Subscribe Us

अपहरणमा परेका बालकले यसरी छले अपहरणकारीको आँखा

महोत्तरी, १६ जेठ । सर्लाहीका एक बालकले अपहरणकारीको फन्दाबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । सर्लाही ढुङ्ग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसेकुमारलाई अपहरणकारीहरले आइतबार बिहान अपहरण गरेर लगेका थिए । 

दुईओटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ‘आमा बिरामी छिन्’ भनी झुक्याएर अपहरण गरेर लगेका थिए । बालकले आफु विद्यालयमा पढ्न गएको समयमा आमा बिरामी अवस्थामा सुख्खे पोखरीस्थित अस्पतालमा भर्ना भएको भनी झुक्याउँदै लगेको बताए । मोटरसाइकलमा राखेर ती व्यक्तिले बालकलाई पूर्व–सर्लाहीको एक जङ्गलमा लगेर आफूलाई आँखामा पट्टी बाँधिदिएको बताए । 

अपहरणकारीहरु एकापसमा गफिन थालेपछि आँखा छलेर भागेको बालकको भनाई छ । उनी भागेर जङ्गलमा दाउरा सङ्कलन गर्दै गरेको महिलाकहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको बताए । बालकका अनुसार आफू भागेको थाहा पाएपछि अपहरणकारीले सुन सुन भन्दै दौडेर बोलाउन आएका थिए । सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अवस्थाबारे स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । 

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार सिंहका अनुसार बालकका आफन्तलाई बोलाउन सूचना पठाइसकिएको छ । 

Post a Comment

0 Comments