Subscribe Us

मिल्न खोजेका हात फेरि रोकिए, के हुन् समस्याहरु ?

काठमाडौं । पोखरामा सार्क मन्त्रिपरिषद् बैठक भएका वेला भारतका विदेशमन्त्री सुष्मा स्वराजले ४ चैतमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापासँग वार्ता गरिन् ।त्यसयता नेपाल र भारत सरकारबीच राजनीतिक तहमा संवाद ठप्प छ । प्रधानमन्त्री ओलीको राजकीय भ्रमण (७–१२ फागुन) बाट पनि नेपाल र भारतबीच उच्च नेतृत्व तहमा समझदारी कायम हुन सकेन ।
Prime Minister KP Sharma Oli shakes hands with his Indian counterpart Narendra Modi during a bilateral meeting in New Delhi on Saturday, February 20, 2016. Photo: twitter.com/narendramodi

पोखराको साइडलाइन वार्ता केवल भेटवार्ताको निरन्तरता मात्रै थियो । पछिल्लोपटक सरकार परिवर्तनको एमाओवादी–कांग्रेस कसरत सफल नभए पनि यस घटनाले भारतप्रति प्रधानमन्त्री ओली रुष्ट छन् ।

यो घटनाको प्रतिक्रियास्वरूप सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको २७ वैशाखदेखि २ जेठसम्मको भारत भ्रमणको कार्यक्रम रद्द गरेको थियो । सरकार फाल्न सक्रिय रहेको आरोपसहित दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई पदमुक्त गरेर फिर्ता बोलाएपछि नेपाल–भारत सम्बन्ध झनै चिसिएको छ ।

यो घटनामा भारतको औपचारिक प्रतिक्रिया आएको छैन । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थानमा रहेर नेपाल–भारत सम्बन्ध हेरिरहेका डा. निहार नायकले भने, ‘मैले बुझेसम्म हमेसा नेपालका बारेमा सोचिरहने फुर्सद भारतको नेतृत्वलाई छैन ।’

भारतले चाहेको सम्बन्धको चार मोडालिटी
भारतले सम्बन्ध विस्तारका लागि नेपालसाग चार मोडल प्रस्तुत गरेको छ । जसमा, भारत–पाकिस्तान सम्बन्धको मोडल, भारत–भुटान सम्बन्धको मोडल, सम्बन्ध पनि नतोड्ने, कुरा पनि नगर्ने (संवादहीनताको मोडल) र भारतको सबै कुरा मानिदिने गरी असल सम्बन्ध स्थापित गर्ने मोडल छन् ।

प्रधानमन्त्री केपी ओली भारतले चाहेको चारमध्ये कुनै पनि मोडालिटी स्वीकार गर्ने पक्षमा छैनन् । स्रोतका अनुसार ओलीको पाँचौँ मोडल यस्तो छ, ‘राजनीतिक मामिला (मधेस)मा भारतको पूर्ण अहस्तक्षेप र बाँकी विषयमा सम्मानजनक साझेदारी ।’ भारतले राजकीय भ्रमणमा बोलाएर संयुक्त वक्तव्य जारी गर्न नमानेपछि रुष्ट ओलीले पाँचौँ मोडल रोजेका हुन् ।

भारतको सामना गरेर जानुपर्ने पक्षमा ओली रहेको उनीनिकट स्रोत बताउँछ । ‘मधेस समस्या आफ्नै तरिकाले सम्बोधन गर्न ओली चाहन्छन् । तर जलस्रोत, व्यापार, पारवहनलगायतका विषयमा सम्झौता गर्न उनी तयार छन्,’ स्रोत भन्छ, ‘ओलीको फिफ्थ च्वाइसलाई भारतले कुनै हालतमा समर्थन गर्दैन । भारतले सुरक्षा चासो जोडेर नेपाली राजनीतिमाथि प्रभाव जमाउन चाहन्छ । उनी यसलाई मञ्जुर गर्न तयार छैनन् । बरु, भारत कुन तहसम्म जान्छ, सामना गरेर जाउँ भन्नेमा उनी छन् ।’

भारत मधेसबाट कांग्रेसतिर
पाँच महिनाको नाकाबन्दीपछि भारत मधेसबाट काठमाडौं ‘सिफ्ट’ भएर कांग्रेसतिर केन्द्रित छ । ‘कांग्रेसको कुरा नसुनी मधेसको आन्दोलन सम्बोधन हुँदैन भन्नेमा भारत पुगेको छ ।

त्यसकारण अब कांग्रेसलाई उपयोग गर्ने भारतको रणनीति अनुमान गरिँदै छ,’ नेपाल–भारत सम्बन्धबारे जानकार अच्युत वाग्लेले भने, ‘संविधान जारी हुँदा भारत कांग्रेससँग पनि रुष्ट थियो । यतिवेला कांग्रेस भारतमैत्री शक्तिमा दर्ज भएको छ । यो भारतको नेपाल नीतिका लागि पनि प्याराडाइम सिफ्ट हो ।’

गुमेको अवसर
प्रधानमन्त्री केपी ओली र एमालेसँग भारतीय जनता पार्टीको विश्वासिलो राजनीतिक सम्पर्क थिएन । भएको सामान्य सम्पर्क पनि अहिले टुटेको छ । ‘यदि राष्ट्रपतिको भ्रमण नरोकिएको भए उच्चस्तरीय संवादले निरन्तरता पाउँथ्यो र भारतको चाहना बुझ्ने ठूलो अवसर हुन्थ्यो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यस सन्दर्भमा सरकारले ठूलो गल्ती गर्‍यो । सरकारले महत्त्वपूर्ण अवसर गुमायो ।’

असफल खुफिया एजेन्सी
ओली नेतृत्वको सरकार दुई महिनामा ढल्ने भारतीय खुफिया एजेन्सीहरूको बुझाइ थियो । पटक–पटकको भेटमा उनीहरूले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई यही भन्दै आएका थिए । ‘जनताले दुई महिनामा सिंहदरबार घेरेर हटाउँछन् भन्ने उनीहरूको अनुमान असफल भयो ।

बरु ओली सरकार नाकाबन्दीको भरमा टिक्न सफल भयो,’ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘सडकका मानिसले ओलीको राष्ट्रवादलाई मन पराएका छन् र यही मनोविज्ञानका आधारमा सरकार भनिएजस्तो कमजोर छैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments