Subscribe Us

राष्ट्रपति उभ्याएर करोडौं कुम्ल्याउने खेल

काठमाडौं । बौद्ध धर्मको आडमा गुरु लाछान गुम्बाका पुजारी भूपति बज्र लामाले करोडौं कुम्ल्याउने नयाँ तरिका अपनाएका छन् । 

बौद्ध सम्मेलन नेपालमा गराउने नाममा उनले देशविदेशका विभिन्न दाताले दिने रकममा हैकम जमाउने रणनीति अपनाएका हुन् ।

 त्यसका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपयोग गर्ने योजना बनाएका छन् । नेकपा एमालेका प्रभावशाली नेताहरूलाई उपयोग गरी राष्ट्रपति भण्डारीलाई कार्यक्रममा उभ्याएर करोडौं भित्र्याउने र भ्रष्टाचार गर्ने मनसाय बनाएको स्रोतको दाबी छ ।

भूपतिले आफूलाई स्वघोषित परमपूज्य अवतारी लामा पनि भन्ने गरेका छन् । जबकि, अहिलेसम्म लामाहरूमा उक्त पद दलाइ लामाले मात्र प्राप्त गरेका छन् / 

चीन, कोरिया, मंगोलिया, हङकङ, म्यानमार, फ्रान्स, नेदरल्यान्ड, नर्बेलगायत मुलुकले बौद्ध दर्शन र धर्मको प्रचारका लागि ठूलो रकम खर्च गर्ने गरेका छन् । युरोपेली तथा एसियाका पनि समृद्ध राष्ट्रका आगन्तुकलाई नेपालमा बोलाएर राष्ट्रपति भण्डारीको उपस्थितिमा सम्मेलन गराएरै रकम भित्र्याउने र त्यसको दुरुपयोग गर्न भूपति बज्र लामा उद्दत रहेको स्रोतहरू दाबी गर्छन् । यही कामका लागि उनले नियम मिचेर काठमाडौंको बौद्धमा रहेको लाछान गुम्बामा नियुक्ति लिएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान हुने गरी कार्यक्रमको तयारी नै थालिसकेका छन् । 

बिहीबारका लागि विभिन्न १८ देशका कूटनीतिक प्रमुख सहितलाई सम्मेलनका नाममा बौद्धमा बोलाएका पुजारी भूपति बज्र लामाले राष्ट्रपतिलाई प्रमुख अतिथि बनाएर उक्त कार्यक्रम गर्न लागेका हुन् । जबकि उनको नियुक्ति अवैधानिक भन्दै त्यहाँ विरोध जारी छ । राष्ट्रपति भण्डारी त्यस कार्यक्रम पुगे विरोधीहरूले उनलाई कालोझन्डा देखाउने र विरोधका कार्यक्रम गर्ने योजना तयार पारेका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रभावमा पारी स्वघोषित परम्पूज्य अवतारी लामा भन्न रुचाउने भूपति बज्र लामाले राष्ट्रपतिलाई विवादको घेरामा तान्न लागेका हुन् । 

नेपाल सरकारको गुठी संस्थानलगायत विभिन्न राजनीतिक दलका नेतालाई प्रलोभनमा उनको नियुक्ति भएको थियो । उक्त गुम्बामा ५ वर्षका लागि नियुक्ति भएका शेरप दोर्जे लामाको मृत्यु भएपछि भूपतिले यसरी नियुक्ति लिएका थिए । जबकि गुम्बाको पुजारी हुनका लागि परम्परागत रूपमा मृत पुजारीका छोरा नयाँ पुजारी हुने चलन छ । 

त्यस चलनअनुसार ज्योति लामा ४ वर्षका लागि पुजारी नियुक्ति हुनुपर्ने भए पनि एमाले, माओवादीलगायत दलका नेतालाई प्रलोभनमा पारी भूपतिले नियुक्ति लिएका हुन् । रातो पासपोर्ट देखाएर धम्कीपूर्ण रूपमा प्रस्तुत हुने भूपतिले आफूलाई कसैले हटाउन नसक्ने दाबी पनि गर्दै आएका छन् । जसको घमण्डबारे जानकारी नपाई राष्ट्रपति भण्डारी त्यहाँ हुन लागेको बौद्ध सम्मेलनको उद्घाटनका लागि पुग्दै छिन् । ‘यी अवैधानिक पुजारीले गरेको कार्यक्रममा हाम्रो विरोध रहन्छ, हामी राष्ट्रपतिलाई नआउन आग्रह गर्छौं, आउनुभयो भने विरोध हुनेछ ।’, स्थानीयले भने । 

भूपतिले आफूलाई स्वघोषित परमपूज्य अवतारी लामा पनि भन्ने गरेका छन् । जबकि, अहिलेसम्म लामाहरूमा उक्त पद दलाइ लामाले मात्र प्राप्त गरेका छन् । ‘लामा समुदायमा दलाइ लामाबाहेक अरू कोही पनि परमपूज्य अवतारी लामा हुँदैनन्, उसले आफैं त्यसो भन्दै हिँडिरहेका छन् ।’

पूर्वराजपरिषद् सदस्य गणेश बज्र लामाको बलमा लिएको रातो पासपोर्ट देखाएर भूपतिले आफ्नो धमास जमाउने गरेको स्रोतले जनायो । भूपतिले आर्थिक प्रलोभनकै आधारमा नेपालको नागरिकता पनि परमपूज्य अवतारी लामाको नामबाट लिएको खुल्न आएको छ । विभिन्न देशहरू हङकङ, मकाउ, मंगोलिया र चीनबाट सम्मेलनका नाममा बौद्ध धर्मावलम्बीहरू आउने कार्यक्रम तय भइसकेको छ, जहाँ विरोधको कार्यक्रम पनि तयार गरिएको छ ।

 ‘यो विवादित ठाउँको कार्यक्रममा राष्ट्रपति नआउनुहोस् भन्ने हाम्रो आग्रह हो ।’, स्रोतले भन्यो,‘यो पुण्य स्थलमा विवादित काम नगर्न पनि हामीले अनुरोध गरेका छौँ ।’विवादित मान्छेले गरेको कार्यक्रमको विरोध हुन्छ, विरोध हुँदा पहिले जनकपुरमा भएको विरोधजस्तै गराउने चेष्टाका रूपमा पनि राष्ट्रपतिलाई डाकेको अनुमान गरिएको छ ।

Post a Comment

0 Comments