Subscribe Us

गैरव्यवसायीलाई युरोप छिराउन खोज्दा वैरो संघका अध्यक्ष ढकाल आफैँ ‘रिजेक्टेड’

काठमाडौं, ३२ जेठ ।  गैरव्यवसायीलाई म्यानपावर व्यावसायी बनाएर युरोप छिराउन खोज्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा खगोल ओभरसिजका सञ्चालक विमलप्रसाद ढकाललाई नै स्विट्जरल्यान्डले भिसा रिजेक्ट गरिदिएको छ । 

स्विटजरल्यान्डको जेनेभामा भएको १०५औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आइएलओ कन्भेन्सन)मा भाग लिन संघको तर्फबाट संघका अध्यक्ष ढकाललाई निमन्त्रणा आएकोमा उनले गैरव्यवसायीलाई पनि व्यवसायी भन्दै लैजान खोजेपछि स्वीस राजदूताबासले उनलाई भिसा नदिएको हो ।

पाँच गैरव्यवसायीलाई व्यवसायी बनाएर प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएर युरोप पु¥याएर त्यहीँ छाडेर उनी भने नेपाल फर्कने योजनाका साथ लागेका ढकालको योजना दूताबासले पत्ता लगाएपछि अध्यक्षलाई समेत भिसा नदिएको पाइएको छ । यसपछि अध्यक्ष ढकालको योजना असफल मात्र भएन उनको भित्री कथासमेत बाहिर आउन थालेको छ । समाचार स्रोतले उपलब्ध गराएको विवरणअनुसार युरोप छिर्न चाहने गैरव्यवसायीहरुमा २ जना महिला र ३ जना पुरुष थिए । 

यसरी ढकालले मानव ओसार–पसार गर्न लागेको थाहा पाएपछि ढकाललाई त आइएलओ कन्भेन्सनमा भाग लिनका लागि दूतावासले भिसा दिएन नै त्यसमाथि उनीसँगै अन्य ४ जना वरिष्ठ म्यानपावर व्यवसायीहरुको पनि भिसा दिएन । ती व्यवसायीहरु पनि अध्यक्ष ढकालकै कारणले सम्मेलनमा जाने अवसरबाट वञ्चित भए । ढकालसहित ती ४ जना व्यवसायीहरुको नामावली पनि प्रभाव दैनिकलाई स्रोतले उपलव्ध गराएको छ । स्रोतले भने ती ४ जना व्यवसायीहरुलाई भने ढकालको कारणले भिसा नपाइएको हो भन्ने थाहा नै नभएको बताउँछ । 

ढकालको यस्तो हर्कतले आफूले त भिसा पाएनन् अरु स्वच्छ छवि भएका व्यवसायीलाई पनि लज्जित बनाएको स्रोत बताउँछ । अनाधिकृत तरिकाले ढकालको युरोप मान्छे ओसार्ने सपना तुहिएपछि उनी भने व्यवसायिक कामले आइएलओमा जान नपाएको बहानामा काठमाडौंमा नै बस्दै आएका छन् । यस विषयमा थप जानकारी लिन बारम्बार प्रयास गर्दा पनि ढकाल सम्पर्कमा नै आउन चाहेनन् ।

फ्रि भिसा, फ्रि टिकटको मुद्दा उठिरहेको बेला यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बेला सम्मेलनमा अध्यक्ष नजानु अत्यन्तै दुःखलाग्दो भएको एक व्यवसायीले बताएका छन् । तर, अध्यक्ष ढकालले भिसा नपाउनुको खास कारण भने सार्वजनिक गरेनन् । उनले व्यावसायीलाई ढाँट्दै भिसा आवेदन ढिला दिएकाले भिसा नदिएको बताउँदै आएका छन् । गत हप्ता दूताबासले उनको भिसा ‘रिजेक्ट’ गरेपछि अध्यक्ष ढकालले अमेरिकाको मल्टिपल भिसावाहक संघकै पूर्वअध्यक्ष तिलक रानाभाटलाई जेनेभामा जान रोइकराई गरेकोसमेत स्रोत बताउँछ ।

पूर्वअध्यक्ष रानाभाटलाई आतेजाते खर्चसमेत उपलब्ध गराउने तर संघको तर्फबाट उपस्थिति जनाउन अध्यक्ष ढकालले अनुरोध गरेपछि रानाभाट जान राजी भएको स्रोत दाबी गर्छ । सम्मेलनमा नेपालका तर्फबाट नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट प्रतिनिधित्व भएको थियो । एक नेपाली प्रतिनिधिका अनुसार सम्मेलनमा संघका अध्यक्ष ढकालको नामसहितको सिट खाली थियो । तर, त्यहिबेला अध्यक्ष ढकाल भने राजधानीमै आफू सम्मेलनमा नजानुको कारण लुकाउँदै थिए ।

अध्यक्षको बदमासीका कारण नेपाली व्यवसायीको समस्या अन्तर्राष्ट्रियकरण नभएकोमा व्यवसायीहरु रुष्ट भएका छन् । व्यावसायी मात्र होइनन्, यही सम्मेलनमा नेपाली आप्रवासी कामदारहरुले भोग्दै आएका समस्या र त्यसका समाधानका बारेमा संघका अध्यक्षले अन्तर्राष्ट्रियकरण गर्नुपर्ने थियो भन्छन्, सम्मेलनमा भाग लिने एक सदस्य । उनका अनुसार नेपालबाट पूर्वअध्यक्षले भाग लिँदा यसले कुनै खास अर्थ राख्न सक्दैन, जति बहालवाला अध्यक्षले भाग लिन्छन् ।

नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने अध्यक्ष स्वयं नै विदेशमा अवैध तरिकाले मान्छे ओसार्ने काममा तल्लिन भएर भिसा नपाएपछि अन्य व्यवसायीहरुले युरोपलगायत मुलुकमा भिसा पाउन मुश्किल हुने व्यावसायीहरु नै बताउँछन् । व्यवसायीको पक्षमा उभिनुुपर्ने अध्यक्ष नै गलत बाटोबाट हिँडेपछि विदेशमा नेपाली कामदारको मार्केटिङ गर्न जाने व्यवसायीहरुले कसरी भिसा पाउने ? भन्दै प्रश्न गर्छन्, अर्का व्यवसायी ।

हरेक २÷२ वर्षमा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा एक वर्ष ट्रेड युनियनहरुको मुद्दामाथि छलफल गर्ने र अर्को वर्ष आप्रवासी कामदारहरुको विषयमा छलफल हुने गरेको छ । यसैअनुसार यसवर्षको सम्मेलनमा आप्रवासी कामदारको बारेमा छलफल हुने कार्यक्रम रहेकाले विश्व श्रम संगठनले संघलाई बोलाएको थियो ।

कसरी दिइएन भिसा ?

अध्यक्ष ढकालले आइएलओलाई नेपालमा फ्रि भिसा, फ्रि टिकटले नेपाली व्यावसायी र कामदार मारमा परेको भन्दै यसका लागि थप विषयमाथि कुरा राख्न थप व्यवसायी जेनेभा जानुपर्ने भयो भन्ने हिसाबले पत्र लेखेका थिए । त्यसैलाई विश्वास गरेर आइएलओले सहमति पत्र पनि पठाएको थियो । तर, दूताबासले भिसा दिने बेलामा सबैलाई एक्लाएक्लै बोलाएपछि भने अध्यक्ष ढकालको ६ जना गैरव्यवसायीलाई युरोप पु¥याएर ३० लाख कमाउने योजना ध्वस्त भएको हो । 

भिसा दिने बेलामा दूताबासले सबैका नाम संघको वेभसाइटमा हेर्दा वरिष्ठ व्यवसायीको नाम मात्र भेटाएपछि ढकालमाथि शंका गरेको थियो । गैरव्यवसायीहरुको नाम नभेटाएपछि दूताबासले ढकाललाई बोलाएर सोध्यो, तर उनले अधिकारीलाई विश्वास दिलाउन नसकेपछि दूताबासले भिसाका लागि निवेदन दिने कसैलाई भिसा नदिएको स्रोतले बताएको प्रभाव दैनिकमा समाचार छ । 

Post a Comment

0 Comments