Subscribe Us

गुठीमा आँखा लाउँदा राज्यमन्त्री संकटमा

काठमाडौं । गुठी संस्थानले २०७३ असार १६ गते गरेको बौद्ध घ्याङगुठीको चिनियाँ लामा नियुक्ति विवादमा परेको छ । संस्थानको सञ्चालक समितिले भूपति बज्र लामालाई बौद्ध घ्याङगुठीका चिनियाँ लामा नियुक्ति गर्ने निर्णय गरेको थियो । तर उनको नियुक्ति घ्याङगुठीको परम्परा र लालमोहोरअनुसार नभएको उजुरी भूमिसुधार मन्त्री रामकुमार सुब्बादेखि विभिन्न निकायमा परेको छ ।

बौद्ध घ्याङगुठीका चिनियाँ लामा शेरब दोर्जेको २०७३ जेठ १६ गते निधन भएपछि उक्त पद रिक्त भएको थियो । लामो समयदेखि स्व. शेरब दोर्जे लामा उक्त पदमा रहेका रहका थिए । पछिल्लो पटक २०७२ असोजमा शेरब दोर्जेको चिनियाँ लामा पद नवीकरण भएको थियो । 

घ्याङगुठीको लालमोहोर, मिसिल र तोक सदर दस्तखतहरूमा चिनियाँ लामाको निधनपछि उनका सन्तान दरसन्तानले नियुक्ति पाउने उल्लेख भएकाले आफूले पाउनुपर्ने दाबी स्व. शेरब दोर्जेका छोरा ज्योतिबज्र लामाले पेस गरेका छन् । उनले घ्याङगुठीको परम्परा, मिसिल र विभिन्न मितिका लालमोहोरसमेत पेस गर्दै आएका छन् । 

ज्योतिबज्रले लालमोहोरमै चिनियाँ लामाका सन्तानले उक्त पदमा नियुक्ति पाउने उल्लेख भएकाले स्वभाविक रूपमा आफूले नियुक्ति पाउनुपर्ने दाबी गरेका छन् । उनलाई गुठी संस्थान काठमाडौं शाखाले चिनियाँ लामाका सन्तान दरसन्तानले नियुक्ति पाउने लालमोहरका आधारमा उनलाई नियुक्तिको सिफारिस गरेको भए पनि संस्थानले त्यो सिफारिस लुकाएर भूपति लामालाई गरेकोले न्याय पाउँ भनी लामाले मन्त्री सुब्बादेखि राप्रपा नेपाललाई उजुरी दिएका छन् । 

चिनियाँ लामा नियुक्तिमा राज्यमन्त्री विक्रमबहादुर थापाले ठूलै लाभ लिएको उजुरी मन्त्री र राप्रपा नेपालको कार्यालयमा पुगेको छ । मन्त्री सुब्बाले आर्थिक चलखेलका आधारमा नियुक्ति गरिएको उजुरीका आधारमा नियुक्तिपत्र रोकेका छन् । मन्त्री सुब्बाले उक्त नियुक्तिपत्र रोके पनि राज्यमन्त्रीले जसरी पनि दिन दबाब दिएका छन् । मन्त्री सुब्बाले रोके पनि धार्मिक शाखाका प्रमुख उपप्रशासक दीपकबहादुर पाँडे र प्रशासक नारायण चौधरीले नियुक्तिपत्र तयार गरिसकेको संस्थान स्रोतले बताएको छ । संस्थानले चिनियाँ लामा नियुक्ति गरिएका भूपति लामाले औतारी, रिम्पोछे र धर्मगुरु लेख्ने गरेकोबारेमा पनि छानबिन गर्न माग गरिएको छ ।

Post a Comment

0 Comments