Subscribe Us

घैंटेको सम्पत्तिले लसभेगासमा जुवा खेल्दै ठेकदार गौतम,
करोडौंको टेन्डर हत्याउन नक्कली कागजात

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठले थुपारेको कालो धनमा यतिखेर उनका सहयोगीले मोजमस्ती गर्दै आएका छन् । 
पाँच वर्षदेखि घैंटेको पिछलग्गु भएर हिँडेका हेटौंडाका सन्तोष गौतमले इन्काउन्टरपश्चात् घैंटेको सम्पत्तिमा मोजमस्ती गर्दै आएका छन् । गौतम गत साता अमेरिका पुगेका छन् । 

सम्पत्ति शुद्धीकरणबाट बच्न घैंटेले करोडौं रूपैयाँको सम्पत्ति गौतमलगायत एक दर्जन बढीको नाममा लुकाएका थिए । स्रोतका अनुसार तीन वर्ष अगाडि दुई करोडमा खरिद गरेको रौतहट निजगढको जग्गा गौतमको नाममा छ । जसको हालको मूल्य १५ करोडभन्दा माथि बिक्री हुने जानकार बताउँछन् ।

निजगढमा विमानस्थल बन्ने भएपछि घैंटेले उक्त जग्गा गौतमको नाममा पास गराएर राखेका थिए । तर, हाल सो जग्गा सार्वजनिक भएकोे भन्दै स्थानीयले मुद्दा हालेपछि गौतम तनावमा छन् । पाँच वर्ष अगाडि दरबार मार्गमा गोली काण्ड मच्चाएर लुक्न सर्लाहीका अर्का गुन्डा नाइके बाबु थापाको ओढारमा पुगेका घैंटेको भेट गौतमसँग भएको थियो । गौतम गुन्डा थापाका सहयोगी थिए । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या गरेको आरोपमा हाल थापा कारागारमा छन् ।

आपराधिक पृष्ठभूमिबाट गुज्रिएका गौतम घैंटेको आशीर्वादका कारण ठेकदारको बिल्ला भिर्न पाएको घैंटे निकट स्रोत बताउँछ । घैंटेको पैसाले यतिखेर गौतम अमेरिका जाने मात्र होइन, लसभेगासमा जुवा खेल्ने समेत हैसियत राख्छन् । गजुरमुखीमा भएको सम्पूर्ण लगानी घैंटेको भए पनि सेयर अलग अलग व्यक्तिको नाममा भएका कारण इन्काउन्टरपश्चात् सबैलाई आपुताली परेको स्रोतको दाबी छ । 

घैंटे इन्काउन्टरमा मारिनुभन्दा ६ महिना अगाडि गजुमुखी कम्पनीका सम्पूर्ण सेयर होल्डरलाई पैसा चुक्ता गरी हटाएको उनकी श्रीमती पिङ्की शेर्पा दाबी गर्छिन् । कम्पनीको आधिकारिक सेयर होल्डर दीपक गौतमले एक करोड रूपैयाँ लिई आफ्नो सेयर घंैंटेलाई छाडेर व्यापार गर्न कतार पुगेका थिए । तर, त्यही समयमा घैंटे इन्काउन्टरमा मारिएपछि त्यसको फाइदा उठाउँदै कम्पनीका सेयर होल्डरले पुनः गजुरमुखीले कब्जा गरेको आरोप घैंटे श्रीमती पिङ्कीको छ । 

उता सडक डिभिजन प्रोजेक्ट संखुवासभा खाँदबारीले आह्वान गरेको करिब एक अर्बको टेन्डर हत्याउन गजुरमुखीले नक्कली कागजात पेस गरेको समेत खुलासा भएको छ । दुई साता अगाडि उक्त टेन्डर गजुरमुखीले पूर्वका गुन्डा रोशन रोक्काको समुह परिचालन गरेर अन्य ठेकदारलाई टेण्डर बिड गर्न नदिई कब्जा गरेका थिए । 

प्रोजेक्टले ५० करोड र ४५ करोड रूपैयाँ बराबरको सडक बनाउने दुई वटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । सोही टेण्डर प्रतिस्पर्धा नगरी सेटिङमा गजुरमुखि र संघका पूर्वाध्यक्ष जयराम लामिछानेको समुुहे कब्जा गरेको थियो । दुई प्याकेज मध्य एक प्याकेज टेण्डर लिन गजुरमुखिले नक्कली कागजात पेश गरेको स्रोतको दाबी छ । सोही कारण प्रोजेक्टले आशयपत्र दिएको छैन । 

आशयपत्र लिनका लागि गजुरमुखिका सञ्चालकले अहिले प्रोजेक्ट प्रमुख हरि पोखरेललाई मनाउन विभिन्न होटलमा मिटीङ राख्दै आएका छन् । टेण्डर रद्द नगरी आशयपत्र दिएको खण्डमा प्रोजेक्टका प्रमुख पोखरेललाई एक करोेड दिने सहमती भएको ठेकदार संघमा चर्चाे छ । 

उक्त टेण्डर हत्याउन गजुरमुखि र लामिछानेको समुहले १० प्रतिशतले हुन आउने रकम दश करोड बराबर ठेक्का बिड नगर्ने ठेकदार, प्रहरी, गुन्डा प्रोजेक्टका कर्मचारीले बाँडचुड गरेर खाएका थिए । कुनैपनि हालतमा टेण्डर रद्द नगरी सम्झौता गर्ने रणनीति अनुसार पैसाको चलखेलमा गजुरमुखि लागेको छ । टेण्डर रद्द भएको खण्डमा गजुरमुखिको गुन्डा र प्रहरीलाई भागबण्डा गरेको करोडौं रूपैयाँ डुब्ने खतरा बढेको छ ।

Post a Comment

0 Comments