Subscribe Us

किन भने प्रचण्डले यस्तो ?

prachandaको लागि तस्बिर परिणाम संविधान जारी हुनु दुई दिनअघि मोदीका विशेष दूत एस जयशंकरलाई चिढ्याएका प्रचण्डले मोदीलाई खुसी पार्न भारत भ्रमणको साताअघि किन यस्तो गरे ?
 
काठमाडौं । दुवै छिमेकीसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने नेपालको सार्वभौम मान्यतालाई लत्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असमान अभिव्यक्ति बाहिर सारेका छन् । भारत भ्रमणको तयारी गरिरहेका प्रचण्डले चीन र भारतसँग नेपालको सम्बन्ध मात्र असमान भएको होइन, चीनसँग आफ्नै पार्टीको सैद्धान्तिक लाइनको पनि कुनै अर्थ नभएको बताएका छन् । 

नेपालमा सबैभन्दा बढी चासो र महत्वमा राखेको माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले भारत सबैभन्दा नजिकको तर चीन व्यापारिक विचारमा मात्र चलेको भनी अभिव्यक्ति दिएपछि परराष्ट्र नीतिमा उनी कमजोर भएको टिप्पणी हुन थालेको छ । 

तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन ताओले महत्वपूर्ण भेट दिएका मध्येका व्यक्ति थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल । त्यसबेला उनी गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री थिए । विश्वका राष्ट्र प्रमुखँगको भेटका क्रममा प्रचण्ड सरकार प्रमुख हुँदा पनि हु जिन ताओले भेट दिएका थिए । 

त्यसपछि चीनसँग घाँटी जोडिएको र भारतविरोधी गतिविधिमा सक्रिय भएको भन्दै तत्कालीन भारतीय संस्थापनको आँखाको तारो बनेका प्रचण्डलाई सरकारको नेतृत्वमा आइपुग्न लामो समय लाग्यो । उनले भारतलाई चिढ्याउन त्यसबेला नेकपा एमालेका नेता झलनाथ खनालसँग सातबुँदे गोेप्य सम्झौता गरी सरकार बनाए । भारतले खनाललाई भ्रमणको निम्तो पनि दिएन । फलतः ६ महिनामा नै खनालको सरकार ढलेको थियो । 

अझ, त्यसअघि नागरिक सर्वोच्चताको नारा लगाउँदै प्रचण्डले खुलेआम भारत विरोधी सभा नै गरेका थिए । भारतीय संस्थापनले प्रधानसेनापति काण्डमा उनलाई सत्ताच्युत गराउन भूमिका खेलेको थियो । सोही भूमिकाको विरोधमा माओवादीले आन्दोलन मात्र गरेको थिएन, भारत विरोधी नारा र अभियान पनि चलाएको थियो । प्रचण्डको निर्देशनमा नै तत्कालीन नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई सोलुखुम्बुमा माओवादी नेता गोपाल किरातीले जुत्तासमेत प्रहार गरेका थिए । 

तर, केही दिनअघि मात्र भारतको दैनिक अखबार द हिन्दुलाई अन्तर्वार्ता दिने क्रममा प्रचण्डले प्रधानसेनापति प्रकरणमा आफ्नो गल्ती भएको स्वीकार गरी भारत र चीनको सम्बन्धबारे भारी अभिव्यक्ति दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुसी बनाउन उनले यस्तो अभिव्यक्ति दिइएको बताइन्छ । चीनसँग नेपालमा माधवकुमार नेपालको सरकार गिराउन माओवादी नेता तथा हालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरामार्फत ५० करोड रुपैयाँ नेपाल भित्राएका बेला उनी भारत विरोधी कित्तामा उभिएका थिए । तर, हिन्दुको अन्तर्वार्तामा उनले भने, ‘चीनको कुनै विचारधारा छैन, उसका लागि व्यापार नाफा र अर्थतन्त्र मात्र विशेष हो ।’ चीनसँग वैचारिक र सैद्धान्तिक लाइन मिलेको छ नि ? भन्ने प्रश्नको जवाफका क्रममा प्रचण्डले यसो भनेका थिए ।

प्रचण्डले कूटनीतिक ‘पमा पनि भारतलाई नजिक बनाउन द हिन्दुमार्फत यस्तो अभिव्यक्ति भारतमा फैलाएर आफ्नो भ्रमण सफल बनाउने तयारी गरेको स्रोतको दाबी छ । अघिल्ला प्रधानमन्त्री केपी ओली प्रतिकूल समयमा भारत भ्रमणमा जाँदा पनि मोदीले राजकीय सम्मान र स्वागत मात्र नगरी ओलीको भ्रमण सफल पारेको तर आफ्नो भ्रमण असफल बनाउने हो कि भन्ने चिन्ताका कारण प्रचण्डले यस्तो रणनीति अपनाएको विश्लेषकको दाबी छ । 

भारतले नेपालमा नाकाबन्दी लगाएपछि भारत विरोधी अभिव्यक्ति र संविधान जारी हुनुपूर्व प्रक्रिया रोक्न नसकिने एकलौटी अडान प्रचण्डले लिएका कारण ओली सरकारसँग भारत रुष्ट थियो । ‘सारमा प्रचण्डसँग रुष्ट थियो, ओलीले नेतृत्व गरेका कारण उनले जिम्मेवारी लिएका थिए । त्यो रोषलाई भ्रमणका क्रममा कूटनीतिक मर्यादामा कमी ल्याउने हो कि ? भन्ने कुराले प्रचण्ड चिन्तित छन्’, स्रोतले भन्यो । 

गत वर्षको असोज १ गते नेपाल आएका मोदीका विशेष दूत भारतीय विदेश मन्त्रालयका सचिव एस जय शंकरलाई पनि प्रचण्डले रुष्ट बनाएका थिए । जयशंकरमार्फत संविधान जारी हुने र प्रक्रिया रोक्न नसकिने सन्देश प्रचण्डले मोदीलाई पठाएका थिए । त्यसपछि भारतीय संस्थापन रुष्ट भएको थियो भने मधेस आन्दोलन चर्किएका बेला नाकाबन्दी गर्नसम्म भ्याएको थियो । चार महिने नाकाबन्दीका क्रममा पनि प्रचण्डले मोदीविरुद्ध अभिव्यक्ति दिएको रेकर्ड भारतीय दूतावासमार्फत नयाँदिल्लीसम्म पुगेको थियो । 

विशेष दूतका रूपमा भारत पठाइएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको हातमा प्रचण्डले पठाएको पत्रमा बितेका समयमा आफूले गरेका गल्तीबारे मोदीसँग माफी माग्दै भारतसँग सम्बन्ध बढाउर चीनसँग दूरी बढाउने प्रतिबद्धता गरिएको स्रोतले जनाएको छ । जसअनुसार ओली सरकारले चीनसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरिने र भारतसँग मात्रै सबै कारोबार गर्नेसम्मका बुँदाहरू पत्रमा लेखिएका छन् । ‘त्यसैको बिम्वका रूपमा चीनसँग कुनै सम्बन्ध अघि नबढ्ने र सैद्धान्तिक धरातल मिले पनि विचार नमिल्ने तर्क प्रचण्डले बाहिर ल्याएका हुन्’, स्रोतले भन्यो । 

Post a Comment

0 Comments