Subscribe Us

नाती राजा फर्काउन ज्ञानेन्द्रको भोज

काठमाडौं । कुलमण्डन खानले सुरु गरेको शाहवंशीय राजतन्त्रलाई आफ्नो पालामा सम्हाल्न नसकेका पूर्वराजा ज्ञानेन्द्र शाह फेरि नाती राजा फर्काउने नयाँ पासा फ्याँक्ने काममा लागेका छन् ।

 दुई पटक संविधानसभाको चुनावपछि मुलुक राष्ट्रपतीय प्रणालीमै गणतन्त्र स्थापित हुन लागेपछि मुलुकको अहिलेको अवस्थामा खेलोफड्को गरेर नाती हृदयेन्द्रलाई संवैधानिक वा सांस्कृतिक राजाका रुपमा फर्काएर वंश विरासत जोगाउने खेलमा ज्ञानेन्द्र लागेका छन् । 

हिन्दुराज्यको लविङका आधारमा सांस्कृतिक राजाको पनि मुद्दा राख्नुपर्ने सल्लाह उनले विभिन्न पक्षसँग गरिरहेका छन् । पूर्वराजावादीहरु यतिवेला सल्बलाउन थालिसकेका छन् । संविधान स्वीकार नगरेको भारतसँगै गुहार मागेर फर्किएका ज्ञानेन्द्रले त्यसका लागि पूर्वदेखि पश्चिमसम्म नै गोप्य वैठक र योजना बनाइरहेको स्रोतले जनाएको छ । 

अघिल्लो साता झापामा पूर्वपञ्चदेखि नयाँ हिन्दू युवा संघमा आवद्ध युवाहरुसँग निरन्तर परामर्शमा छन्, ज्ञानेन्द्र । पूजाका नाममा मठमन्दिर हिँड्ने ज्ञानेन्द्रले राजतन्त्रका लागि सहानुभूति बटुल्नका लागि पारिवारिक सदस्यहरु पनि बाहिर निकाल्न थालेका छन् ।

 ज्ञानेन्द्रले शनिबार दिनभरी काभ्रेको धुलिखेलमा वैठक राखी धारणा बुझ्ने काम गरेका थिए । उनले दिवा भोज दिएरै राजतन्त्रको सम्भावनाका विषयमा कुराकानी गरेको स्रोतले जनायो । धुलिखेलको हिमालयन रिसोर्टमा पूर्वराजा देशका केही शीर्ष नेताका प्रतिनिधिबीच छलफल भएको थियो । ‘राजसंस्थालाई स्पेस (ठाउँ) दिन र हिन्दू राष्ट्र बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादीलाई राजी बनाउने काम भइरहेको छ’, स्रोतले भन्यो, ‘स्पेस दिने भनेको सेरेमोनियल राजा बनाउने हो । जसले संविधान मान्छ । संविधानको तल रहन्छ ।’

यसअघि हिन्दू युवा संघ नेपालका अध्यक्ष विकास ठाकुरले पनि २०७३ सालको मध्यसम्म नेपाल हिन्दू राष्ट्र घोषणा भइसक्ने र राजा फर्किने दाबी गरेको योजनाअनुसार ज्ञानेन्द्र देश दौडाहामा लागेका छन् भने उता हिन्दू अभियानमा कांग्रेसका शक्तिशाली खुमबहादुर खड्कादेखि पूर्व राजावादीहरु र भारतीय जनता पार्टीका नेताहरु पनि सक्रियता पूर्वक नेपालमा लागि परेका छन् ।

Post a Comment

0 Comments