Subscribe Us

संविधान कार्यान्वयनका लागि सबै दलको उत्तिकै जिम्मेवारीः मन्त्री केसी

 काठमाडौँ, १ असोज  । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको उत्तिकै जिम्मेवारी रहेको बताउनुभएको छ ।नवोदित कलेज सामाखुशीले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री केसीले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्ने र तराई मधेसमा देखिएको समस्या समाधानका लागि सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । 

  उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको जिम्मा काँग्रेस, एमाले वा माओवादीको मात्र होइन मधेसी दलको पनि उत्तिकै जिम्मेवार रहेको छ ।” मन्त्री केसीले प्रजातन्त्र  स्थापना भएको ६५ वर्षपछि अनेक आरोह अवरोहका विच संविधान निर्माण भएकाले यसलाई सफल कार्यान्वयन गर्नु सबै दलको काम रहेको स्पष्ट पार्नुभयो । 

 उहाँले लोकतन्त्र कुनै पार्टीको पद्धती नभई देशको पद्धती भएको भन्दै यसलाई संस्थागत कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । मन्त्री केसीले निजी क्षेत्रले शिक्षाको विकास र विस्तारमा ठूलो भूमिका खेलेको बताउँदै सरकार र नीजि क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

 नवोदित कलेजका प्राचार्य एवम् उच्च माध्यामिक शिक्षा सङ्घ (हिसान)का सचिव राजेन्द्र अधिकारीले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले खेलेको भूमिकाको राज्यले कदर गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारको सिलसिलामा दैनिक विदेशीएको जनशक्तिलाई रोक्न व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले समयानुकुल शिक्षालाई परिस्कृत र परिमार्जन गर्दे लैजानुपर्छ ।

 विद्यालयका अध्यक्ष केदारनाथ खनाल, नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्ट, प्राध्यापक दशरथ न्यौपाने, सहप्राचार्य जिवी अधिकारीलगायतले परिणाममुलक शिक्षा अहिलेको आवश्यकता रहेकाले यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा कक्षा १२ उर्तिण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस÷अच्युत रेग्मी

Post a Comment

0 Comments