Subscribe Us

अदालतमा पैसा नदिई काम नबन्ने व्यापक गुनासो

भक्तपुर । परिवारविरुद्ध अंश चलन मुद्दा लडिरहेका एकल महिला नाम परिवर्तन नाम रमिता  मुद्दाको पेसी भएकाले आइतबार कार्यालयमा बिदा मिलाएर भक्तपुर जिल्ला अदालत आएकी थिइन् ।

 तर अदालतको कल लिस्टमा उनको मुद्दाको नाम थिएन । उनले सिधै ५ नं फाँटमा गएर गुनासो पोखिन । अदालतका कर्मचारीले रुखो शैलीमा ‘हामीले फाइल पठाएका हौँ माथि गएर बुझ्नुस्’भन्दै ठाडो जवाफ फर्काए ।

त्यसैगरी, सवारी ज्यान मुद्दामा तारेख लिन आएकी एक महिलाले तारेख लिन मात्रै फाँटवालालाई रु ५०० देखि एक हजारसम्म चिया पानीखर्च दिनपरेको गुनासो गरिन् । पैसा नदिएसम्म तारेख दिन आलटाल गर्ने गरिएको उनी बताउँछिन् ।

भक्तपुर जिल्ला अदालतमा हुने अनियमितता र ढिलासुस्तीका उल्लिखित दुई घटना उदाहरण मात्रै हुन् । अदालतमा अहिले कर्मचारी र भौतिक पूर्वाधारको कमी रहेको छ । अदालतमा यसअघि तीन वटा इजलास थिए, हालै दुई वटा थपेर पाँच पु¥याइएको छ । तर सो अनुसार कर्मचारीको सङ्ख्या र भौतिक पूर्वाधारमा वृद्धि नहुँदा अदालतको काम कारबाही प्रभावित हुँदै आएको छ । कर्मचारीले यसैको फाइदा उठाउँदै सेवाग्राहीसँग पैसा माग्ने गरेको जनगुनासो छ ।

अदालतमा सेवाग्राहीले तारेख लिने, म्याद तामेल गर्ने, नक्कल सार्ने लगायतका हरेक कार्यमा कर्मचारीलाई चियापानीको नाममा दुई चार हजार दिनुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन् । अन्यायमा परेर न्याय माग्न आएका पीडितलाई अदालतका कर्मचारीको व्यवहारले थप पीडा हुने गरेको उनीहरु बताउँछन् ।

अदालतमा लेनदेनसम्बन्धी मुद्दा खेपिरहेका रामबहादुर (नाम परिवर्तन ) ले आफ्नो म्याद बुझाउन सात महिना समय लागेको बताए । सूर्यविनायक क्षेत्रमा जाने तामेलदार नभएको बहाना गर्दै अदालत प्रशासनले म्याद बुझाउन मात्रै सात महिना लगाएको उनले जानकारी दिए । उनले भने – “सात महिना लामो प्रयासपछि अर्कै क्षेत्रको तामेलदारलाई आफैँले लिएर गएर म्याद बुझाउन लगाएँ ।”

त्यस्तै कटुञ्जेका विजय अछामी तारेख लिँदासमेत अदालतका कर्मचारीलाई चियापानी खर्च दिनुपरेको गुनासो गर्छन् । उनको मुद्दाको अन्तिम किनारा लागिसकेको छ । मुद्दाका कुनै पनि कागजपत्रको नक्कल उतार र दुई÷चार पाना फोटोकपी गर्न पनि कर्मचारीलाई एक÷दुई हजार नदिई काम नबन्ने अनुभव उनले सुनाए । उनले भने – “दिएन भने काम बन्दैन । नदिएर के गर्नु रु”

अदालतका कर्मचारीले कलम नभएको बहाना गरेर पनि काममा आलटाल गर्ने गरेको एक सेवाग्राहीले बताए । उनले भने, “कहिलेकाहीँ आफ्नै कलम दिन्छु तर फर्केर आउँदैन ।” उनले कर्मचारीले चाडबाडअनुसारको खान्कीसमेत माग्ने गरेको गुनासो गरे । कहिले बिस्केट आयो, कहिले देवाली आयो भन्दै भोज नखुवाउने रु खै हामीलाई केही छैन रु जस्ता गुनासो फाँटका कर्मचारीले गर्ने गरेको उनको भनाइ छ ।

कर्मचारीले सम्बन्धविच्छेदका मुद्दामा मुद्दा छिटो फैसला गराउने नाममा आर्थिक चलखेल गर्ने गरेको एक अधिवक्ताले बताए । उनका अनुसार विशेषगरी एकल महिला र युवावस्थामा सम्बन्धविच्छेद गर्न आउनेको मुद्दा छिटो टुङ्ग्याउने आश्वासन दिएर फाँटका कर्मचारीले रकम असुल्ने गरेका छन् । उनले भने, “सम्बन्धविच्छेदका मुद्दामा विशेषगरी महिलालाई आर्थिक र मानसिक शोषण गर्ने प्रवृत्ति अदालतभित्र मौलाएको छ ।”

अर्का पीडितले मुद्दाको पेसी हुँदासमेत मिसिल फाँटमा आएपनि नआएको भनेर आलटाल गर्ने, एक पक्षको प्रभावमा परेर अर्को पक्षलाई झुलाउने र अन्तमा समयावधि सकियो भन्दै भोलि आउनू भनेर फर्काउने गरेको गुनासो गरे ।

अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले भने काममा ढिलासुस्ती भएको र चियापानीको नाममा रकम माग्ने गरेको गुनासो आफूसमक्ष नआएको बताए । उनले सेवाग्राही पनि सचेत हुनुपर्ने बताउँदै त्यस्तो गुनासो आएको खण्डमा गलत क्रियाकलाप गर्ने कर्मचारीलाई कानुनबमोजिम तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए । कर्मचारीको क्रियाकलाप निगरानीमा राख्न कार्यालयमा सिसी टिभीसमेत जडान गरिएको जानकारी पनि उनले दिए ।

उनका अनुसार अदालतमा भौतिक पूर्वाधार र कर्मचारी अभाव भएको छ र सूर्यविनायक क्षेत्रमा लामो समयदेखि तामेलदार खाली भएको र हालै मात्र भएका तामेलदारलाई त्यसक्षेत्रको मुद्दाको म्याद पठाउने कार्यमा लगाइएको हो ।

मुद्दाका पक्षले आदेशको नक्कल एक घन्टामा प्राप्त गर्न सकिने व्यवस्था गरिएको तर कहिलेकाहीँ प्राविधिक कारणले केही समय ढिला भएको हुन सक्ने बताउँदै श्रेस्तेदार श्रेष्ठले अदालतमै फोटोकपीको व्यवस्था गरिएको हुँदा कुनै शुल्क नलाग्ने जानकारी दिए । उनले भने, “शतप्रतिशत सही भएको छ भन्ने पनि होइन तर गलत कार्य भएको छ भन्ने उजुरी आएको खण्डमा आवश्यक कारबाही गरिनेछ । सबैभन्दा मुख्य कुरा कर्मचारीबाट भएका बदमासी जानकारीमा आउनुप¥यो ।” रासस

Post a Comment

0 Comments