Subscribe Us

लोकमानको तीनपुस्ते सोमलालसँग कसरी ?

लोकमानको तीनपुस्ते सोमलालको लागि तस्बिर परिणामकाठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीसँग जोरी खोजेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बहिर्गमन निश्चित भएको छ । सर्वोच्चले लोकमान नियुक्तिको फाइल सरकारसँग माग गरिसकेको छ । तर, लोकमान बचाउन सरकारले फाइल भूकम्पमा हराएको उत्तर सर्वोच्चमा पठाएको थियो । सर्वोच्चले फेरि सात दिनको म्याद दिएर सरकारका नाममा अर्को आदेश पठायो– जसरी पनि फाइल उपलब्ध गराउनु । 

अब, लोकमानको तीनपुस्ते लेखेको फाइल सरकारले सर्वोच्चमा पेस गर्नुको विकल्प छैन । नत्र, सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्डदेखि मुख्यसचिव सोमलाल सुवेदीसम्म फस्ने देखिएपछि यतिबेला सोमलालको लाचारी बाहिर आएको छ । उनले लोकमानको तीनपुस्ते आफूसँग रहेको बताएका छन् । अब, उनले नै सर्वोच्चमा लोकमानको त्यो फाइल पठाउने भएका छन् ।

भूकम्पमा हराएको भनिएको फाइल सोमलालका दराजमा कसरी पुग्यो भनी अर्कोतिरबाट खोजी सुरु भएको छ । सोमलालको कार्यालयमा त्यो फाइल कसरी पुग्यो भनी अनुसन्धान पनि थालिएको छ । ‘सर्वोच्चको त्यत्रो आदेशबारे सोमलाललाई थाहा थिएन ? सरकारका हरेक माइन्युट लेख्ने त्यत्रा व्यक्तिले कसरी यस्तो लाजमर्दो काम गरेका ?’, स्रोतले भन्यो, ‘अब उनको नियतबारे पनि अदालतमा चर्चा हुनेछ ।’

स्रोतका अनुसार लोकमानलाई दक्षिणी छिमेकीको आशीर्वाद रहेका कारणले सरकारले बचाउन खोजेको थियो । तर, लोकमानले नै प्रधानमन्त्री प्रचण्डको जागिर खानेगरी लडाकुको क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारका विषयमा छानविन थाल्ने धम्की दिएपछि सोमलालले सरकारले लुकाएको फाइल आफूसँग रहेको बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा उक्त फाइल मुख्यसचिव सुदेवीले राखेका थिए । प्रचण्डले लडाकु शिविरभित्रको भ्रष्टाचारको विषयमा समेत छानबिन हुनसक्ने डरले फाइल सुवेदीलाई लुकाउन लगाएका थिए । मुख्यसचिव सुवेदीले भूकम्पमा हराएको भनिएको अख्तियार प्रमुख कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षित रहेको बताएका छन् । सुवेदीसँग रहेको फाइल सरकारले सर्वोच्चमा पेस गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फाइल सर्वोच्च अदालतमा पेस गर्ने भएको हो । 

हराएको भनेर दिएको जवाफलाई सर्वाेच्चले गैरजिम्मेवार ठहर गर्दै ७ दिनभित्र फाइल नबुझाए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने अर्काे आदेश दिएपछि सरकारले हराएको सो फाइल सर्वाेच्च अदालतलाई पठाउने तयारी अघि बढाएको हो ।

लोकमानको नियुक्तिसम्बन्धी फाइल नबुझाए त्यसले ल्याउने सामाजिक दबाबले लडाकु शिविरको भ्रष्टाचार प्रकरणलाई पनि अगाडि ल्याउने बुझेपछि आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले फाइल बुझाउने व्यवस्था गर्न मुख्यसचिव सुवेदीलाई निर्देशन दिएका थिए ।

अब सर्वोच्चमा लोकमानको फाइल पुगेपछि उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ । यही सुइको पाएका लोकमानले कारबाहीबाट जोगाउन दक्षिणका ढोका ढकढकाउने मात्र होइन, पशुपतिको प्रार्थना पनि गर्न थालेको स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments