Subscribe Us

‘हिन्दू’ राज्य राख्न हुँदैछ यस्तो खेल

https://encrypted-tbn2.gstatic.com/images?q=tbn:ANd9GcRBtTeS2x9tS0crMmQ6tCFIwdQk4f4GJRuyUmq72bYfOvYSQk4gकाठमाडौं । संविधानलाई दुई तिहाई बहुमतले संशोधन गरी हिन्दू राज्य कायम गराउने खेलमा भारतीय जनता पार्टी सफलता उन्मुख देखिएको छ । नेपालका राजनीतिक दलका मुख्य नेताहरुलाई विभिन्न प्रकारका प्रलोभन देखाएर चौतर्फी दबाब समेत कायम गरी भाजपाले नेपाललाई हिन्दू राज्य कायम गराउने अभियानलाई तिव्रता पनि दिएको छ । 

सवै पक्ष मिलाउने नाममा भारतीय संस्थापनको स्वार्थअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सकारात्मक देखिएको छ । 

हिन्दू राज्य कायम गर्ने कवोलनामा गरे ओलीको सरकारलाई ०७४ माघसम्म टिकाएर सफल पारिदिने पासा भाजपाले फ्याँकेपछि अहिले प्रधानमन्त्री पनि हिन्दू राज्यका पक्षमा उभिएको स्रोतले दाबी गरेको छ । यस्तो दबाबका लागि नेताहरुले गुरुका रुपमा मान्ने मुक्तिनाथ बाबा भनिने कमलनयानाचार्य र भारतमा बसी नेपालमा हिन्दू राज्यका लागि फन्डिङ सहयोग गर्ने काली बाबालाई भाजपाले उचालेको थियो । यहि अभियानका लागि भाजपाका विभिन्न नेताहरु नेपालमा सक्रियतासाथ अहिले पनि खटिइरहेका छन् । 

भाजपाले हिन्दू राज्यका लागि लविङ गर्न मधेसवादी दलहरुलाई पनि सुझाव दिएका कारण अहिले उनीहरुले आन्दोलन मत्थर बनाएका हुन् । संविधानमा मधेसको अधिकार भन्दा पनि भारतीय चासोलाई सम्बोधन गर्नका लागि मुख्य दलका नेताहरु सकारात्मक भएको भारतीय एजेन्सीहरुको रिपोर्ट पुगेपछि विदेश मन्त्रालयले पनि नेपाल नीतिमा खुकुलो प्रावधान अघि सारेको छ । हिन्दू राज्यकै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अचेल सकारात्मक देखिएका छन् । यहि विषयमा नर्भिक अस्पतालमा प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रसँग कुराकानी भएको स्रोतले जनायो ।

यसका लागि प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारसहित मधेसवादी दलका नेताहरुलाई समान मुद्दामा सहमति गराएर आफ्नो स्वार्थ पुरा गर्न भाजपाका नेपाल हेर्ने उपाध्यक्ष भगतसिंह कोसीयारीको नेतृत्वमा भारतीय नेताहरु सक्रिय छन् । 

भाजपा उपाध्यक्ष रेणु देवी, विजय जोली, विहारका विधायक सुशीलकुमार जैसवाल, सन्दीप श्रीवास्तव, झारखण्डका विधायक शिवशंकर ओराओन सक्रिय रहेका छन् । उनीहरुको सक्रियता सफलता उन्मुख रहेको खबर पाएका कारणले विदेश मन्त्रालयका प्रवक्ताले मात्र जानकारी दिने पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैं उपस्थित भएर नेपालसँगको सम्बन्ध सुधार हुन थालेको बताएकी थिइन् । 

नेपालमा रहेका यी भारतीय सांसद र नेताहरुले बारम्बार टेलिफोनवार्ता र प्रत्यक्ष वार्ताका क्रममा नेपाली नेताहरुलाई हिन्दू राज्यका लागि अघि बढ्न दबाब दिएका थिए । भारतसँग सँधैभरी चिसो सम्बन्ध बनाएर बस्न नहुने सोच बनाएका सत्तारुढ दलका नेताहरु पनि भारतीय प्रस्तावमा सकारात्मक देखिएको स्रोतले जनायो । यसैबीच, नेपाललाई हिन्दू राज्य कायम गराउनैपर्ने अभियानमा लागेका कांग्रेस नेता खुमबहादुर खड्काले भारतको नयाँदिल्लिलगायतका ठाउँमा भाजपाका नेताहरु र धार्मिक हिन्दु गुरुहरुसँग परामर्श गरेका छन् । स्रोतका अनुसार नेपाललाई हिन्दु राज्य नबनाई नछाड्ने अठोट गरेका खड्कालाई भारतीय गुरुहरुले सहयोग गर्ने आश्वासन दिएका छन् ।

Post a Comment

0 Comments