Subscribe Us

विमानस्थलका डिआइजीको गुट्खा प्रेम,
भिजिट भिसाबाट यसरी हुन्छ असुली

काठमाडौं । गुट्खा सुर्तीजन्य पदार्थमा पर्छ । चुरोट र रक्सीभन्दा पनि गुट्खाको लत भयानक हुने बताइन्छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुट्खा आयातनिर्यातमा प्रतिबन्ध गरेको थियो । तर, अहिले विमानस्थलमा यस्ता डिआइजी फेला परे जसलाई व्यापक गुट्खा प्रेम रहेको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सारछली गरी पान पराग र गुट्खा खाडी मुलुकमा पठाउने क्रम बढेको छ । हालका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा एयरपोर्टमा रहेका बेला प्रतिबन्ध लगाएको सो गुट्खालाई तथा पान परागलाई हालका डिआइजी गोविन्द निरौलाले फुकुवा गरिदिएका छन् । उनकै मिलेमतोमा खाडी मुलुकमा जाने कामदारहरूले आप्mनो ब्यागमा एक दर्जन पोकासम्म गुट्खा हालेर लैजाने गरेका छन् । खाडी मुलुकमा आफन्तलाई पठाउने बहानामा तस्करहरूले उतैका व्यापारीलाई पठाउने गरेका हुन् ।  

ज्यादै तस्करी बढेपछि प्रहरीले पछि वैधानिक रूपमै भन्सार तिरेर पठाउने व्यवस्था गरिएको थियो । तर, पानपराग र गुट्खाको भन्सार राजस्व बढी तिर्नुपर्ने भएपछि पुनः प्रहरीको मिलेमतोमा भन्सार छली गरी पठाउने क्रम सुरु भएको हो । सूत्रका अनुसार तीन हप्तादेखि पानपराग र गुट्खा अवैध रूपमा पठाउन थालिएको छ । एयरपोर्टका प्रहरीलाई ड्युटी खटाउने डिआइजीकै सेटिङ्मा तस्करी हुन थालेको स्रोत बताउँछ । 

डिआइजी निरौलाले एसएसपी श्याम खत्रीले थाहा पाउला भनेर आफ्नो छुट्टै टोली परिचालन गरी खाडी मुलुककमा जाने कामदारको चेकजाच गर्ने गरेको पनि स्रोतले दाबी गरेको छ ।  सामान चेकजाँच गर्ने सेक्युरिटी स्क्रिनमा विश्वासपात्र असई र सईलाई खटाएर तस्करी सुचारु गराएको हुन् । ८ देखि १० केजीको पोका बनाएर कारोबारीले गुट्खा खाडी मुलुक पठाउने गरेका छन् । खाडी मुलुकमा पानपराग र गुट्खाको ठूलो माग छ । एक केजी बराबर एक हजार रुपैयाँ घुस लिएर पानपराग र गुट्खा खाडी मुलुकमा जाने गरेको छ । 

एयरपोर्टका डिआइजी निरौलाको नेतृत्वमा रहेको प्रहरीले सेटिङ मिलाएर यस्तो तस्करीलाई बढावा दिएका छन् । लामो समयदेखि  एयरपोर्टमा कार्यरत प्रहरी कर्मचारीलाई साथमा लिएर उनले सो धन्दा सुरु गरेका हुन् । पानपराग र गुट्खा खाडी मुलुक अवैध रूपमा पठाउने क्रम हेमन्त पाल एसएसपी हुँदा चम्केको थियो । माथिसम्मै सेटिङ् गरी मासिक ३–४ करोड रुपैयाँको सुपारी र सुर्तीजन्य पदार्थ तस्करी हुन थालेपछि ठूलो विवाद भयो । र, भन्सारछलीको सुपारी र सूर्तीजन्य पदार्थ खाडी मुलुकमा बढी जाने गरेपछि भन्सार तिरेर पठाउन पाउने व्यवस्था गरिएको थियो । भन्सार तिरेर भन्दा नतिरी पठाउँदा फाइदा हुने भएकाले पुनः कारोबारीले यो तरिका अपनाउन थालेको प्रहरी स्रोतले बतायो । 

गोरखाको एक देवकोटा थरका कारोबारीले पानपराग र गुट्खा तस्करी गर्न एमाओवादी नेता तथा तत्कालीन गृहमन्त्री कृष्णबहादुर महरालाई र हालै सरकारबाट बाहिरिएका गृहमन्त्री शक्ति बस्नेतको शीर्षनेताबाट नै भनसुन गराएको समेत स्रोतले जनाएको छ । सुर्तीजन्य पदार्थ गुट्खा र पानपराग नेपाली कामदारले खाने भएकाले त्यहाँका व्यापारीले नेपालमा सम्पर्क गरी मगाउने गरेका छन् । डिआइजी निरौलाका लागि यो धन्दा सबैभन्दा उपयोगी सावित भएको त्यहाँकै प्रहरी कर्मचारी बताउँछन् ।
 
भिजिट भिसाबाट असुली
 
यसैबीच, एयरपोर्टमा भिजिट भिसामा विदेश जाने नेपालीबाट असुली गर्ने क्रम बढेको छ । एयरपोर्टको राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार एकेडेमी दरबन्दी भएका एक प्रहरी निरीक्षकले भिजिट भिसामा जानेहरूसँग असुली गदै आएका छन् । भिजिट भिसामा मानिस पठाउन प्रतिबन्ध रहे पनि उनी मार्फत डिआइजी निरौलाले भिजिट भिसामा जानेहरूले सेटिङको दररेटले रकम बुझाएपछि सरासर जान पाउँछन् । नबुझाउनेलाई फकाइने गरेको छ ।  तत्कालिन डिआइजी विज्ञान शर्माकै कार्यकालमा भिजिट भिसामा जानेहरूलाई पनि कडा गरिएको थियो । 

भिजिट भिसामा जानेहरूले २० देखि ४० हजार रुपैयाँसम्म घुस कमिसन एजेन्टलाई बुझाएपछि उनीहरूलाई केही केरकार हुँदैन । अन्यथा उसमाथि अनेक केरकार हुने गर्छ । नागरिक सहायता कक्षमा दुई इन्स्पेक्टर छन् । तर, डिआइजी निरौलाको कार्यालयमा रहेको बेला मात्र भिजिट भिसाका मानिस सेटिङ्मा पार गराउने काम हुने गरेको छ । सरकारले भिजिट भिसामा जान निकै कडाइ गरे पनि उनले अध्यागमन विभागमा समेत सेटिङ गरेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments