Subscribe Us

यसरी फसे प्रचण्ड

प्रचण्डको लागि तस्बिर परिणामकाठमाडौं । सरकारबाट समर्थन फिर्ता लिने एकल निर्णयको विरोधमा पार्टीभित्र जवाफ दिन बाध्य भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियोजित योजनामा फसेको पुष्टि भएको छ । 

पार्टी हेडक्वाटरको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र एमालेसँगको गठजोडमा माओवादीले घाटा व्यहोरिरहेको चर्चा चलेपछि सरकारका सम्बन्धमा कुराकानी गर्ने सबै अख्तियारी माइन्युटमा लेखेरै प्रचण्डले जिम्मा पाएपछि उनले त्यसको दुरूपयोग गरेका कारण उनको आलोचना बढिरहेको छ । 
एमालेभित्रको असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालको बुई चढेर कांग्रेसँगको नयाँ समिकरणमा सहमति जुटाएर पार्टीले दिएको जिम्मेवारी भन्दै उनले अकास्मात सरकारबाट समर्थन फिर्ता लिएका थिए । 

त्यसबारेमा पार्टीभित्र पनि उनले विरोधको सामना गरिरहेका छन् । भर्खरै एकता प्रक्रियामा आएका रामबहादुर थापा बादललगायत व्यक्ति पनि उनीसँग रुष्ट छन् भने कांग्रेससँगको समीकरणको सहमतिलाई नेता नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन् । प्रचण्डलाई अदृश्य शक्ति र कांग्रेसले शव्दजाल, सत्ता मोहको चक्रव्यूहमा फँसाएको श्रेष्ठले खुलेआम टिप्पणी गरेका छन् । खासगरी भारतीय संस्थापनको रुचिअनुसार प्रचण्ड फसेका हुन् ।

भारतविरोधीका रूपमा राष्ट्रवादी नेता भनेर परिचय बनाउँदै गरेका प्रचण्डलाई अन्ततः भारतले झुकाएको उनकै पार्टीभित्र टिप्पणी गरिन्छ । असोज १ गते मात्रै नेपालको संविधान रोक्नका लागि काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरलाई ढिलो आएकाले प्रक्रिया रोक्न नसकिने बताएका प्रचण्ड भारतीय निसानामा थिए । नेपालको संविधानमा प्रत्यक्ष स्वामित्व खोजिरहेको भारतले त्यसपछि मधेस आन्दोलनलाई बल दियो भने मूलधारका पार्टीहरूमा गुटका नेताहरूसँग खेल्ने गरेको थियो । 

तत्कालीन एमाओवादीमा डा. बाबुराम भट्टराई, एमालेमा माधवकुमार नेपाल र कांग्रेसमा शेरबहादुर देउवामार्फत भारतले आफ्नो एजेन्डा राख्ने प्रयास गरिरहेको थियो । एमालेभित्र नेपाल अल्पमतमा रहेका कारण अध्यक्ष ओलीले पेल्दै सहमति गरे भने माओवादीबाट भट्टराईले राजीनामा नै गरेका थिए । उता, शक्तिहीन अवस्थामा रहेका शेरबहादुर देउवा भने मौकाको खोजीमा थिए ।
०७१, ३ असोजअघि प्रमुख तीन दलबीच भएको १६ बुँदे सहमतिमा भारतको चाहनाविपरीत सुशील कोइरालाले कांग्रेसलाई नेपाली जनताको पक्षमा उभ्याउन सफल भएपछि देउवाले त्यसको विरोध गरेका थिए । भारतले कोइरालालाई हल्लाउन नसकेपछि त्यसको विरोधमा उभिएका तत्कालीन वरिष्ठ नेता देउवाको गुण कांग्रेस महाधिवेशनका बेलो चुकाएको थियो । 

अहिले पुनः भारतले उनलाई चलाएर माओवादीलाई विलखबन्धनमा पार्ने काममा सफल भएको आडमा दूतावासले भोजभतेरको आयोजना गरेको थियो । ‘यो आफ्नो जीतभन्दा पनि माओवादी केन्द्र प्रचण्डको राष्ट्रवादी अनुहारलाई धुमिल बनाउन सफल भएको उपलक्ष्यमा आयोजना गरिएको भोज थियो’, उच्च स्रोतले भन्यो,‘जसरी पनि प्रचण्डसँग भारतले आप्mनो अडानमा जित हासिल गर्नु थियो, भयो ।’

बहुमतको सरकार हुँदाहुँदै पनि एमालेसँग माओवादीले ९ बुँदे सम्झौता गर्नुअघि देउवाले माओवादीसँग सरकार छाड्नका लागि विकल्पहरू सुझाएका थिए । तर, प्रचण्डले देउवालाई जिल खुवाउँदै ओली सरकारसँको सम्बन्ध अझ लम्ब्याउने हस्ताक्षर गरी फर्किएपछि माओवादीलाई विश्वासै नगर्ने अडानमा थिए देउवा । उनले माओवादीलाई घेराबन्दिमा पार्नुपर्ने प्रस्ताव बोकेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग २ बुँदे प्रस्ताव अघि सारेका थिए । सरकार विघटन गरी माओवादीलाई सत्ताच्युत गरी अर्को सरकारको नेतृत्व पनि ओलीले गर्ने र त्यसमा कांग्रेसको समर्थन हुने देउवाको प्रस्ताव थियो । 

९ महिनाका लागि ओली र त्यसपछि देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने २ बुँदे प्रस्ताव ओलीले अव्यवाहारिक भएको भन्दै पन्छाएपछि माओवादीसँग कांग्रेसको गठजोड भएको थियो । स्रोतले भन्यो, ‘विश्वासका आधारमा गठबन्धन बनाई सरकारमा समर्थन गरेको माओवादीलाई सिध्याउन नहुने भन्दै प्रधानमन्त्रीले देउवाको प्रस्ताव मान्नुभएन, त्यही प्रस्ताव माओवादीलाई देखाएर उनी सरकार कमजोर बनाउन सफल भए ।’

चीनसँग ओलीको सम्बन्ध सुधार, वामपन्थी शक्तिमा एमालेप्रति जनताको झुकाव बढ्न थालेपछि भविष्यमा माओवादीलाई मतान्तरमा एमालेले उछिन्ने, कांग्रेस पनि पत्ता साफ हुने अवस्था आउनसक्ने आकलनलाई अगाडि तेर्साएर देउवाले प्रचण्डलाई शब्दजालमा पारी सरकारबाट समर्थन फिर्ता लिन बाध्य पारेका थिए । प्रचण्डलाई भारतीय पक्षले पनि सरकारबाट हट्नका लागि बारम्बार दबाब दिँदै आएका थिए । ‘जसरी पनि माओवादीलाई अगाडि बढ्न नदिने योजनामुताविक यो सरकार बनेको हो, देउवा कम्युनिस्टहरूलाई बढार्ने योजनामा नै अघि सरेका हुन्, त्यसमा भारतको ढाडस पाएका छन् ।’, स्रोतले भन्यो, ‘यही योजनाअनुसार प्रचण्डलाई फसाइएको हो ।’

Post a Comment

0 Comments