Subscribe Us

चीनले बन्द गर्‍यो कोरला नाका

काठमाडौं । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।

अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वनिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमतिअनुसार हरेक वर्ष दुईपटक नेपाल र तिब्बतको सीमाक्षेत्रमा मेला आयोजना हुँदै आएको छ ।

bendera China

स्रोतका अनुसार चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हो । ‘२५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो,’ एक उच्च सरकारी अधिकारीले भने, ‘चिनियाँले हामीलाई जानकारी नै नदिई १० दिनअघि नै एक्कासि बन्द गरे ।’

तोकिएको समयभन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । ‘२५ दिनका लागि खोल्ने सहमति थियो,’ प्रजिअ अधिकारीले भने, ‘बिहीबारबाट नाका बन्द भएको अनौपचारिक जानकारी आएको छ ।’ उनले सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले नाका बन्द गरेको हुनसक्ने बताए । ‘सुरक्षाको विषयमा चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘सामान किन्न व्यापारी नगएका कारण बन्द गरेका हुन सक्छन् ।’

दुई देशको सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताक्रममा नाका खोलिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चीनले एक दशक अघिदेखि सीमामा तारबार लगाएर कोराला गेट बन्द गरेको थियो ।

सीमा क्षेत्रभन्दा चीनतर्फको करिब ३ किलोमिटरको दुरीमा रहेको तिब्बती भूमिमा मेला आयोजना भएको थियो । उक्त क्षेत्रमा चिनियाँ व्यापारीले राखेका स्टलमा नेपाली व्यापारीले सामान किनेका छन् ।

तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीसहित सरकारी अधिकारीको समन्वयमा मेला आयोजना भएको हो । मेलामा मुस्ताङी र तिब्बती व्यापारीले सामान बिक्री गरेका थिए ।

मेलामा नेपालीले पनि तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटीलगायतका स्टल राखेको उपल्लो मुस्ताङका इन्द्रधारा विष्टले बताए । मेलामा करिब पाँच करोडको कारोबार भएको अनुमान छ । नागरिक दैनिकमा खबर छ ।

Post a Comment

0 Comments