Subscribe Us

गुन्डाको कब्जामा तरुण दल,
लागुऔषधका कारोबारीदेखि आपराधिक पृष्ठभूमिका व्यक्ति तरुण नेता

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको र मुलुकमा लोकतन्त्रको जग बसाल्ने सबैभन्दा ठूलो दलका रूपमा स्थापित भनेर आत्मरती देखाउने नेपाली कांग्रेसको भ्रातृ संगठन पूरै गुन्डाले चलाएका छन् । पोखरामा महाधिवेशन गर्ने तयारीमा रहेको तरुण दलमा अहिले गुन्डा नाइके तथा तिनका सदस्यको हालीमुहालीे छ । आपराधिक पृष्ठभूमिबाट जीवनयापन गर्दै आएका गुन्डा नाइके नै अहिले तरुण दलका जिल्लादेखि केन्द्रीय समितिमा समेत सक्रिय छन् । 

केही जिल्ला अधिवेशनबाट जिल्ला सदस्यदेखि अध्यक्षसम्म बनिसकेका छन् । दुई साता अगाडि लागुऔषध मुद्दामा पक्राउ परेका धादिङका सेते भन्ने दिनेश गुरुङ गत महिना भएको जिल्ला अधिवेशनबाट तरुण दलको धादिङ जिल्ला अध्यक्ष भएका थिए । 


आपराधिक पुष्ठभूमिका साथै गुरुङले लागुऔषधको कारोबार गर्ने गरेको समेत उनको पक्राउपश्चात् खुलासा भएको थियो । दुई वर्ष अगाडि प्रहरी इन्काउन्टरमा मारिएका चरी भन्ने दिनेश अधिकारीको सहयोगीका रूपमा चिनिने गुरुङ चरी इन्काउन्टरमा मारिएपछि राजनीतिक ओत लाग्न तरुण दल प्रवेश गरेका थिए । 

त्यस्तै, धादिङ तरुण दलको उपाध्यक्षमा चरीलाई गोली प्रहार गरेको अभियोगमा तीनन महिना अगाडि मात्र थुना मुक्त भएका राधे भन्ने राधेश्याम भण्डारी छन् । पटक–पटक गुन्डागर्दीकोे अभियोगमा पक्राउ पर्ने तथा जेल चलान हुने अभियुक्तकै अहिले तरुण दलमा हालीमुहाली हुन थालेको छ । चितवनमा गुन्डा नाइकेका रूपमा चिनिने प्रमिस राई पनि तरुण दलको केन्द्रीय प्रतिनिधि छन् । जिल्ला उपाध्यक्षमा चुनाव हारेपछि राईले प्रतिनिधिमा चित्त बुजाएका थिए । 

हत्या अभियोगमा सर्वस्वसहित कैद भोगेका राई तत्कालीन तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलको चितवन जिल्ला कारागारभित्र हत्या भएपश्तात् सरकारसँग माण्डुली गरी थुनामुक्त भएका आपराधिक व्यक्ति हुन् । 

ठेक्कापट्टामा आफ्नो दबदबा राख्दै आएका भक्तपुरका गुन्डा नाइके सगुन श्रेष्ठ सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्षमा निवाचित भएका छन् । एक दशकदेखि गुन्डागर्दीमा सक्रिय श्रेष्ठ पाँच महिना अगाडि मात्र थुनामुक्त भएका थिए । अपहरण अभियोगमा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका श्रेष्ठ भूकम्पका कारण कारागार भत्किएको मौका छोपी फरार भएका थिए । 


फरार श्रेष्ठलाई अपराध महाशाखाको टोलीले एक वर्ष अगाडि ललितपुरबाट पुनः पक्राउ गरी कारागारमा बुझाएको थियो । पछि पीडित भनिएका जीवन श्रेष्ठलाई १५ लाख रुपैयाँ दिएर बकपत्र मिलाएर अदालतबाट सफाइ पाउन सफल भएका थिए । जेलबाट रिहा हुनासाथ गुन्डागर्दीमा सक्रिय श्रेष्ठले गत महिना दोलखाको एक टेन्डरबाट ८० लाख चट्काई उक्त रुपैयाँ आफैले मात्र चपाएपछि उनका सहयोगी समेत रुष्ट बनेका छन् । 

पछिल्लो समय गुन्डागर्दीमाथि प्रहरी आक्रमक रूपमा प्रस्तुत भएपछि गुन्डा नाइके तथा तिनका सदस्य राजनीतिक हैसियत खोज्न पैसा खर्च गरेरै भए पनि राजनीतिक दलनका भ्रातृ संगठनमा आबद्ध हुन थालेका छन् । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments