Subscribe Us

‘ह्याट्रिक’ गर्ने कसरतमा माधव नेपाल,
अर्याल होटलमा प्रचण्डलाई धाप

काठमाडौं । हिजोआज बालुवाटारतिर दिन–दिनै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बाझाबाझ भइरहेको छ । बारम्बारको सेमिफाइनलमा चुकेका प्रचण्ड अब ‘फाइनल गेम’ खेल्ने तयारीमा छन् । ‘१÷२ दिनभित्रै अध्यक्ष प्रचण्डज्युले ओली सरकार अब के हुन्छ भन्ने विषयलाई फाइनल गर्नुहुन्छ ।’ 

माओवादी केन्द्रका एक नेताले भने– माओवादीको घाँटीको तरबार भएर बसेको द्वन्द्वकालीन मुद्दा सम्बोधनमा एमाले तयार नभएपछि प्रचण्डले फाइनल गेम खेल्ने तयारी गरेका हुन् । 

सरकार परिवर्तनको विषयमा देखिएको विवादलाई समाधानका निम्ति प्रचण्डले ‘फाइनल गेम’ खेल्ने भएपछि एमालेभित्रका ओली पक्षधर आक्रोश र चिन्तामा छन् । तर, एमालेकै अर्का नेता माधवकुमार नेपाल भने दाउ छोपिरहेका छन् । सरकार परिवर्तनका विषयमा ‘भिलेन’ को भूमिकामा देखिएका नेपाल प्रचण्डले आयोजना गर्न लागेको ‘फाइनल गेम’ मा ह्याट्रिक गर्ने मुडमा छन् । 

सोमबार अर्याल होटलमा प्रचण्डसँग भेट गरेका नेपालले सरकारबाट बाहिरिन उक्साएको स्रोतको दावी छ । ‘तपाई त्यहाँ (सरकार) भित्रै रहेर फाइनल गेमको तयारीमा जुट्नुस्, म कांग्रेसलाई समेत सल्लाह गरेर ह्याट्रिक गर्छु ।’ नेपालले प्रचण्डसँग भने । नेपालले तत्काल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावना कम रहेको औँल्याउँदै आफूलाई प्रधानमन्त्री बन्न वा नभए कांग्रेसलाई नेतृत्व गर्ने जिम्मा दिनसमेत आग्रह गरेका थिए ।

स्रोतका अनुसार नेपालले अहिले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने सुरसार गरेका छन् । कांग्रेसले नेपालको नाम प्रस्ताव गरेको खण्डमा उनी प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ । ‘प्रचण्डजी पनि राष्ट्रिय सरकारको पक्षमा हुनुहुन्छ, यदि कांग्रेसले उहाँलाई समर्थन गरेको खण्डमा अरूले अस्वीकार गर्दैनन्’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताले भने । 

स्रोतका अनुसार एमालेबाट वामदेवको समर्थन जुटाउन उनी लागि परेका छन् । वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिई समर्थन जुटाउने नेपालको तयारी छ । नेपाललाई प्रधानमन्त्री बनाउने या नबनाउने भन्ने विषयमा माओवादी केन्द्र भने अनिर्णीत छ । उसले राष्ट्रिय सरकारको प्रसंग उठाइरहेको हुनाले कांग्रेसले नेपाललाई समर्थन गरेको खण्डमा त्यसलाई स्वीकार्ने सम्भावना प्रबल छ ।

त्यसैले पनि आइतबार साँझ प्रधानमन्त्री ओलीसँग भेट गरी प्रचण्डले सहमति कार्यान्वयनका लागि दबाब दिएका थिए । ओलीले प्रचण्डलाई जे गर्न सकिन्छ त्यही गर्नुहोस् भनेर पठाएपछि उनी तिलमिलाउँदै माओवादी केन्द्रको बैठक डाकेर सरकारबारे समीक्षामा सक्रिय भए । केन्द्रको बैठकले प्रधानमन्त्रीसँग परामर्श गरी सरकारबारेको निर्णय लिने जिम्मा प्रचण्डलाई नै तोकिदियो । ‘एमालेले त माओवादीलाई गठबन्धन शक्तिको रूपमा भन्दा पनि पुच्छरजस्तो व्यवहार गरेको छ, यसभन्दा त कांग्रेस नै लिबरल देखियो,’ भन्नेसम्मको कुरा लाजिम्पाटमा उठेको थियो ।
यति हुँदाहुँदै पनि, बजेटपछि सरकार नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति एमालेले पालना नगरेको भन्दै सत्तारूढ घटक माओवादीले राष्ट्रिय सरकार बनाउने कसरतलाई तीव्रता दिएको थियो । । यति हो, केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार गठनको प्रस्ताव अघि सारेकाले त्यसले छिट्टै परिणामको राजनीतिक आकार लिन्छ भन्नेमा धेरैले शंका व्यक्त गर्छन् । किनभने, सहमतीय सरकारका लागि ठूला दल एकमत हुन सजिलो छैन ।

उता, भारतीय लाइन्स एजेन्सीहरू पनि ओली सरकार ढाल्न सक्रिय छन् । जसका लागि उनीहरूले एमालेको नेपाल समूह, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्डलाई प्रयोग गरिरहेका छन् । यो सरकारको विकल्प नेपाल नेतृत्वको सरकार भए पनि प्रचण्ड नेतृत्वको सरकार भए पनि बनाउन कांग्रेसमाथि तीव्र दबाब छ । अहिले बन्ने सरकार केही महिनामा असफल पारी कांग्रेस नेतृत्व वा निर्दलीय सरकार गठनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई भारतले अगाडि सार्ने रणनीति बनाएको छ ।

Post a Comment

0 Comments