Subscribe Us

प्रचण्ड पो रहेछ विवादको मुल बिउ

काठमाडौं । फुटेका माओवादीबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रमा अहिले केन्द्रिय सदस्यभित्र पर्नका लागि तछाडमछाड चलिरहेको छ । ६ सय ९९ भित्र नपरेका पुष्पकमल दाहाल (प्रचण्ड) माओवादीका नेताहरुले पार्टी नै छाड्ने धम्की दिएपछि त्यसलाई अहिले एक हजार ९९ को बनाइएको छ । एक हजारभित्र पर्नका लागि अहिले प्रचण्ड निवास लाजिम्पाट धाउनेको भीड नै बढेको छ । प्रचण्ड माओवादीका पुराना केन्द्रिय सदस्यहरुको बास नै अहिले लाजिम्पाट नजिकका होटल हुन थालेको बताइन्छ ।

आफू नजिकका कार्यकर्ता जति सबैलाई केन्द्रमा तान्ने प्रचण्डको योजनाका कारण अहिलेको एक हजार केन्द्रिय सदस्य बनेको एक नेताले जनप्रहारलाई बताए । माओवादी केन्द्रमा पदीय भागबण्डा र केन्द्रिय समितिका कारण उठेको विवादको मुल बिउ अध्यक्ष प्रचण्ड भएको समेत खुलासा भएको छ ।

एकतामा प्रक्रियामा सामेल हुँदा प्रचण्डका २ सय १८, रामबहादुर थापा समुहका १ सय २४, मातृका यादवका १९, मणि थापाका, १५, विप्लव माओवादी विद्रोही समुहका ७ र नयाँ शक्तिका ४ जना थिए । त्यसो गर्दा कायम हुन आउँदा जम्मा ४ सय १७ र अरु छुटेका गरी शुरुमा ४ सय ९९ जनाको केन्द्रिय समिति बनाउने एकता संयोजन समितिमा सहमति भएको थियो । तर प्रचण्डलाई त्यसमा २ सय सिट खाली राखेर जानुपर्ने प्रस्ताव राख्दै एक सय तत्कालै आफ्नो पुरानो केन्द्रिय समितिका साथीहरु फर्काउने प्रस्ताव गरे । 

शुरुमा सबैले त्यसलाई स्वीकार्दै ६ सय ९९ जनाको केन्द्रिय आयोजक कमिटि बनाउने प्रस्तावपारित भयो । तर पछि बादलले पनिआफ्नो पुरानो केन्द्रिय कमिटिका साथीहरु फर्काउने प्रस्ताव गरेपछि प्रचण्डले रोपेको विवादको बिउले उग्र रुप लियो । प्रचण्डले आफू नजिकका नेता कार्यकर्तालाई केन्द्रिय सदस्य बनाउने आश्वसन दिइसकेकाले त्यसलाई घटाउने अवस्था नै देखिएन । बरु थप्नुको कुनै विकल्प भएन । त्यसपछि फेरि १ हजार एक सय ९९ को केन्द्रिय समिति बन्यो ।

प्रचण्डले रोपेको यो विवादको बिउको अझै समाधान भएको छैन । पहिलो विवाद समाधान नहुँदै फेरि अर्को विवाद सुरु भएको छ । सांगठनिक कुरा भन्दा एकता पहिलो प्राथमिकता भएको भन्दै प्रचण्ड जंगिएपछि अहिले पदीय वरियता मिलाउन प्रचण्डलाई फलामको च्युरा चपाउनु सरह भएको छ । एकताका लागि दोहोरो भूमिका खेल्दै सबैलाई एकतामा ल्याएका प्रचण्डलाई अहिले नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीचको वरियता मिलाउननिकै कठिन भएको छ ।

एकता हुनुपूर्व बादललाई नारायणकाजीभन्दा माथिल्लो वरियतामा राख्ने ठोकुवा गरेका प्रचण्डले उता नारायणकाजीलाई पनि बादललाई भन्दा माथिल्लो वरियतामा राख्ने आश्वसन दिएर एकता भएको खबर छ । अहिले पदीय वरियता मिलान गर्न प्रचण्डलाई निकै सकस परेको छ । नारायणकाजीले त बादलभन्दा मुनि बस्नुपरेको खण्डमा आफ्नो बाटो लाग्ने चेतावनी समेत दिएका छन् ।

Post a Comment

0 Comments