई धोका दिई एकतामा आएका बादलले पार्टीले कारवाही गरेकादेखि विभिन्न आरोप लागेकोसम्मलाई सोरेर एकतामा ल्याएपछि पुरानो एमाओवादी नेताहरुले ‘कालो बादल’ समुह भन्दै आलोचना र विरोध गरे । 

तिनै कालो बादल समुहको आगमनसँगै पेरिसडाँडामा भएको रोइलोले लाजिम्पाटलाई समेत असर गरेको छ । आइतबार बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकका क्रममा बादल समुह र नारायणकाजी श्रेष्ठ समुहबीच ठूलो लफडा भयो । 

बैठकअघि बादल र श्रेष्ठ समुहले प्रचण्डलाई भेटेरै पदीय विषयमा आ–आफ्नो अडान दोहो¥याएपछि माओवादीभित्र अहिले पद मिलाउने विषय फलामको च्युरा चपाउनु सरह भएको छ । एकतापछि घोषित ६ सय ९९ सदस्यीय केन्द्रीय समिति मध्ये तत्काल ५ सय ९९ जना घोषणा गरेर जाने बताइए पनि त्यसमा क–कसलाई राख्ने भन्ने विषयमा समेत बादल र श्रेष्ठको ठूलो घम्साघम्सी थियो ।

माओवादी केन्द्रको संयुक्त एकता बैठकले अध्यक्षको छिनोफानो गरे पनि दोस्रो वरियताभन्दा मुनिका नेताहरुको हैसियतको छिनोफानो गरिसकेको छैन । त्यसैको विषयलाई लिएर बादलको आगमनले माओवादीभित्र ठूलो आँधीवेहेरी ल्याएको छ । नारायणकाजीले आफू दोस्रो वरियतामा नराखेको खण्डमा पार्टी नै फुटाउने धम्की दिएका छन् भने बादललाई दोस्रो वरियताको नेता बनाउन माओवादीभित्रैका नेताहरु लागि परेका छन् । 

एक केन्द्रीय नेताका अनुसार कृष्णबहादुर महरा र वर्षमान पुनले थापालाई दोस्रो नेता बनाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका छन् ।  उनीहरुले दबाब दिइएको सुईको पाएपछि नारायणकाजीले भने पार्टी नै छाड्नेसम्मको धम्की दिएका थिए । बादलसँग आएका १ सय २६ मध्ये कसलाई कुन वरियतामा राख्ने भन्ने विषयमा समेत ठूलो हानथाप भएको छ । सचिवमा बादल समुहका पम्फा भुसाल र देव गुरुङ आकांक्षी छन् । त्यसमध्ये बादलले पम्फालाई महासचिव बनाउनुपर्ने प्रस्ताव समेत राखेका छन् । तर त्यसलाई प्रचण्डले डाइरेक्ट रिजेक्ट गरेका थिए । 

प्रचण्ड माओवादीका वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मा पनि सचिवका लागि हानथापमा छन् तर भाग पुग्ने हो कि होइन भन्ने चिन्ताले उनीहरु दिनदिनै लाजिम्पाट धाउन थालेका छन् । 

कृष्णबहादुर महरा महासचिवबाट हटेर उपमहासचिव बन्नेवालामा छैनन् । बरु उनी जस्तोसुकै विद्रोह गर्न तयार छन् । त्यसैले उनी अहिले बादललाई दोस्रो वरियताको नेता बनाउन कसरतमा छन् । यदि बादल महासचिव नै बन्नेबाहेक विकल्प नभए उनी उपमहासचिव पनि बन्ने स्रोतको दावी छ । 

बादल समुहबाट एकतामा आएकाहरु प्रचण्ड माओवादीका भन्दा हैसियत कम भएको देखिएपछि माओवादीभित्र अहिले ठूलो लफडा छ । यससँगै जनयुद्धबाट आत्मसमर्पण गरेका मणि थापालाई नेता बनाउन नसक्ने भन्दै केन्द्रीय सदस्यहरु बुरुकुसी मारेर उफ्रिएका थिए । त्यसलाई मिलाउन प्रचण्डमाथि ठूलो चुनौती थपिएको छ । मणिका पार्टीका केन्द्रीय सदस्यहरु स्वत ः महाधिवेशन आयोजक समिति सदस्य हुने भएपछि प्रचण्ड माओवादीका जिल्ला तहका नेताहरुमा अहिले ठूलो मात्रमा निराश छ ।
 
एकतामा खुसी, प्रचारले हैरान
उता, पार्टी एकता भएकोमा खुसी भएपनि प्रचण्डपुत्री एवम् अखिल क्रान्तिकारी महिला संघकी महासचिव रेणु दाहाल भने अनाहकको हल्ला चलेको भन्दै हैरान छिन् । बुवाको नामसँग जोडेर जबरजस्ती महाधिवेशन आयोजक समितिको सदस्य बन्न लागेको भनी नारायणकाजी खेमाले चलाएको प्रचारबाजीले उनलाई दिग्दार बनाएछ । उनले नचाहिँदो मिडियाबाजी भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत नै खण्डन गरिन् । 
 
रेणुले पालुङ्टार वैठकले दिएको जिम्मेबारीअनुसार पदीय बाँडफाँट होस् भन्ने सुझाव मात्र दिएकी छैनन्, आफु केन्द्रिय महाधिवेशन आयोजक समितिमा नबस्ने पनि घोषणा गरेकी छन् । उनले त कार्यकर्ताको मान मर्दन नहुने प्रकारले एकताको सन्देश जाओस् भन्दै आफु महाधिवेशनमा कार्यकर्ताबाटै विधि र प्रक्रियाबाट निर्वाचित भएर आउने ठोकुवा पनि गरेकी छन् ।

Post a Comment

0 Comments