Subscribe Us

जनप्रहारसँग छापामार लामा, प्रचण्ड एक ‘असक्षम’ नेतृत्व,
‘ यी सात कारण, जसले हामीलाई बन्दुक उठाउन बाध्य बनाउँछ’

माइला लामा तत्कालीन नेकपा माओवादीले नेतृत्व गरेको दश वर्षे जनयुद्धका एक छापामार हुन् । 

तर, उनको परिचय त्यतिमा मात्रै सीमित छैन । जनवादी कलाकारको रूपमा समेत आफ्नो परिचय बनाएका लामा प्रख्यात संगीतकार तथा गीतकारसमेत हुन् । 

‘काठमाडौं कब्जा’ गर्ने पार्टीको रणनीति अनुरूप बन्दुकको सहारा लिएर युद्धमा होमिएका उनी पार्टीका आन्तरिक प्रशिक्षणका क्रममा प्राविधिक घटबढीले घाइते बने । 

२०५४ सालमा घाइते बनेका उनको ९ दिनपछि मात्रै होस् खुलेको थियो । सोही घटनामा परी एउटा कान र आँखा गुमाउनुका साथै हातमा समेत चोट पुगेका उनलाई जनयुद्धका ‘जिउँदो सहिद’ पनि भनिन्छ ।

 शान्तिपूर्ण राजनीतिसँगै माओवादी विभाजनपश्चात् ०६९ सालमा प्रचण्डसँग मोहन वैद्य किरणले सम्बन्ध विच्छेद गरेपछि उनी पनि वैद्यसँगै आए । सम्बन्ध विच्छेदका क्रममा वैद्यले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै ०७१ मंसिरमा नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी गठन गरेपछि उनी विप्लवसँगै छन् । 

जनयुद्धका समयदेखि नै विप्लवका नजिकका पात्र मानिने माइला नेकपा माओवादीका महासचिव विप्लवका विश्वासिला पात्रसमेत हुन् । उनी आबद्ध पार्टी नेकपा माओवादी जनयुद्धको तयारीमा जुटेको बताइरहेका बेला उनले केही कारणसहित बन्दुक उठाउनुपर्ने तर्क राखेका छन् । 

‘हामी ‘बन्दुक’ उठाउने योजनामा छैनौँ । कसैले अधिकार खोस्छ भने कि अधिकार खोस्न दिनुप¥यो होइन भने प्रतिवादका निम्ति बन्दुकको विकल्प छैन । त्यति मात्रै नभई केही यस्ता कारण छन् जसले हामीलाई बन्दुक उठाउन बाध्य बनाउँछ,’ जनप्रहार साप्ताहिकका बुद्ध लोप्चनसँगको कुराकानीका क्रममा उनले भने ।

१. जनसत्ता स्थापनाका लागि

 
पटक–पटक देशमा क्रान्ति र युद्ध भए पनि जनताको सत्ता हालसम्म स्थापना नभएको भन्दै उनले जनसत्ता स्थापनाका लागि जनताको समर्थनमा युद्धमा जाने बताए । ‘बन्दुक’ को नालबाट मात्रै जनसत्ता स्थापना सम्भव भएको भन्दै उनले जनताको सेवा गर्न र खुशी दिलाउन बन्दुकको सहारा लिने दोहोर्याए ।
 
२. नेपालको स्वाधीनतामाथी विदेशी हस्तक्षेप
 
विगतदेखि नै नेपालको स्वाधीनतामाथी विदेशी हस्तक्षेप कायमै रहेको भन्दै उनले त्यसले निरन्तरता पाए प्रतिरोधका निम्ति युद्धको भूमिमा जाने उनले बताए । ‘पछिल्लो समय नेपालमाथी विदेशीले हस्तक्षेप गर्ने क्रम तीव्र छ । यदि त्यो क्रमको वृद्धि हुँदै जाने हो र सरकारले त्यसको नियन्त्रणका लागि कुनै पनि काम नगर्ने हो हामी बन्दुक उठाउँछौँ, यो कुरामा कसैले शंका नगरे हुन्छ ।’ उनले स्पष्ट पारे ।
 
 ३. देशको स्वाभिमान भारतले लिएमा
 
‘नेपालको स्वाभिमान भारतले लिने क्रम विगतदेखि नै जारी छ । अब पनि नेपालको स्वाभिमानमाथी भारतले आँखा लगाई स्वाभिमान लिन्छ भने त्यसको प्रतिवादका निम्ति हामी बन्दुकको सहारा लिन बाध्य हुन्छौँ ।’ उनले भने । 
 
४. श्रमिकको खुशी लुटिएमा
 
स्वतन्त्रतापूर्वक खुशीको जीवन बिताउन चाहने नेपालका लाखौँ श्रमिकवर्गप्रति सरकारले दुख दिएको भन्दै उनले श्रमिकको खुशी लुटेमा आफूहरू युद्धमा जाने स्पष्ट पारे । ‘नेपालका किसान, मजदुरहरू, श्रमिक, जो यो देशमा खुशीको जीवन जिउन चाहन्छन् उनीहरूको जीवनको खुशी खोस्छन् भने त्यतिबेला हामी उनीहरूलाई खुशी दिलाउन बन्दुक लिएर सरकारविरुद्ध लड्छौ ।’ उनले भने ।
 
५. समाजलाई पछाडितिर धकेलेमा
 
‘नेपाली युवाहरूलाई देशमै रोजगारी देऊ भन्दा या सामाजिक विकासलाई अग्रगामी दिशामा लैजाऊ भन्दा समाजलाई पछाडि धकेल्न खोज्छ भने त्यसको प्रतिवादका निम्ति हामी बाध्य भएर युद्धमा जान्छौँ ।’ उनले भने । जनसमर्थनमा हुने युद्धको नेतृत्व आफ्नो पार्टीले गर्ने स्पष्ट पार्दै उनले समाजलाई अग्रगामी दिशामा लैजान पार्टी जस्तोसुकै आन्दोलनमा जान तयार रहेको औल्याए ।
 
६. भ्रष्टचार, महंगी र कालोबजारी रोक्न
 
देशमा दिनानुदिन कालोबजारी, भ्रष्टचार र महंगी हुँदा समेत सरकार मौन रहेको खण्डमा आफूहरू जनताको साथ लिएर प्रतिवादमा उत्रिने बताए । पार्टीले पछिल्लो पटक गरेको एनसेलको टावरमाथीको प्रसंग उठाउँदै उनले सरकारले गर्नुपर्ने काममा उल्टै सरकारी निकायको सहभागिता देखेपछि आफ्नो पार्टीको नेतृत्वमा जनताको समर्थनमा टावरमाथी आक्रमण भएको बताए । उनले एनसेल टावरमाथीको आक्रमण कुनै युद्धको संकेत नभएको दावी गर्दै सरकार कालोबजारी, भ्रष्टचारीको संरक्षक बनेको खण्डमा आफूहरू बन्दुकको सहारा लिएर सरकारको विरुद्ध लड्ने प्रष्ट्याए ।
 
७. प्राकृतिक स्रोतसाधनमाथी विदेशी हस्तक्षेप रोक्न
 
नेपालको प्राकृतिक स्रोतसाधनमाथी विदेशीले आँखा लगाएको र त्यसमा नेपालको राजनैतिक दलको सहभागिता रहेको दावी गर्दै उनले प्राकृतिक स्रोत साधनमाथी विदेशी हस्तक्षेप जारी रहे लडाई लड्ने उद्घोष गरे ।
जनयुद्धका बिर्सनै नसक्ने तीन घटना
 
१. फागुन १
 
‘हाम्रो पार्टीले तत्कालीन सत्ता र सरकारको विरुद्धमा बन्दुक उठाउने निर्णय गरेलगत्तै हातमा बन्दुक लिएर जनताको सत्ता स्थापनाका लागि युद्धमा होमिएको घट्नालाई म कहिल्यै बिर्सन सक्दिन’ उनले भने । बन्दुकको सहारा लिएर व्यवस्थित र योजनाबद्ध ढंगबाट योजनाबद्ध रूपमा युद्धमा होमिएको दिन अविस्मरणीय भएको उनी बताउँछन् ।
 
२. बेथानको फौजी आक्रमण
 
२०५३ सालमा रामेछापको बेथानमा भएको फौजी हमलालाई पनि म जीवनमा सजिलै बिर्सन सक्दिन । ‘झण्डै पौने दुई घण्टा चलेको त्यो हमलामा हामी बिजयी भयौँ । तर तीर्थ गौतम लगायतका असाध्यै मिलनसार व्यक्तिहरूलाई हामीले त्यहाँ गुमायौँ ।’ उनले बेथानको त्यो घटना स्मरण गर्दै भने । बेथान हमला आफ्नो फौजी मोर्चाको पहिलो अनुभव भएको सुनाउँदै उनले पहिलो घटनाबाट विजयी प्राप्त भएकोमा खुशी र सहकर्मीलाई गुमाउँदा दुख लागेको सुनाए ।
 
३. म घाइते भएको बेला
 
‘म ०५४ सालमा पिपुल्स वारसँग तालिम लिएर फर्किसकेपछि पूर्वीक्षेत्र र खासगरी काभ्रे, रामेछाप मेरो कार्यक्षेत्र थियो । काभ्रे, रामेछापका छापामारलाई तालिम दिन थालेँ । पहिला र दोस्रो टोलीलाई फायरिङ ट्रेनिङ दिइसकेपछि तेस्रो क्याम्पमा ल्यान्डमाइनसम्बन्धी ट्रेनिङ दिँदै थिएँ त्यति नै बेला अचानक प्राविधिक गडबडी आयो र आन्तरिक प्राविधिक कारणले म घाइते भएँ ।’ उनले भने, ‘घाइते भएको ९ दिनपछि होस्मा आउँदा मेरो कान, आँखा र हात नचल्ने अवस्थामा थियो, त्यो दिनलाई म कहिल्यै बिर्सन सक्दिन ।’
 
प्रचण्डसँगको भेट र त्यो अपिल
 
ज्नयुद्धका छापामार, जनवादी गायक, गीतकार तथा संगीतकार माइला लामा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग मेरो पहिलो भेट २०४९ सालमा भएको हो । त्यतिबेला प्रचण्ड नेतृत्वको पार्टीले राजधानीको सरस्वती क्याम्पसमा युवा जनविद्यालय भनेर ७ दिने राजनीतिक जनपरिचालन प्रशिक्षण दिएको थियो । म आफू पनि सो प्रशिक्षणमा सहभागी थिए । त्यतिबेला प्रचण्डले आवश्यक परेको खण्डमा हतियार उठाउन तयार हुन अपिल गर्नुभएको थियो । ‘तपाईहरू जस्तो युवाहरूले यो देश, व्यक्तिगत जीवन र समाजको लागि सोच्नुपर्छ । त्यसको लागि युद्धको आवश्यक पर्यो भने तपाईहरू बन्दुक उठाउन तयार हुनुपर्दछ ।’ प्रशिक्षणका क्रममा प्रचण्डले भनेका भनाईलाई उदृत गर्दै उनले भने ।
 
त्यसपछि माइला र प्रचण्डको भेट ०५१ साल चैतमा सिन्धुलीमा भएको थियो । पार्टीको पूर्वाञ्चल कमिटिको प्रशिक्षणका क्रममा भएको सो भेटका क्रममा प्रचण्ड र उनीबीच लामो कुराकानी भयो । त्यसपछि ०६० सालतिरै मात्र भेट भएको बताएका उनले ०६२ सालपछि सँगसँगै भएको बताए ।
 
जनयुद्धका आदर्श पुरुष प्रचण्ड अहिले निष्ठुरी बने
 
जनयुद्धको प्रारम्भवपूर्व र अवधिभर प्रचण्ड आदर्शनायक, स्पष्ट वक्ता, दुरदर्शी र चतुर नेता, कम्युनिष्ट नेतामा हुनुपर्ने गुण र आचरण लगायतका धेरै उज्याला पक्षहरूले भरिपूर्ण व्यक्ति भएको बताउँदै उनले अहिले निष्ठुरी बनेको बताउँछन् । ‘जनयुद्धमा हामीले प्रचण्डलाई आदर्श पुरुषका रूपमा लियौँ र उहाँ आदर्श र महान पुरुष पनि हुनुहुन्थ्यो, शान्तिकालका सुरुका वर्षहरूमा पनि उहाँ आदर्श पुरुषकै रूपमा रहनुभयो तर पछि गएर उहाँ एकजना अस्थिर आफ्ना जनता र कार्यकर्ताप्रति माया गर्ने निष्ठुर र अस्थिर, प्रलोभनमा सजिलै बिक्न सक्ने, लोभ लालचमा फस्ने, दुश्मनको सामु टिक्न नसक्ने, राजनैतिक रूपमा खडा भएका प्रश्नका जवाफ दिन नसक्ने व्यक्तिको रूपमा उदाए ।’ उनले भने ।
 
जनयुद्धमा प्रचण्डले गरेका गल्ती
 
माइलाका अनुसार प्रचण्डले जनयुद्धकालमै गल्ती गरेका छन् । कार्यकर्तालाई युद्धको रणभूमिमा खटाएर आफू लामो समय प्रवासमा बस्नु प्रचण्डको ठूलो र गम्भिर गल्ती भएको माइला लामाको भनाई छ । ‘त्यतिबेला नेतृत्वको भौतिक रक्षाको सवाल पनि थियो, भौतिक रक्षा भनेको वैचारिक रक्षाको सवाल पनि हो तर उहाँ जसरी दश वर्षको लामो समयसम्म जनता र कार्यकर्ताबाट टाढा हुनुभयो, त्यो उहाँबाट भएको ठूलो गल्ती हो ।’ 

उनले भने ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई सहयात्री बनाउनु प्रचण्डको अर्को गल्ती भएको उनले बताए । बाबुरामका कारण धेरै वटा काममा असर परेको कार्यकर्ताहरूको धारणा हुँदाहुँदै प्रचण्डले साथमा लिनु गम्भिर गल्ती भएको उनको भनाई छ । त्यसैगरी काठमाडौँलाई कब्जा गर्ने रणनीति एकाएक बदल्नु प्रचण्डको जीवनको ठूलो गल्ती भएको बताउँछन् उनी । जनयुद्धका बेला नै प्रचण्ड दुश्मनहरूको घेराबन्दीमा फस्न तयार भएको प्रसंग निकाल्दै उनले प्रचण्ड युद्धको चुनौतीबाट भागेको समेत बताए । 

शान्तिपूर्ण राजनीतिपछि प्रधानमन्त्री समेत बनेका प्रचण्ड माओवादी जनयुद्धका महान पुरुष भएको दावी गर्दै उनले भने, ‘प्रचण्डले सुरुमा संसदीय गोलचक्करमा फसेको राजनीतिलाई उज्यालो यात्रामा लैजाने आँट गरे, महान जनयुद्धको प्रारम्भ गरे, निश्चय नै त्यो सामान्य काम थिएन ।’
 
शान्तिपूर्ण राजनीतिपछि प्रचण्डले गरेका गल्ती
 
नेकपा माओवादीका महासचिव विप्लवका विश्वासिला पात्र मानिने माइला लामाको नजरमा प्रचण्डले जनयुद्धकालीन अवस्थामा भन्दा शान्तिपूर्ण राजनीतिपछि गम्भिर गल्ती गरेका छन् । जनयुद्धका आदर्श पुरुष प्रचण्ड पछिल्लो कालखण्डमा स्वार्थमा लिप्त भएको उनको आरोप छ । ‘शान्तिपूर्ण राजनीतिपछि उहाँ दुश्मनहरूसँग सजिलै बिक्नु भयो, पतनको दिशामा जानुभयो, आफ्ना नजिकका कार्यकर्ता र जनतालाई धोका दिनुभयो, निष्ठुरी बन्नुभयो ।’ निन्याउरो अनुहारमा उनले भने, ‘उहाँको निर्णयका कारण दश वर्ष जनयुद्धमा बनाएका हाम्रा जनमुक्ति सेना छैनन्, जनताको सरकार, अदालत, माओवादी स्थापना गरेका संस्कार र संस्कृति अहिले छैन । त्यसैले प्रचण्ड अहिले पतन भइसक्यो ।’
 
‘काठमाडौं कब्जा गर्ने त्यो साहस’
 
बन्दुकको सहारा लिएर युद्धमा होमिँदै गर्दा हाम्रो एउटै मात्र मिसन भनेको ‘काठमाडौं कब्जा’ गर्ने मात्रै थियो । ‘नेपालमा जनवाद ल्याउने, काठमाडौं कब्जा गर्ने र जनताको सेवा गर्ने हाम्रो अन्तिम लक्ष्य थियो ।’ तत्कालीन समयमा प्रचण्डले गरेको निर्देशनलाई सम्झिँदै उनले भने,  ‘काठमाडौं जित्ने मिठो सपना बाँडेर हामीलाई युद्धको भूमिमा ल्याउनुभयो, तर उहाँले पछिल्लो समय ती सबै लक्ष्यलाई त्याग्नुभयो ।’
 
प्रचण्ड एक ‘असक्षम’ नेतृत्व
 
‘प्रचण्ड नेतृत्वमा माओवादीमा १५ सय जनाको केन्द्रीय समिति रहेको कुरा तपाईलाई थाहै छ, कम्युनिष्ट पार्टीको कुनै पनि ठाउँमा यति ठूलो संख्याको केन्द्रीय समिति छदैँ छैन, त्यसैले आफ्नो पार्टी चलाउन नसक्नेले देश चलाउन सक्छन् भनेर कल्पना गर्नु मुर्खता मात्रै हो’ प्रचण्डविरुद्ध कतै नरम कतै आक्रमक देखिएका नेता लामाले भने । 

माओवादी सत्तामा गएपछि जनताको सेवा गर्नुका साटो दुख दिएको उनको भनाई छ । भारतसँग गरेको असमान सन्धि खारेज गर्ने लगायतका विषयमा पहिल्यै सहमति भएको भए पनि सत्तामा गएपछि झन् बाबुराम नेतृत्वको सरकारले विप्पा सम्झौता गरेर राष्ट्रघात गरेको प्रसंग निकाले  उनले । त्यसैगरी जनयुद्धकालमा झुप्रोमा बास दिएका सुकुम्बासीलाई माओवादीले नै लखेटेको उनको आरोप छ । उनी भन्छन् ‘माओवादी सत्तामा गएपछि जनतालाई पीडा, हैरानी, दुख, आँशु, अविश्वास, जनतालाई अपमान बाहेक अरु केही दिएको छैन ।’ उनी भन्छन्, ‘जनयुद्धदेखि हालसम्म आइपुग्दा प्रचण्ड असक्षम नेतृत्वको रूपमा स्थापित भइसकेका छन्’ ।

Post a Comment

0 Comments