Subscribe Us

विमानस्थलमा हाकिमकै बेथिति,
तस्करीदेखि यात्रुका सामान चोरी गर्दै कर्मचारी

काठमाडौं । अन्तर्राष्ट्रिय अपराधी विकिनी किलर चाल्र्स शोभराजले भनेका थिए, ‘नेपालको विमानस्थलबाट म हात्ती पनि छिराउन सक्छु ।’ यो नेपालको सुरक्षाका लागि ठूलै चुनौती थियो । जब विमानस्थलका कर्मचारी नै भ्रष्टचारमा डुबेपछि हात्ती मात्र होइन, ह्वेल पनि छिर्न किन सक्तैन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको हिसाबले निकै बदनाम हुँदै गएको छ । विमानस्थलमा दिनहुँ जस्तो तस्करीका नयाँ–नयाँ घटना घट्छन् । त्यस्ता तस्करीका घटनामा विमानस्थलकै कर्मचारी संलग्न भएपछि कसको के लाग्छ र ? विमानस्थलको व्यवस्थापनलाई व्यवस्थित गर्न अधिकारीले चासो नदेखाउँदा उनीहरूको समेत संलग्नतामा विमानस्थलमा अवैध क्रियाकलाप  भएकोे स्रोतको दाबी छ ।

स्रोतका अनुसार विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, ठेकेदार सुवास श्रेष्ठ र विभिन्न एयरलाइन्सका मालिकको मिलोमतोमा विमानस्थलबाट तस्करी मौलाउँदै आएको छ । तस्करहरूको विमानस्थल स्वर्गद्वार बन्दै गएको छ । विमानस्थलको सुरक्षा र भौतिक संरचनाको जिम्मा विमानस्थलका अधिकारीले ठेकेदारको हातमा दिएका कारण विमानस्थल पछिल्लो समय अवैध क्रियाकलापको अखडा नै बन्न पुगेको हो । 

खासगरी विमानस्थल सुरक्षा शाखासँग सम्बद्ध रहेका विमानस्थलका कर्मचारीले मिलोमतोमा विभिन्न एयरलाइन्सका मालिक, होटल व्यवसायसँग सम्बद्ध व्यक्तिलाई पास वितरण गर्दै आएका कारण विमानस्थलको अति संवेदनशील ठाउँमा समेत जोकोही सजिलैसँग पुग्ने गरेका छन् । 

विमानस्थलका अधिकारीसँगको मिलोमतोमा तस्करहरूले एयरपोर्टलाई आफ्नो प्रमुख नाका बनाएका छन् । जोकोहीलाई पनि सजिलै विमानस्थलको पास उपलब्ध गराउँदै आएका कारण विमानस्थलमा कार्यरत कर्मचारीबाटै तस्करी हुँदै आएको पाइएको हो ।

केही दिनअघि नेपाल एयरलाइन्सका कर्मचारी डलर तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका थिए भने त्यसको चार दिनअघि मात्रै विमानस्थलकै अर्का कर्मचारी भरत सञ्जेललाई पनि प्रहरीले डलर तस्करी गरिरहेको अवस्थामा आठ हजार डलरसहित पक्राउ गरेको थियो । कर्मचारीले यात्रुका लगेज चोरीमा समेत गर्ने गरेका छन् । नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्ट चार हजार चार सय ५० अमेरिकन डलरसहित पक्राउ परेका थिए । त्यसको चार दिनअघि डलर तस्करी गरिरहेकै अवस्थामा सञ्जेल आठ हजार डलरसहित पक्राउ परेका थिए । विमानस्थलका कर्मचारी डलर तस्करीमा पक्राउ पर्नुले विमानस्थलमा संगठित रूपमा नै कर्मचारीबाट तस्करी हुँदै आएको पुष्टि हुन्छ । 

विमानस्थलका अधिकारीको कमिसन मोहका कारण पासको दुरुपयोग हुँदै आएका कारण पनि विमानस्थल असुरक्षित बन्न पुगेको हो । करिब एक महिनाअघि त्यहाँ कार्यरत कर्मचारीले नै यात्रुको लगेजबाट मोबाइल चोरका थिए । त्यति मात्रै होइन, स्रिमिक एयरलाइन्सको गल्तीका कारण एक साताअघि तीन जना नक्कली बोर्डिङ पास लिएर हेलिकोप्टरको प्याडसम्म पुगेका थिए । विमानस्थलका अधिकारीको लापरबाही र कमिसन मोहका कारण दिनहुँ विमानस्थलमा तस्करीका नयाँ रूप र शैलीका घटना घट्दा पनि सम्बन्धित निकाय भने किन मौन छ । यसमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले पनि आँखामा कालो पट्टी बाँधेर बसेकाले पाखरेलको पनि संलग्नता रहेको अनुमान गरिएको छ ।

Post a Comment

0 Comments