Subscribe Us

एमालेमा कसरी यस्तो समिकरण !

काठमाडौं । सरकार छाड्ने कि निरन्तरता दिने भन्ने रस्साकस्सी चलिरहेका बेला एमालेमा बनेको नयाँ समिकरणको दबाबका कारण तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अकास्मात राजीनामा दिएको घोषणा गरे । सत्ता साझेदारले अविश्वासको प्रस्ताव राखेपनि संसद विघटन गरी नयाँ चुनावको घोषणा गरी अगाडी बढ्ने ओलीको योजना एमालेमा अल्पमतमा परेका कारणले सफल हुन सकेन । अन्ततः उनले राजीनामा दिएको घोषणा गर्न बाध्य भए । ओली कमजोर हुनुमा एमालेमा माधवकुमार नेपाल नेतृत्वको नयाँ समिकरण बलियो बन्नु मूल कारण हो । अहिले नेपाल समुहलाई झलनाथ खनाल र बामदेव गौतमको साथ छ ।

संविधान संशोधनका लागि एमालेमा ओलीको पल्ला भारी रहेसम्म टस न मस हुने अवस्था देखेपछि भारतीय पक्ष नयाँ समिकरणलाई आफ्नो पक्षमा उभ्याउन सक्रिय देखिएको छ /

जसरी पनि ओली सरकार ढालेर प्रचण्डलाई नयाँ सरकारको नेतृत्व दिलाउन सहयोग गरेका नेता नेपाललाई भारतको साथ थियो । उता, संसदीय दलको नेता बन्न नपाएको झोकमा उपाध्यक्ष वामदेव गौतमले पनि यहि समिकरणलाई साथ दिएपछि कठोर निर्णयमा पुग्न लागेका ओली एक स्टेप व्याक हुन बाध्य भएका थिए । ‘आफ्नै पार्टीमा तिव्र असहयोग भएपछि अध्यक्ष व्याक हुनुभएको थियो, नत्र अघि बढ्ने तयारी भइसकेको थियो ।’, स्रोतले भन्यो,‘पार्टीमा पनि अल्पमतमा परेपछि आफुले चालेको कदममा आफ्नै पार्टीको विरोध हुने देखिएपछि कठोर निर्णयमा पुग्न सकिएन ।’

ओलीको यो निर्णयसँगै एमालेमा बनेको नयाँ समिकरणले पनि अहिले उनलाई संसदीय दलको नेताबाट हटाउनका लागि सकस व्यहोर्नुपर्ने हुन्छ । त्यस्तै नयाँ सत्ता समिकरणमा देखिएका कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको सहमति कार्यान्वयनमा पनि कठिन अवस्था आउने देखिएपछि भारत पुनः माइक्रो म्यानेजमेन्टमा लागेको छ । उसले एमालेलाई संविधान संशोधनका लागि तयार हुनका लागि कसरत थालेको छ ।

 संविधान संशोधन नभए भारतले सरकार लडाउने तर नेपाली सदनको निर्णय सच्याउन नसक्ने पुष्टि हुने देखिएपछि अहिले एमाले फकाउन लागि परेको छ । यसैको निरन्तरताका लागि नेपालका लागि भारतीय राजदूत रणजित रायले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेका थिए । ओलीले संशोधन कार्यान्वयनका लागि सहमति नदिए भारतले उनलाई संसदीय दलको नेताबाट हटाउने कोशिश पनि थालेको छ । त्यसका लागि एमालेमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको नयाँ समिकरणलाई उपयोग गर्न भारत सक्रिय भएको स्रोतहरुको दाबी छ । 

भारत माओवादीलाई भन्दा पनि एमालेलाई विश्वासमा लिएर उसले राखेको सर्तलाई संविधानमा लेखाउन चहान्छ । ओली संसदीय दलको नेता र एमालेमा बहुमतमा रहेसम्म उसले चाहेको सर्त कार्यान्वयनमा समस्या देखिएपछि नयाँ समिकरणलाई हौसाउने रणनीति तय भएको हो । एमाले अध्यक्षमा निर्वाचित हुने बेला ओलीले बामदेवलाई संसदीय दलको नेता छाड्ने सहमति गरेका थिए । 

उक्त सहमति कार्यान्वयन नगरिएपनि संसदीय दल र स्थायी कमिटिमा पनि ओलीलाई कमजोर बनाउनका लागि अहिले बामदेव कार्डको उपयोग बलियो बनाइएको हो । माओवादीभन्दा पनि एमालेको साथ बलियो हुने देखेपछि माओवादीलाई सत्ताको बल र एमालेमा नयाँ समिकरणलाई बलियो बनाएमात्र भारतीय एजेन्डाहरु कार्यान्वयन हुनसक्ने बुझेकै कारण उसले नयाँ समिकरणलाई विश्वासमा लिन खोजेको हो । त्यसो त ओली सरकार ढल्नुपूर्व नै विभिन्न चरणमा भारतीय सुरक्षा तथा गुप्तचर संस्थाका अधिकारीहरुसँग एमाले नेता नेपालले एमालेमा आफु बहुमतमा आउने दाबी गरेका थिए । प्रचण्डका कारण नै भारतको असन्तुष्टि रहँदारहँदै नेपालमा संविधान जारी भएको थियो । 

तर, प्रचण्डलाई सत्तामा ल्याएरै संविधानमा आफ्नो स्वामित्वको निर्णय गराउनुपर्ने बाध्यतामा फँसेको भारतले एमालेको सहयोगविना मधेसका एजेन्डा नसमेटिने बुझेका कारण अहिले ओलीलाई पनि फकाउन थालेको छ । एमाले र राप्रपा नेपालको समर्थनविना कांग्रेस–माओवादी गठबन्धनले जति सम्झौता र सहमति गरेपनि संविधान संशोधन सम्भव नभएका कारणले त्यसमा पनि भारत सक्रिय भएको छ । ओलीले पार्टीमा एकलौटी ढंगबाट चलेका कारणले पनि एमालेमा नयाँ समिकरण बलियो भएको बताइन्छ । स्रोतले भन्यो,‘सरकारमा हुँदा पनि अर्को समुहलाई वास्ता नगर्ने र एकलौटी हिसावले चल्न थालेपछि नयाँ समिकरण बनेको हो ।’

एमालेको नयाँ समिकरणको पत्तो पाएका कारणले नै ओली सरकारलाई दिएको समर्थन फिर्ता गरी अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि प्रचण्ड त्यसबेला हौसिएका थिए । त्यस्तो हौसला माधव नेपालबाट पाएको पनि उनले बताउँदै आएका छन् । प्रचण्डले बारम्बार एमाले नेता नेपाल, बामदेव गौतम र झलनाथ खनाल ओलीविरुद्ध रहेको बताउँदै आउनुले पनि त्यो संकेत गरेको थियो ।

Post a Comment

0 Comments